चैत्र १६, २०८० शुक्रबार

शाहरूख पत्नी गौरीविरुद्ध धोखाधडी गरेको अभियोगमा मुद्धा



मुम्बई — बलिउड सुपरस्टार शाहरूख खानकी पत्नी गौरी खानविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । गौरी फिल्म निर्माता तथा चर्चित डिजाइनर हुन् ।

उत्तर प्रदेशको राजधानी लखनऊमा एक व्यक्तिले गौरीसहित तीन जनाविरुद्ध एफआईआर दर्ता गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गौरीविरुद्ध धोखाधडी गरेको आरोपमा इन्डियन पेनल कोड (आईपीसी) को धारा ४०९ अन्तर्गत मुद्दा दायर गरिएको हो ।

मुम्बई निवासी जसवन्त शाहले गौरी ब्रान्ड एम्बेसडर रहेको कम्पनीले फ्ल्याट दिने सर्तसहित ८६ लाख रुपैयाँ लिएको थियो । तर, सम्झौताअनुसार फ्ल्याट नदिएको भन्दै शाहले उजुरी गरेका टाइम्स अफ इन्डियाले जनाएको छ । उक्त फ्ल्याट लखनऊको सुशान्त गल्फ सिटीस्थित तुल्सीयानी गोल्ड भ्युमा रहेको छ । उजुरीमा उनले ब्रान्ड एम्बेसडर गौरीको प्रचारबाट प्रभावित भएर फ्ल्याट किनेको उजुरीमा उल्लेख छ ।

फ्ल्याट निर्माण कम्पनी तुल्सीयानी कन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट लिमिटेडको ब्रान्ड एम्बेसडर गौरी हुन् । शाहले निर्माण कम्पनीविरुद्ध पनि उजुरी गरेका छन् । उजुरीमा शाहले गौरीले पैसा हिनामिना गरेको आरोपसमेत लगाएका छन् ।

शाहले उजुरीमा ‘कम्पनीले आफूसँग पैसा लिए पनि फ्ल्याट अरू कसैलाई दिएको’ दाबी गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । गौरी र कम्पनीबाहेक शाहले तुल्सीयानी कन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख एमडी अनिलकुमार तुल्सीयानी र निर्देशक महेश तुल्सीयानीविरुद्ध पनि जाहेरी दिएका छन् ।

‘गौरी खान डिजाइन्स’ कम्पनीकी मालिक गौरी उत्कृष्ट इन्टेरियर डिजाइनर हुन् । उनले विभिन्न चर्चित बलिउडकर्मीका घरको इन्टेरियर डिजाइन गरेकी छन् । पछिल्लो उजुरीका बारेमा भने उनले कुनै प्रतिक्रिया नदिएकी भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गौरी फेसन डिजाइनर तथा फिल्म निर्मातासमेत हुन् । गौरी ‘मे हुँ ना’, ‘ओम शान्ति ओम’, ‘चेन्नई एक्सप्रेस’ लगायतका चर्चित फिल्मकी निर्माता हुन् ।