अब नेपालमा निःसन्तानहरूको के स्थिति थियो ? कस्तो खालको पीडा थियो ? त्यो किन त्यस्तो थियो ? भन्ने कुरा मैले बारम्बार भन्दै आएको छु । सरसर्ती हेर्दा झन्डै १०० जना दम्पतीहरूमा ८५ जनामा २ वर्ष श्रीमान्सँगै बस्यो भने आफैं बच्चा हुन्छ तर बाँकी रहेको १५ जनालाई अस्पताल जानुपर्ने अथवा चिकित्सकहरूको परामर्श चाहिने हुन्छ । अब त्यो १५ भनेकै पनि धेरै ठूलो संख्या हो । त्यो संख्याको पनि झन्डै ८५ प्रतिशतमा साधारणभन्दा साधारण औषधिहरू दिएर, अलिकति ‘काउन्सेलिङ’ गरेपछि बच्चा पाउन सक्छन् ।
मैले निःसन्तानको क्याम्पहरू लिएर जब गाउँगाउँमा डुल्थें त्यतिखेर धेरैलाई यो भगवान्ले दिएको श्राप हो भन्ने लागेको भेट्थें । त्यो आजको दिनमा ६० प्रतिशतमा हटेको छ, बाँकी ४० प्रतिशतमा अझै पनि त्यही सोच छ । त्यसमा पनि निःसन्तान महिलालाई हेर्ने समाजको धारणा झनै बढी क्रूर छ । तर, जब उपचार पछि दूरदराजका महिलाहरूको पनि सन्तान हुन थाले, धारणा पनि परिवर्तन भयो र उपचारका लागि पनि आउन थाले ।

आईभीएफ सेन्टर देशभर खोल्नुपर्छ भन्ने छैन । तर, निःसन्तानको उपचार हरेक ठाउँमा, हरेक गाउँका वडाहरूको स्वास्थ्य चौकीदेखि लिएर कमसेकम जिल्ला अस्पतालमा हुनु जरुरी छ । यसलाई नै हामीले कसरी अगाडि बढाउने हो भनेर सोच्न जरुरी छ । यसमा स्वास्थ्य मन्त्रालयको अझ ठूलो भूमिका हुनुपर्छ । निःसन्तान हुनुमा ५० प्रतिशत दोष महिलाको हुन्छ भने ५० प्रतिशत दोष पुरुषमा हुन्छ । यसलाई अझै बंग्याउने हो भनेदेखि ३३ प्रतिशत महिला र ३३ प्रतिशत पुरुष र ३३ प्रतिशत महिला पुरुष दुवैमा दोष हुन सक्छ ।
भर्खर बिहे गरेर दुई महिना, चार महिना पछि विदेश गएका युवाहरू फर्किएपछि भोगेका समस्या झन् कहालीलाग्दो छ । फेरि दोष महिलामा जान्छ, किनभने उहाँबाट त उसले पैसा कमाएर आएको छ । ऊ पुरुष हो । पुरुषले गल्ती गर्न सक्दैन । गाउँका महिलाहरू त्यसै पनि उत्पीडित छन् । हाम्रो दिमागबाट यो सोच हटाउनुपर्ने छ । मैले ०३९ सालदेखि निःसन्तान उपचारमा काम गर्दै आइरहेको छु । त्यतिबेला कलकत्तामा पढ्न गएका बेलामा पनि त्यहाँ निःसन्तान समस्याको उपचारका लागि पुग्ने नेपालीको संख्या ठूलो थियो । पूर्वतिरका धेरै जान्थे गाई–गोरु बेचेर । त्यसैले पनि मलाई नेपालमा यो उपचार सुरु गर्न प्रेरित गरेको थियो ।
सबै प्रकारको उपचार गर्दा पनि सन्तान प्राप्ति नभएकाहरूको पीडा देखेरै मैले व्यक्तिगत पहलमै आईभीएफ उपचार पद्धति नेपालमा सुरु गरेको हुँ । त्यसले धेरै निःसन्तान दम्पतीलाई सन्तान सुख दियो । सन्तान नहुनेलाई सन्तान सुख दिन सक्नु पनि निकै सन्तुष्टिको काम हो ।
डा. रिजाल वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।
प्रतिक्रिया दिनुहोस्