चैत्र १६, २०८० शुक्रबार

आज महिला बक्सिङ टोली पन्जाब जाँदै



काठमाडौँ — आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपको तयारीका लागि ७ खेलाडीसहित ९ सदस्यीय नेपाली महिला बक्सिङ टोली आज बिहीबार भारतको पन्जाब जाने भएको छ ।

पन्जाब इन्स्टिच्युट अफ स्पोर्ट्समा नेपाली खेलाडीले फेब्रुअरी २३ देखि मार्च १३ सम्म प्रशिक्षण गर्नेछन् । उनीहरूलाई क्युबाका वरिष्ठ प्रशिक्षक फर्नान्डेज र सुरिन्दर कौरले प्रशिक्षण दिने नेपाल बक्सिङ संघले जनाएको छ ।

विश्व बक्सिङमा सुष्मा तामाङले ४८ केजी, अस्मिता दुवालले ५० केजी, अञ्जनी तेलीले ५२ केजी, मीनु गुरुङले ५४ केजी, चन्द्रकला थापाले ५७ केजी, संगीता सुनारले ६० केजी र सरस्वती रानाले ७० केजी तौल समूहमा भाग लिने छन् ।

प्रशिक्षकमा प्रकाश थापा मगर र अनुराधा लामा छन् । टोली पन्जाबबाटै विश्व बक्सिङका लागि नयाँ दिल्ली जानेछ । विश्व बक्सिङ मार्च १३ देखि २७ सम्म चल्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगयतले बुधबार बिदाइ गरे ।