बैशाख १८, २०८१ मंगलबार

लालपूर्जामा लेख्न छुटेको जग्गाकाे दर्ता खुल्यो



काठमाडाैं । सरकारले नाप नक्सा भएको, तर दर्ता गर्न छुट भएका जग्गा दर्ताका लागि आह्वान गरेको छ । भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले नाप नक्सा भएको, तर दर्ता गर्न छुट भएका जग्गा दर्ताका लागि राजपत्रमा सूचना प्रकाशित गरेको हो ।

मन्त्रालयले त्यस्तो छुट भएको जग्गा दर्ताका लागि यही माघ ११ देखि दुई वर्षसम्मको म्याद दिइएको छ।

सचिव गोकर्णमणि दुवाडीद्धारा बिहीबार नेपाल राजपत्रमा प्रकाशित सुचनामा मालपोत नियमावली २०३६ को नियम ४ (क) को उपनियम (१) प्रयोजनकालागि जग्गा (नापजाँच) ऐन २०१९ बमोजिम नाप नक्सा भएको तर दर्ता गर्नसम्म छुट भएका जग्गा दर्ता गर्न चाहनेका लागि सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिन सूचित गरिएको छ ।

मन्त्रिपरिषद्को गत बुधबार बसेको बैठकले नाप नक्सा भएको जग्गा दर्ता गर्नसम्म छुटेकालाई आगामी दुई वर्षसम्म निवेदन दिन सक्ने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो । मन्त्रालयले बिहीबार राजपत्रमा सूचता प्रकाशित गरेको हो ।