बैशाख ३, २०८१ सोमबार

नेपालमै पहिलोपटक महिला स्वास्थ्य सम्मेलन : मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड



नेपालमै पहिलोपटक दुई दिने महिला स्वास्थ्य सम्मेलन सुरू भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र अन्य साझेदार निकायहरूको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनमा महिला स्वास्थ्यको बहुआयामिक विषयवस्तुमा छलफल गर्नुका साथै यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोर किशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहायता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र पोषणको विषयमा छलफल र प्रस्तुती भइरहेको छ।

सम्मेलनमा करिब ३ सय प्रतिनिधिहरूको सहभागिता रहेको छ। महाशाखाका प्रमुख डा. विवेककुमार लालले अहिले पनि मातृ मृत्युदर ठूलो चिन्ताको विषय भएको बताए। उनले किशोरी अवस्थामा नै गर्भवती हुने, बच्चा जन्माउने चुनौतिको विषय र महिलाहरुमा हुने स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, मानसिक स्वास्थ्यको समस्यालाई यथेष्ठ सम्बोधन हुन नसकेको बताए।

डा लालले विपद्को समयमा महिलालाई यौन तथा प्रजनन स्म्बन्धी सेवा र अधिकार सुनिश्चित गर्ने कुरामा जोड दिनुपर्ने बताए। उनले महिलाहरुमा हुने कुपोषणको समस्या भयावह रहेकाले यी विषयहरुलाई सम्बोधन गर्न आवश्यक रहेको बताए। स्वास्थ्य सुरक्षासम्बन्धी ऐनहरु भएपनि त्यसको कार्यान्वयन फितलो रहेको बताए।

प्रमुख लालले तीन तहका सरकारको समन्वयलाई प्रभावकारी बनाउँदै महिलाका स्वास्थ्यका सवाललाई सम्बोधन गर्न जरुरी रहेको बताए।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वसचिव डा. सुधा शर्माले स्वास्थ्य सेवा बिस्तार भएपनि सेवाको गुणस्तर जनसमुदायमुखी नभएको बताइन्। उनले देशमा स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नुका साथै सेवाको पहुँचमा पनि बिस्तार गर्नुपर्नेमा जोड दिइन्। उनले प्रविधिको अनावश्यक प्रयोग भइरहेको भन्दै सरकारका नीतिहरुमा र प्रजनन स्वास्थ्यको नीतिमा पनि सुधार गर्दै लैजानुपर्ने बताइन्। उनले महिललाई प्रजनन स्वास्थ्यका हिसावमा मात्रै नहेरेर महिलाको जीवनका विभिन्न चरणमा आवश्यक्ताअनुरुपको सेवा बढाइनुपर्ने बताइन्।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रले महिलाहरुले गुणस्तरीय सेवा कसरी महिललाई सबैभन्दा बढी दिने भन्ने बारेमा छलफल हुनुपर्ने बताइन्। उनले गुणस्तरीय स्वास्थ्यमा महिलाको पहुँच बढाउनुका साथै समतामुलक पहुँच बिस्तार गर्नेकुरा नै महत्वपूर्ण रहेको बताइन्। प्रजनन स्वास्थ्यका साथै किशोरकिशोरीको स्वास्थ्यको समस्या, नसर्ने रोगको बढ्दो संक्रमण चुनौतिको विषय भएको उनको भनाइ छ। महिलाको स्तन र पाठेघरको क्यान्सरको विषयमा आवश्यक ध्यान दिन जरुरी रहेको उनले बताइन्।

सम्मेलनमा महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैह्र सरकारी संस्था, प्रतिष्ठान, शिक्षण संस्था लगायतका प्रतिनिधिहरू एवं विज्ञ व्यक्तित्वहरूको सहभागिता रहेको छ। महिला स्वास्थ्यका विभिन्न आयामहरूमा हासिल सफलता, चुनौति एवं अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्यांकरूको लेखाजोखा गर्नु सम्मेलनको उद्देश्य रहेको बताइएको छ। सम्मेलन शुक्रबारसम्म चल्नेछ।