बैशाख १२, २०८१ बुधबार

पालिका पालिकामा सरुवा रोग अस्पताल : राज्यमन्त्री कार्की



काठमाडौँ ( स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले पालिका पालिकामा सरुवा रोग सम्बन्धी अस्पताल बनाउन एजेण्डा बोकेर आफू सरकारमा सहभागी भएको बताएकी छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरुवा रोग सम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताएकी हुन् ।

‘अब मुसाले टोक्यो भने टेकु अस्पताल, कुकुरले टोक्यो भने टेकु अस्पताल, महामारी प्रकोप फैलिए टेकु अस्पताल नै आउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । गाउँ गाउँमा, पालिका, पालिकामा, नगरपालिका, जिल्ला, प्रदेशस्तरमा टेकु अस्पतालजस्ता सरुवा रोग सम्बन्धीका अस्पतालहरू हुन जरुरी छ’, उनले भनिन्, ‘हामी टेकु अस्पतालबाट दिने सेवाको विकेन्द्रीकरण गर्नुपर्ने एजेन्डा बोकेर अघि आएका छौँ ।’

त्यस्ता प्रकोप धान्न सक्ने जोखिम उठाउन सक्ने अस्पतालहरू बनाउन र शुक्रराज अस्पतालले दिइरहेका सेवालाई कसरी विकेन्द्रीकरण गर्न आफूहरु तत्पर रहने उनको भनाई छ । राज्यमन्त्री कार्कीले स्वास्थ्यकर्मीहरुले उठाइरहेको जोखिम भत्ताको बारेमा मन्त्रालय गम्भीर रहेको बताइन् ।