काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सबिना बजगाईंले डलरे नेताहरूले राजाको विरोध गरेको बताइन् ।
आइतबारको कोशी प्रदेशसभा बैठकमा सांसद बजगाईंले ‘डलर खाएको’ भन्दै बोलेको विषयमा एमाले प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले नियमापत्ति जनाउँदै सो शब्द रेकर्डबाट हटाउन माग गरे । यस्तै, माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले ‘राजा’ शब्द हटाउन माग गरे ।
‘राजाले प्रजातन्त्र दिवसको अवसरमा जनतालाई शुभकामना दिएको विषयलाई लिएर गणतन्त्रका मसिहा ठान्ने केही नेताहरूले राजालाई थुन्ने अभिव्यक्ति सञ्चार माध्यममा आएको देखिएको छ । यस कुराको म घोर निन्दा र भर्त्सना गर्दछु,’ बजगाईंले भनेकी थिइन्, ‘यी सबै अभिव्यक्ति विदेशबाट आउने डलरको भरमा आएका हुन् ।’
बजगाईंको अभिव्यक्तिप्रति नियमापत्ति जनाउँदै एमाले प्रमुख सचेतक लिङ्थेपले भने, ‘डलर खाएको भनेर अप्रमाणित कुरा बोल्नु भएको छ, कि प्रमाण पुर्याउन अनुरोध गर्दछु, नभए त्यो शब्द हटाउन माग गर्दछु ।’
डलर खाएको पुष्टि गर्न सभामुखले पनि बजगाईंलाई फेरि समय दिए ।
त्यसक्रममा बजगारईंले फेरि भनिन्, ‘संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र लाद्नका लागि विदेशबाट विभिन्न माध्यमबाट डलर भित्रिएको कुरा अहिले अमेरिकाका राष्ट्रपतिबाट पनि सार्वजनिक भएको छ । सदनमार्फत पनि यो कुरा आइरहेको अवस्थामा यो कुरा तथ्यमा टेकेरै हामीले डलरवादी भनेका हौं । यो गणतन्त्र यही सदनबाट खारेजको माग गर्न चाहन्छु ।’
समय नदिँदै फेरि लिङ्थेपले ‘सभामुखले नै दोहोरी गराउने कोसिस गरेको भन्दै यही व्यवस्थामा बसेर सदनभित्र नै व्यवस्था खारेजीको माग गर्न पाइने कि नपाइने भन्ने प्रश्न गरे । ‘संविधानमा भएको व्यवस्थाभित्र बसेर यो नै खारेज गर्नुपर्छ भन्ने घोर आपत्तिजनक छ, यो भन्न पाइँदैन,’ उनले थपे, ‘राजाले बोल्नु भो । राजाले बोल्ने कुरामा केही नेताले आपत्ती गर्नुभयो । आपत्ती गर्ने कुरा लोकतन्त्रले दिएको अधिकारकै विषय हो । हामीले लडेर ल्याएकै अधिकारको विषय हो, सभामुख महोदय ! डलर खाने, डलरेहरू भनेर भन्न पाइन्छ कि पाइँदैन ? यो रेकर्डबाट हटाउनु पर्छ ।’
बजगाईं र लिङ्थेपले पटक–पटक ‘राजा’ शब्द प्रयोग गरेकोप्रति माओवादी सांसद शेर्पाले नियमापत्ति गरे । ‘नेपालको संविधानले र प्रदेशसभा नियमावलीले राजा चिन्दैन । अहिलेको संविधानमा वा नेपालमा कोही राजा छैन,’ उनले भने, ‘त्यसकारण यो राजा भन्ने शब्द रेकर्डबाट हटाइयोस् ।’
केहीबेरको दोहोरीपछि सभामुख अम्बरबहादुर विष्टले ‘राजा’ र ‘डलर खाएको’ विषय रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।
सभामुख विष्ट राप्रपाबाट निर्वाचित सांसद हुन् ।
उनले राजा शब्दलाई हटाउन निर्देशन दिएपछि राप्रपाका सांसदबाहेक प्रदेशसभाका सबै सांसदले टेबल ठोकेर समर्थन जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्