श्रावण ११, २०८२ आईतबार

दुवईमा मासिक ७० हजारकाे तलब छाडेर गाउँमा ग्रिल उद्याेग चलाउने सङ्घर्षशील भिमा



गुल्मी ।  बिहान उठ्यो घरको सरसरफाई, खाना पकाउने, खुवाउने, छोराछोरी स्कूल पठाउने, भाँडा माझ्ने । दिउँसो भयो, फलाम वल्डिङ्ग गर्ने, घन हान्ने, फलाम बंग्याएर बुट्टा बनाउने, दिनभरीको कामको हरहिसाव राख्ने । बेलुका फेरी खाना बनाउने, परिवारलाई खुवाउने, भाँडा माझ्ने । त्यसमाथी परिवारको कपडा धुने, मौसम अनुसारको खेतीबाली लगाउने त छँदैछ । एकजना महिलाले लगातार यो काम कति समय गर्न सक्छन् ? सत्यवती ७, चोरकाटेकी, भिमा गोर्खालीले ५ वर्षभयो दिनहुँ यही काम गर्न थालेको ।

संघर्षपछि एकदिन सफलता मिल्ने आशमा यो भिमाको आफ्नै रोजाई थियो । पाँच वर्षअघिसम्म दुवईमा मासिक ६०/७० हजारका दरले पतिपत्निकै तलव आउने नोकरी छाडेर आफ्नै ठाउँमा केही व्यवसाय गर्ने सोँचमा उहाँ गाउँ फर्कनुभयो । श्रीमान् १२ वर्ष र आफू चार वर्ष काम गरेको विदेशको कमाइले उहाँले सत्यवती ७ चोरकाटेमा ग्रील उद्योग सुरु गर्नुभयो । ‘कति विदेशमा बस्ने, अर्काको मजदुरी गर्ने भनेर यहीँ फर्केर छोराछोरीसँगै बस्ने भनेर आयौँ र गाउँमै ग्रील उद्योग खोल्यौं’, उहाँ भन्नुहुन्छ ।

श्रीमान् पहिल्यैदेखि ग्रील सम्बन्धी मिस्त्री भएकोले उहाँले यो व्यवसाय रोज्नुभयो । तर श्रीमान् सानैदेखि पहिला बिराटनगर र पछि दुवईमा १२ वर्ष बसेकोले गाउँको बारेमा त्यति थाहा थिएन । ‘श्रीमान् कामको स्टीमेट लिने काम गर्नुहुन्छ’, उहाँ भन्नुहुन्छ, ‘वल्डिङ्ग देखि मिस्त्री कजाउने, बुट्टा बनाउने, यहाँको घर व्यबहार गर्ने, ऋण धन, सबै मैले हो ।’

उद्योग खोलेको १५ दिनमै कोरोनाका कारण लकडाउन भयो । तर पनि लकडाउन खुलेको समयमा काम गरेर उहाँहरुले राम्रै गर्नुभएको थियो । ठूलोलुम्पेक, रुद्रवेणी बाग्लुङको बुर्तिबाङ्गसम्म पुगेर घरमा ग्रीलको काम गरे । यो अवधिमा घर गाडी सबै जोडे पनि । ‘६० हजारको मोटरसाइकल किनेर सञ्चालन गरेको व्यवसाय हो, घर बनाएँ, डबल क्याब गाडी र ३ वटा मोटरसाइकल किनेँ’, तर तर दुर्भाग्य, गतवर्ष छोरी बिरामी भएर धनमात्र सकिएन, व्यवसाय समेत चौपट भयो । ‘म र श्रीमान् नानी लिएर उपचारमा हिँड्ने, कामको अर्डर गर्ने कोही पनि भएन । मिस्त्री कजाउने कोही भएन, व्यवसाय अलि बिग्रीयो’, उहाँ भन्नुहुन्छ ।

छोरी बिरामी पर्नुपनि एउटा रोचक कारण छ । दुईवर्ष अघि घरकी फूपू बिरामी हुनुभएको थियो । भिमा र उहाँका श्रीमानले उपचार गर्न पाल्पा लैजाँदा उहाँलाई आफन्तले लामा धामी कहाँ लैजान भन्दै जिद्धी गरेर फर्काए । भिमा सानैदेखि धामीझाँक्रीको विश्वास नगर्ने । त्यसैले आफन्तहरुले उहाँकी छोरीमार्फत भगवान बोलाएर भिमालाई धामीलामाको विश्वास दिलाउने भन्दै उहाँ घरमा नभएको समयमा छोरीलाई लामाकहाँ लगेछन् । लामाले देउता उतार्ने भन्दै झारफुक गर्न थालेपछि बिरामी परेकी उहाँकी छोरी लामो समयसम्म बिरामी पर्नुभयो ‘त्यसबेलादेखि बिरामी छोरीको उपचारमा १५/२० लाख खर्च भयो’, उहाँ भन्नुहुन्छ ।

भिमा सानैदेखि संघर्षशिल हुनुहुन्छ । माईतिमा ७ भाइबहिनीकी जेठी छोरी । भाइबहिनीलाई विदेश पठाउने देखि घरदेखि माइतसम्म सिटामोल सम्म बोक्ने आफै हुन् । गरिखान हिम्मत हार्ने खालकी पनि होइन । ‘पहिला सगोलमा बस्दा पनि बुहारीमाथीको थिचोमिचो सबै भोगेँ । मलाई धेरै कुरा त संघर्षले सिकायो’, उहाँ भन्नुहुन्छ, ‘म कहिल्यै पछाडी हट्न मन लाग्दैन । कुनै कुराको डर लाग्दैन ।’

संघर्षकै मैदानबाट हुर्किनुभएकी भिमा अझै हिम्मत भने हार्नुभएको छैन । त्यसैले ग्रील उद्योगसँगै अहिले ६/७ हल गोरुको मेलो लाग्नेजग्गा भाडामा लिएर खेती समेत गर्न थाल्नुभएको छ । त्यसबाट पनि खर्च कम गर्न सघाउ पुग्ने उहाँको आशा छ । एक वर्षसम्म छोरीको उपचारका लागि मोटरसाइकलमा दिनहुँ दौडिदा दौडिदा उहाँको शरीरलाई चिसोले च्यापेको छ । स्वास प्रस्वास सम्बन्धि समस्याले गर्दा नियमित औषधी सेवन गर्नुपर्छ । ‘तर पनि हिम्मत हारेकी छैन । तै पनि हेरौं स्वास्थ्यले कति साथ दिन्छ । हिँड्दा, काम गर्दा राम्रो गर्नुपर्छ । भगवानले पक्कै साथ दिनुहोला’, उहाँ भन्नुहुन्छ, ‘म केही नहुँदै, मेरो बुढोलाई, छोराछोरीलाई केही बनाउन पायो भने हुन्थ्यो भन्ने लागेको छ ।’