मंसिर २३, २०८१ आईतबार

महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ



काठमाडौँ — अफगानिस्तानमा महिला शिक्षाको क्षेत्रमा अभियान चलाइरहेका एक अभियन्तालाई तालिबानी सरकारले पक्राउ गरेको छ । ३० वर्षीय मातिउल्लाह वेसालाई तालिबानी सरकारले पक्राउ गरेको हो ।

उनले केही समयदेखि अफगानिस्तानका ग्रामीण भेगमा पुगेर महिला शिक्षाका लागि अभियान चलाइरहेका छन् । उनी ‘पेनपथ’ नामक मानव अधिकार तथा महिला शिक्षा अभियान चलाइरहेको संस्थाका संस्थापक तथा अध्यक्षसमेत हुन् ।

अफगानिस्तानमा महिलाका साथै किशोरीहरूलाई समेत विश्वविद्यालय तथा विद्यालय प्रवेशमा निषेध गरिएको छ ।

गत फेब्रुअरीमा प्राध्यापक इस्माइल मशाललाई पनि राजधानी काबुलबाट पक्राउ गरिएको थियो । उनी शिक्षामा महिलाको अधिकारमाथि लगाइएको बन्देजको खरो आलोचकसमेत हुन् । उनलाई पुस्तक वितरण गर्दैगर्दा पक्राउ गरिएको थियो । उनलाई मार्च ५ मा छाडिएको थियो । त्यसयता उनी सार्वजनिक रूपमा केही बोलेका छैनन् ।