चैत्र १६, २०८० शुक्रबार

यी राज्यमन्त्री, जसले मन्त्री सरह काम गरेको हेर्न चाहन्छन् जनता



काठमाडौ । लामो समयदेखि चिकित्सा क्षेत्र सुधारको अभियन्ताको परिचय बनाएकी डा. तोसिमा कार्कीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।

१० वर्षदेखि चिकित्सा क्षेत्र सुधारको अभियानमा सक्रिय डा. तोसिमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीकै आकांक्षा राखेकी थिइन् । तर उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह, शिक्षा र श्रम मन्त्रालय लिएपछि तोसिमा राज्यमन्त्री मात्रै बनिन् ।

तोसिमा राज्यमन्त्री भएपनि अपेक्षा भने उनीसँग अरु मन्त्री भन्दा कम छैन । किनकि राजनीतिमा प्रवेश गर्नु र सांसद बन्नु अगाडि जुन एजेण्डा उठाएर अभियान चलाइरहेकी थिइन्, त्यही क्षेत्रको राज्यमन्त्री बनेकी छन् । अर्थात्, तोसिमालाई आफैले उठाएको सवाल र एजेण्डा पूरा गर्नुपर्ने चुनौती छ ।

नेपाल मेडिकल काउन्सिलको सदस्य भइसकेकी डा. तोसिमाले विशेषगरी डा.गोविन्द केसीले उठाउने एजेण्डालाई साथ दिँदै आएकी थिइन् । त्यस अर्थमा डा.केसीले उठाएको एजेण्डा कार्यान्वयन गर्ने अवसर पनि तोसिमालाई छ ।

‘स्वस्थ नेपाली, सुखी नेपाली’ लाई आफ्नो लक्ष्य बनाएकी डा. कार्कीले किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेकी छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यचिकित्सकका रुपमा काम गर्दागर्दै राजनीतिमा होमिएकी डा. कार्की छोटो अवधिमा यति ठूलो ठाउँमा पुग्ने कमै व्यक्तिमा पर्छन् ।

एजेण्डासँग परिचित तोसिमा

चिकित्सा क्षेत्रको आवाज उठाउने क्रममै नवगठित रास्वपासँग जोडिएकी डा.तोसिमाको उम्मेदवारी नै खारेज गर्ने मुख्य निर्वाचन आयोगले निर्णय गरेको थियो । तर त्यसविरुद्ध उनी सर्वोच्च अदालत पुगिन् । सर्वोच्चले उम्मेदवारी यथावत गरिदियो ।

अदालतको आदेशले थामिएको उम्मेदवारी जनअनुमोदन भयो, तोसिमा सांसद भइन् । निर्वाचन आयोगको निर्णयमा मात्रै नभएर डा.तोसिमासँग चिकित्सा क्षेत्रमा हुने सरकारी निर्णयहरुमा पनि निरन्तर आवाज उठाउने गरेको विगत छ ।

स्वास्थ्य क्षेत्र सुधारमा ०७० सालदेखि निरन्तर लागेकी तोसिमाले ०७२ मा मेडिकल कलेजका इन्टर्न डाक्टर तथा विद्यार्थीमाथि हुने शोषण विरुद्ध आन्दोलनको नेतृत्व गरेकी थिइन् । चिकित्सा शिक्षाको उच्च तहमा मेरिट अनुसार भर्ना हुनुपर्ने आन्दोलनको नेतृत्व गर्दै डा. कार्की ०७५ मा सर्वोच्च अदालत पुगेकी थिइन् । चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययनको शुल्क निर्धारण गराउन पनि उनी सर्वोच्च पुगेकी थिइन् ।

मेरिट अनुसार भर्ना गराउने र शुल्क निर्धारण हुनुपर्ने आन्दोलनमा उनी सफल पनि भइन् । डा. गोविन्द केसीको पहिलो सत्याग्रहदेखि जोडिएकी डा. तोसिमा सर्वसाधारणको पहुँचमा स्वास्थ्य सेवा र शिक्षा पुर्‍याउनुपर्ने मान्यतामा राख्छिन् ।

चिकित्सा शिक्षामा सबैको पहुँच पुग्नुपर्ने डा.केसीको अभियानबाट प्रेरित ३३ वर्षे डा. तोसिमाको चुनावी प्रतिबद्धतामा पनि त्यही विषय उल्लेख छ । सर्वसाधारणलाई स्वास्थ्य सेवामा सहज पहुँच, १० प्रतिशत बेड विपन्न विरामीलाई छुट्याउनुपर्ने, अस्पतालमा विपन्न बिरामी कोषको व्यवस्था, क्यान्सरको स्क्रिनिङ कार्यक्रमहरु निशुल्क र अनिवार्य जस्ता एजेण्डा लिएरै तोसिमाले सांसद जितेकी थिइन् ।

अझ २०८० सालदेखि ०८५ सम्मलाई स्वर्ण पञ्च वर्ष घोषणा गरी स्वास्थ्य क्षेत्रको नीतिग सुधार गर्ने योजनामा डा. तोसिमा खरो उत्रनुपर्नेछ ।