संविधान सभासदस्य एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य स्वर्गीय विदुर प्रसाद सापकोटाको अन्तिम बिदाईमा पशुपति आर्यघाट खचाखच भरिएको थियो ।
आफ्नो घरपरिवार, इष्टमित्र, नातागोतादेखि आफु आबद्ध पार्टी, विपक्षी दलका नेता कार्यकर्ता अन्तिम श्रद्धाञ्जली दिन उपस्थित थिए । स्वर्गीय सापकोटा एक ब्यक्ति मात्रै होइनन् । उनी त काभ्रेको कम्युनिष्ट राजनीतिका एक कुल सगठकदेखि सर्वहारा नेता समेत हुन् । दशकौं राजनीतिमा बिताएका सापकोटा २०७२ सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट काभ्रे निर्वाचन क्षेत्र नम्बर ४ मा विजयी भएका थिए ।
राजनीतिक जीवनमा सापकोटाको यो एउटा मात्रै राजकीय पद हो । पञ्चायती शासन विरुद्ध डटेर संघर्ष गरेका सापकोटाको एक छोरी र श्रीमती छन् । छोरी अमेरिकामा बस्छिन् । बुबाको अवस्था निकै कमजोर बनेपछि उनी दुईदिन अघि मात्रै नेपाल आइपुगेकी हुन् ।
श्रीमती भारती भेटवाल सापकोटा स्वास्थ्यकर्मी हुन् । राजनीतिक परिवारमै हुर्किएको भएर होला छोरी बिभूमा पनि त्यो संस्कार देखिन्थ्यो । बुबाको हक्की बानी, प्रखर बक्ता र सादगी जीन्दगी देखेर पनि होला छोरीमा पनि त्यो स्वभाव झल्किन्थ्यो ।
बुबाको शरीरलाई चित्तामा राखेपछि अन्तिम बिदाई स्वरुप उनै छोरी बिभूले दागबत्ति दिइन् । बुबाको शरीरमा आगो लगाउँदै उनले संगठीत कम्युनिष्ट नेता, कार्यकर्ताहरुले झै बलियो गरि मुठ्ठी कसिन् । त्यो मुठ्ठी कसिएको हातलाई आफ्नो टाउँकोसम्म उठाइन र चर्को स्वरमा भनिन् ‘लाल सलाम कमरेड’ ।
पढाईका लागि अमेरिका पुगेकी बिभूले आफ्नो बुबाको अन्तिम बिदाईमा बोलेको त्यो शब्दले श्रद्धाञ्जली दिन पुगेका धेरैको मन छोयो । स्वर्गीय सापकोटाको श्रीमती भारतीले पनि कम्युनिष्ट शैलीमै बिदा गरिन् ।
स्वर्गीय बुबा राजनीतिमा लाग्दाको अभाव, संघर्षशीलन जीवन बिभूले प्रत्यक्ष देखेको र भोगेको जानकारहरु बताउँछन् । घरमा भेट्न आउँदा नेता, कार्यकर्ताहरुले बोल्ने शैलीमै उनले ‘लाल सलाम कमरेड’ को शब्दमा बुबालाई सदाका लागि बिदाई गरिन् ।
बिभूभित्र क्रान्तिकारी चेत समेत देखिन्थ्यो । स्वर्गीय सापकोटाको शरीर चित्तामा लैजानु अघि पानी खुवाउन आफन्तहरु लामबद्ध थिए । विभूपनि त्यही लाइनमा दिइन् । उनले बुबाको खुट्टामा निधार राखेर ढोग्न खोजिन । संगै रहेका आफन्तहरुले छोरी भएर बुबाको खुट्टा ढोग्नु हुँदैन भनेर छेक्न खोजे । तर उनले पीडाकाबीच विद्रोह गरिन् । ‘म पनि छोरा हुँ, मेरो बुबाको खुट्टा ढोग्न किन नहुने ? उनले प्रतिप्रश्न गरिन् । र खुट्टा ढोगिन् ।
बिभू स्वर्गीय बुबाको क्रियापुत्री समेत बसेकी छन् । आफन्तहरुका अनुसार आफ्नो धर्म संस्कार अनुसार १३ दिनसम्मै क्रियापुत्रीका रुपमा बस्ने उनले बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस्