बैशाख ११, २०८१ मंगलबार

सुदूरपश्चिम सामाजिक विकास समितिको सभापतिमा माया पन्त



धनगढी  । सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिको सभापतिमा नेकपा एकीकृत समाजवादी पार्टीकी सासंद माया पन्त चयन भएकी छिन्। बुधबार प्रदेश सभाका विषयगत समितिका सभापतिको टुंगो लगाउने क्रममा समाजिक विकास समितिको सभापतिमा पन्त चयन भएकी हुन् ।

उनीसँगै सुदूरपश्चिम प्रदेशसभाको चारवटा विषयगत समितिले सभापति पाएका छन् । ति समितिहरू एक वर्षभन्दा बढी समयदेखि सभापतिबिहीन थिए ।

प्रदेश सभा सचिवालयका अनुसार विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा कांग्रेसका दिवानसिंह विष्ट, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ती पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सासंद वीरबहादुर थापा चयन भएका छन्।

चारै जना सभापतिको बुधबार नै पद तथा गोपनीयता शपथ ग्रहण कार्य पनि रहेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए।

दलहरुबीच संसदीय समितिका सभापति पदका लागि भागवण्डामा सहमति भएको हो। हाल कायम रहेका समितिहरुको सभापतिमा सदनमा प्रतिपक्षमा रहेको एमालेसहित चार दलले सभापति पाएका छन्।

सत्ता गठबन्धनभित्र रहेको नेकपा माओवादी केन्द्रले भने अहिले सभापति पाएको छैन। उसलाई सभापति दिन हाउसबाट सर्वसम्मतिमा विशेष अधिकार समिति थप गर्ने सहमति भएको माओवादी केन्द्रको भनाई छ।

समिति थप गर्ने कुरा सत्ता गठबन्धनभित्र महिनौदेखि चलिरहेको थियो। प्रतिपक्षी दल एमालेले समिति थप्न नहुने भन्दै विरोध गर्दै आएको थियो।

अन्ततः समिति थप गरेर भागवण्डा मिलाउन सकिने विकल्पमा दलहरुबीच सहमिति भएको हो।