नेपाली महिला राष्ट्रिय टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा म्यानमारसँग पराजित हुँदै उपविजेतामा सीमित भएपछि समर्थकहरूसँग माफी मागेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कप्तान एञ्जिलाले विजेता बन्न नसकेकोमा कप्तानका रूपमा माफी मागेकी हुन् । उनले खेलाडीहरूलाई आलोचना नगर्न पनि अनुरोध गरेकी छिन् । ‘कृपया खेलाडीहरूलाई आलोचना नगर्नुहोस् । हामी सबैले आफ्नो सक्दो मिहिनेत गरेका छौँ,’ उनले भनेकी छिन् ।
कप्तान एञ्जिलाले फेरि एकपटक फाइनलमा पुगे पनि उपाधि जित्नबाट चुकेकोमा दु:ख व्यक्त गरेकी छिन् । ‘फेरि पनि हामी फाइनलमा पुग्यौँ तर चुक्यौँ । कप्तानका रूपमा म सबै समर्थकहरूसँग माफी माग्न चाहन्छु,’ उनले भनेकी छिन्, ‘मैदानमा उपस्थित १६ हजार दर्शक र सधैँ हामीलाई माया गर्ने करोडौँ समर्थकहरू- हामीले तपाईंहरूले अपेक्षा गरेको र चाहेको नतिजा दिन सकेनौँ ।’
कप्तान एञ्जिलाले दोस्रो हाफमा पहिलो गोल आफ्नो गल्तीका कारण खाएको पनि उल्लेख गरेकी छिन् । ‘म्यानमार हामीभन्दा धेरै बलियो टोली थियो । पहिलो हाफ राम्रो खेलेका थियौँ । तर, दोस्रो हाफमा मेरो गल्तीका कारण पहिलो गोलको खान पुग्यौँ,’ उनले भनेकी छिन्, ‘तपाईंहरूको समर्थनकै कारण महिला टोलीले यो पहिचान र अवसर पाएको छ ।’
कप्तान एञ्जिलाले आफूहरूलाई आलोचनाभन्दा बढी धेरै अवसर आवश्यक भएको बताएकी छिन् । ‘म्यानमारविरुद्धको फाइनलले हामीलाई अझ राम्रो गर्न प्रेरित गरेको छ । त्यसैले आलोचनाभन्दा बढी हामीलाई अझ धेरै अवसरहरू आवश्यक छन् । यस्तै, प्रतियोगिताहरू र राम्रो संरचना भएको घरेलु महिला लिग आवश्यक छ,’ उनले भनेकी छिन् । उनले एक दिन अवश्यक नेपाली महिला टिमले उपाधि उचाल्ने बताएकी छिन् ।
‘पछिल्लो वर्षमा हामीले तीनवटा फाइनल खेलेका छौँ । यदि यस्ता प्रतियोगिताहरू निरन्तर भए एक दिन हामी अवश्य उपाधि उचाल्नेछौँ,’ उनले भनेकी छिन्, ‘हामीलाई मात्र तपाईंहरूको माया, साथ र समर्थनको खाँचो छ ।’ बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको पाइनलमा म्यानमारले घरेलु टिम नेपाललाई २-० ले हराउँदै उपाधि जितेको थियो । नेपाल भने १३औँ फाइनलमा पनि उपविजेतामै सीमित हुन पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्