बैशाख ११, २०८१ मंगलबार

बम्जनको आश्रमबाट बेपत्ता किशोरीका बुबाको सडक दुर्घटनामा मृत्यु



काठमाडौं । अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोपमा थुनामा रहेका लिटिल बुद्धको नामले चिनीने रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता युवतीका बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका(९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा किशोरीका बुबाको मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले अनलाइनखबरलाई बताए ।

मोटरसाइकलमा सवार उनी ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएको र जिल्ला अस्पताल, सिन्धुलीमा उपचारका क्रममा मृत्यु भएको एसपी सिलवालले बताए ।

प्रहरीका अनुसार, डकाहाबाट भिमालतिर जाँदे गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो । दुई मोटरसाइकलमध्ये बा ५८ प ९१४१ नम्बरमा सवार किशोरीको बुबाको मृत्यु भएको छ भने अर्को मोटरसाइकल ना ११ प ५७५० मा सवार अर्का व्यक्तिलाई उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रहरीका अनुसार, उनले पछिल्लो समय बम्जनको पक्षमा सार्वजनिक अभिव्यक्तिहरु दिँदै आएका थिए ।

प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । एसपी सिलवालका अनुसार, बम्जनको घटनासँग जोडेर पनि दुर्घटनाको अनुसन्धान हुनेछ । ‘अहिलेसम्म शंकास्पद विषयहरु देखिएका छैनन्, यद्यपि अनुसन्धान बल्ल सुरु भएको छ’, उनले भने ।