बैशाख ९, २०८१ आईतबार

कथा : छोडपत्र



TUसागर न्यौपाने

‘बिहे गरेको पाँच वर्ष पछि उसले आज धोका दियो,’ जावलाखेलको एउटा रेष्टुरेन्टको कुनाको सीटमा बसेर उसले भनी।

उसँगै दोहोरो माया गाँसिएपछि उसकै प्रभावमा म पनि नेपाली जनतालाई मुक्ति दिने ‘नयाँ जनवादी राज्यव्यवस्था’ ल्याउन हिडेको थिएँ, अध्यारो बाटो अदृश्य भएर।

वेटरले टेवलमा राखिदिएको कफीको चुस्की लिँदै ऊ आफ्नो विगत सुनाउन थाली।

‘तर ! बिहे गरेर पाँच वर्ष नबित्दै उसले मलाई ‘डिभोर्स’ दियो। उफ ! सायद मेरो भाग्यमै यस्तै लेखेको रहेछ क्यारे’ ?

भाग्यमा विश्वासै नगर्ने कम्युनिष्ट विचारकी ‘फलोअर’ले एक्कासी भाग्यको सहारा लिइ र जिन्दगीप्रति निकै थाकेर मेरा सामुन्ने वेदना पोख्न थाली।

‘एनिओए, तपाईँको के छ सुनाउनुस? मैले मेरो मात्रै कुरा गरेछु।’
Sagar Neupane
सपना मेरो कुरा सुन्ने मुडमा देखिइ। मैले सब ठिकठाक रहेको बताएपछि ऊ केहीबेर बोलिन चुपचाप कफी पिइरही। म उसलाई हेरिरहेँ।

उही अनुहार, उही मायालु आँखा, दाहिने गालाको बीचमा पर्ने डिम्पल, दाहिने गालामै रहेको आँखा मुनिको कालो कोठी, उस्तै हाँसो। आठ वर्ष अगाडिकी उही ‘सपना’ खोज्न थालेँ। आठ वर्ष अघिकी सपनामा सबै थिए तर ती सबै थकितजस्ता लागे अहिले। अलिकति घमण्ड मिसिएको त्यो ‘रुप’मा आज निराशा मात्र देखेँ। उसका उर्जावान जवानी कतै हराएको महसुस गरेँ।
…………………….
आठ वर्ष पहिले ऊ विए पढ्दै थिइ एउटा प्राइभेट कलेजमा। आमसञ्चार र अंग्रेजी विषयकी मध्यम छात्रा। मैले उसलाई एउटा कार्यक्रममा जाँदा भेटेको। ऊ पत्रकारिताको इन्टर्नका लागि आएकी थिइ। म सरकारी कर्मचारी भएकाले बोलाइएको थिए।
म केटीहरुसँग हमेसा गफ नगर्ने स्वभावको। उसँग पनि बोलिन। केटीहरु धोकेवाज हुन्छन भन्ने सानैदेखि मेरो दिमागमा गढेको थियो।
…………………….
आनन्द दाइलाई एउटी केटीले खुब माया गर्छिन्। दाइको कपडा धुने, कोठा सफा गर्ने गरिदिन्छिन। खाजा, खाना बोलाउँछिन। दाइ त बेला बेलामा जानुहुन्छ। त्यो केटीलाई मैले पनि राम्ररी चिनेको छु हाम्रो कोठामा वारवार आउँदा मैले चिनेको। खै कता पश्चिमतिर की भन्थिन। गोरी, हसिली, अग्ली, बोल्दा हजुर भनेर बोल्ने। बलरामले ती दाइलाई मनपराउने केटीको वर्णन गरेको सुनेर रोमाञ्चित हुन्थे म।
साँझ आकाशमा टहटह जुन लागेको थियो। दसैं आउन लागेको समय। खुला आकाश, जुनले पुरै आकार लिएको थिएन। चौरका दुवोहरु सीत परेर टल्किरहेका। वेलावेलामा बहने चिसो हावा। यही प्यारो मौसममा मैले पढ्ने स्कुलको चौरमा हामी दुइभाइ भेट्यौ।
‘दाइ भाउजु त धेरै राम्री हुनुहुन्छ रे नि ? बलरामले भनेको,’ मैले कुराको सुरु गरेँ।
‘दाइले लामो सास फेरे र आकाशको टहटह जुन हेर्दै भने – भाइ त्यो त विगत हो, अहिले हामी त्यता छैनौं। भाइ जीवनमा केटी र प्रेमको विश्वास नगर्नु।’
‘किन र दाइ?’ मैले दार्शनिकजस्ता लाग्ने कुरामा गहिरो रूचि देखाएँ।
केहीबेर चुपचाप आकाशको जुन हेर्दै टोलाएर दाइले फेरि भने–  ‘भाइ यो जुनले कति राम्रो प्रकाश दिन्छ, घाम झै चम्किलो यो जुनको बीचमा हेर त कालो दाग। जिन्दगी यस्तै रहेछ क्यार ! जताततै सुन्दर हुँदाहुदै पनि कतै यस्तै नमिटिने दाग लागेको हुनुपर्ने ? सायद मेरो जिन्दगी पनि विछोड, धोकाको यस्तै दाग चाहन्थ्यो, लाग्यो। जीवनमा देखेको होइन लेखेको पाइदो रेछ। निधारमा नलेखेपछि खै के–के हुँदो रेछ के–के?’
म जिज्ञासु हुँदा दाइले भनेका थिए – ‘म परिवर्तनलाइ मनपराउँछु। मलाई नेपालीमाथि केही व्यक्तिहरुले गरेको थिचोमिचो, अन्याय अत्याचार मनपर्दैनथ्यो। म अलि नयाँ बाटो हिड्न खोज्थे। फुर्सदको समयमा उज्यालो दिन ल्याउन भएका गतिविधि मेरा नजरमा पर्थे र हाम्रो उन्नतिका लागि भएका कदमको पक्षमा बोलिदिन्थे। केही सीमित मानिसहरुले रातारात थुपारेको धनसम्पत्ति, हाम्रो गाउँमाथि गरिएको विभेद, नेपाली भए पनि काम गरेर पनि भोकै बस्नुपरेको पीडा धेरै कारणहरुको म अध्ययन गर्ने, लेख्ने गर्थेँ। ऊ मलाई सधै यस्ता काम नगर्नु, डाक्टर बन्न लागेको मानिस अलि छुट्टै हुनुस, व्यापार गर्ने, नाफा कमाउने बारेमा सोच्नुस। विदेश गएर उतै बसौला। जीवनमा कार, बंगला, महँगा सुपरमार्केटमा गएर सपिङ गर्नुपर्छ भनेर ‘ड्रिम प्लान’ सुनाउँथी। पश्चिमकी भए पनि उसको परिवार काठमाडौंमै छन्। एउटा दाइ अमेरिकामा डिभी परेर गएका दश वर्ष भयो। कान्छो दाइ क्यानडाको नागरिक भए रे। उसकी दिदी भिनाजु अष्ट्रेलियामा छन। ऊ यहीँ नर्सिङ पढिरहेकी। बुबा सरकारका सह–सचिव, आमा नेपाल टेलिकमकी अधिकृत। उसलाई बाबुआमाले यति माया गर्छन कि आजसम्म तँ भनेको थाहा छैन भन्थी। भनेजस्तो वंगला, गाडी ऐस आरामको जिन्दगी ऊ सधै सुखमा हुर्की।
मलाई हजुरको सबै कुरा मनपर्छ। दाइले पुर्वप्रेमिकाले पहिलो भेटमा बोलेको कुरा सम्झे।
‘अब हजुरको यो पढाइ सकेपछि हामी पनि क्यानडा ट्राइ गर्ने दाइले फोन गरेर यतै आउ भन्नुभएको छ। सबै प्रक्रिया दाइले मिलाउनुहुन्छ। हजुर अलि सिरियस हुनु है? खाली नेताका जस्ता कुरा गर्ने, लेख्ने होइन? डाक्टर बनिसक्न लाग्नुभो अब आफ्नो लागि सोच्ने हो। उसले मलाइ अर्डर दिइ।’
मैले मानिन मलाई उज्यालो घाम ताप्ने रहर झन बढेको थियो। म इन्टर्न गर्न जाने हस्पिटलमा यस्तै मानिस खोज्थे जो म जस्तै आरामको घाम ताप्ने होस्।
तर ऊ यस्ता विषयलाइ वाहियात भन्थी। उसलाई आफ्नै जिन्दगीको मात्रै चिन्ता थियो, सुखसयल, घुमफिर सबै एक्लै गर्न पाए हुन्थ्यो भन्ने स्वभावकी थिइ। देशमा के भयो ? ऊ चासो दिन्नथी। अधिकांश समय ऊ विदेशका बारेमा कुरा गर्थी।
म भने यही देशमा नेपालीलाई उज्यालो दिन ल्याउने कुरा गर्थे। डाक्टर भएपनि मैले गाउँकै सेवा गर्ने हो। तर ऊ मान्दिनथी।
परीक्षा सकिएपछि म अदृश्य काममा लागेको थिएँ। दुइहप्ता पछि फेरि ऊ आइ यताउता हेरी र भनी हजुरले मैले भनेको मान्नुभएन है? यही पाराले मैले हजुरबाट सुख पाउदिन। हजुरमा डाक्टर होइन नोकर बन्ने हैसियत पनि छैन। मलाइ अब कहिल्यै भेट्नु पर्दैन। यो अन्तिम भेट हो। गाउँका मान्छे सधै गाउँमै बस्ने स्वभावका भएर हो तिनको कहिल्यै प्रगति नभाको। ऊ रिसाएर हिँडी।
त्यसपछि ऊ मलाई भेट्न कहिल्यै आइन न त फोन नै गरी। एकमहिनापछि थाहा भो ऊ अमेरिका गइछ। दाइले धोका पाउनुको चुरो कुरा खोले।
…………………….
वाफ रे ! प्रेम, केटी यस्ता पो हुन्छन् ? मैले धिरज, शिव, राजकुमार, अर्जुन, शंकर लगायत प्रेमिका पीडा सम्झेँ र मनमनै भने मेरा साथीहरुलाई धोका दिएर जाने केटी मान्छेहरु मेरा नजरबाट गिरिसके। मेरो कच्चा दिमागले सोच्यो – केटी मानिससँग संगत गर्नु, प्रेम गर्नु भनेको धोका पाउनु हो। केटी मानिसहरुप्रति म नकारात्मक धारणा बनाएर हुर्के र एसएलसी पास गरे।
…………………….
के भो ? किन टोलाउनुभएको ? सपनाको एक्कासी प्रश्नले म झस्केँ। मैले फेरि सपनालाई वेस्सरी हेरे। तै पनि आठ वर्ष अघिकी जस्ती भेटाउनै सकिन।
…………………….
पत्रकारिताको इन्टर्नमा भेटिएकी सपना चलाख लागेकी थिइ। त्यसैकारण सपनासँग मेरो भेटघाट बाक्लिन थाल्यो। कार्यक्रम, सभा समारोह, राजनीतिका विषयमाथि चोटिला टिप्पणी, दिनरात अध्ययन, नयाँ कुराको खोजी जस्ता सपनाका धेरै कारणले केटीप्रति कठोर मलाइ विस्तारै मोहनी लगाइ। तर मैले त्यो कुरा कहिल्यै भनिन। गालाको कोठी, मीठो हाँसो, बोल्दा आधिजसो मिसिने अंग्रेजी, कामप्रतिको लगावले मैले उसलाइ असाध्यै सुन्दरी देख्न थालेको थिए।
अचम्म ! जुनदिनदेखि मैले सपनालाइ मनपराँए तर त्यसपछि उसलाइ कतै देखिन।
…………………….
छ वर्ष पछि मैले सपनालाई एउटा गाउँमा जादाँ एक्कासी भेटेँ। ऊ त सपनाबाट ‘वर्षा’ भइछ। म अधिकृत भएर चुनाव गराउन गएको उसको गाउँ रहेछ। छ वर्षपछि उसलाई उसकै गाउँमा सपनाबाट वर्षा भएको भेटेँ।
सपना ! दुब्ली, श्रृगारपटार नगरेकी, उसका सौन्दर्य कतै हराएजस्तो। ऊ भीडमा खै कसलाई आदेश दिँदै थिइ।
सम्भावित खतरा नभएको जानकारी पाएपछि हामीले चुनाव गरायौं। सपनाले एकपटक होइन तीनपटक भोट खसाली। मैले विरोध गरिन।
…………………….
हेलो ! कहाँ हराउनु भएको ? सपनाको दोस्रो पटकको सोधाइले मेरो सोच भङ्ग भयो। अरु के खाने ? मैले कुरा मोड्न खोजे।
मोमो खाउँ न। उनको पहिलेदेखिको फेवरेट अर्डर गरेँ।
…………………….
हामी राता मान्छे भएर गाउँ गाउँ हिड्यौ। गौरव र म कहिल्यै सँगै भएनौ। उसको खबर थाहापाउन महिनौ कुर्नुपर्थ्यो। तै पनि माया गरेपछि याद आउदो रे’छ, आउथ्यो। धेरै बा आमासँग बसियो। कुरा गरियो। कतिलाई हामीसँगै हिडाइयो। कोही आधाबाटोमै अलपत्र परे। कतिलाई कहिल्यै नभेट्ने गरी छोडियो। सपना विगत सम्झँदै गइ।

बिहे गर्न ‘गौरव’ले पत्र पठायो मैले पनि म भन्दा माथि जानकारी गराएँ। बिहेको समय फागुन १ गते तोकियो। पश्चिम रहेको गौरव पनि आयो। हामीले लामो प्रेम सम्बन्ध एक आपसमा जनताका सुरक्षा कवच साटासाट गरेर बिहेमा बदल्यौ। सपनाको आँखा चम्के।
चार वर्ष हामी राम्रैसँग बसेका थियौं।

तर काठमाडौं आएपछि गौरवमा परिवर्तन आउन थाल्यो। ऊ घरमै नआउने, फोनमा मात्रै व्यस्त हुने गर्न थाल्यो। केही भन्यो भने रिसाएर झर्किने, आधारातमा रक्सी खाएर घर आउने, मसँग बस्नै मन नगर्ने, छुट्टै कोठामा सुत्ने, उसको व्यबहार पुरै चेन्ज भयो। मसँग गफै गर्न छाड्यो।

र एकदिन उसले डिभोर्स दे भन्दै छोडपत्र तेर्‍स्यायो। मैले उसलाई पुरै नियालेर हेरेँ। उही गौरव जसले मलाई चारचार पटक अस्वीकार गर्दा पनि प्रेम गर्न छाडेन, गाउँगाउँमा राता मान्छे भएर हिडेको बेला पनि माया मार्न सकेन। आँधी, तुफानमा म फसेको खबर पाएर त्यही गौरवले रेडियोमा– ‘म छु तिमीलाइ केही हुँदैन, सत्यको बाटोमा लागेका मान्छेलाई कसैले केही गर्न सक्त्तैन निडर बन। मेरो तिमीलाई धेरै माया छ,’ भनेर पत्र पठाउँथ्यो। तर आज उही गौरव असली पुरुषको भेषमा पाँच पाँच वर्ष मलाई गिजोलेर डिभोर्स दे भन्दै छोडपत्र देखाउँछ। एकपटक तरक्क आँसु चुहाएँ अनि मैले छोडपत्रमा हस्ताक्षर गरेँ। मेरो यो हातले आफ्नै सुन्दर संसार र अतितलाई बिदा गरेँ।
उ भक्कानिइ।

मैले सपनाको आँखामा हेरेँ। दुनियाँलाई उज्यालो बाटो देखाउन, सबै नेपालीको मुहारमा खुसी ल्याएर सुन्दर समाज बनाउन सपनाबाट ‘वर्षा’ बनेकी ऊ उज्यालो दिन नल्याउँदै आफै निचोरिएको कागती भएर पुरानै अध्यारोबाटो सपना नै बनेर फर्की?। म नाजवाफ भएँ।