आश्विन २०, २०८१ आईतबार

मधेसकी एक्ली भूगर्भविद्



देवेन्द्र भट्टरार्इ

 devendra-bhattariभाद्र २२, २०७३- एक वर्ष अघिको भूकम्पले पुर्‍याएको अपार जनधन क्षति र जोखिमयुक्त सामाजिक वस्तुस्थितिको तथ्य–तथ्यांकबारे अझै सोधखोज जारी छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणदेखि सरकारका अन्य संयन्त्रहरू सतहमा कार्यकारी देखिएका छन्। धेरैले लख नकाटेको निकाय खानी तथा भूगर्भ विभागले पनि अहिले त्यत्तिकै काम पाएको छ, जहाँ माटो, चट्टान वा भूसतह परीक्षणका लागि भूगर्भ–प्राविधिकहरू दिनरातको गणना नगरी खटिएका छन्।

भूगर्भविद्को यो भिडमा एउटी मधेसी महिला भेटिइन्, जो भर्खरै दोलखा जिल्लाको भित्री भूभाग र बस्तीमा जोखिमयुक्त भूभागको पहिचान गरेर विभाग फिरेकी छिन्। पुनर्निर्माण प्राधिकरणले छानेका भूकम्प प्रभावित जिल्लाहरूमध्ये दोलखामा वस्तुस्थिति अध्ययन गर्न गएकी वरिष्ठ भूगर्भविद् मोनिका झालाई साथ दिएकी थिइन्— अर्की भूगर्भविद् सुस्मिता भण्डारीले।

‘म राजविराजमा पढे–बढेकी प्रतिनिधि–पात्र हुँ,’ विभागमा भेटिएकी भूगर्भविद् मोनिका झाले सुनाइन्— ‘बाआमाले खर्च गरेर पढ्ने–पढाउनेभन्दा म जे पढ्छु, आफ्नै क्षमतामा पढ्छु भनेर एसएलसीपछि पनि भूगर्भ विज्ञानको विषयमा केन्द्रित भएकी थिएँ। यो विधामा महिलाको उपस्थिति जति न्युन छ, मधेसका महिलाको उपस्थिति त शून्य बराबरै छ।’

मोनिका आफ्नो पढाइ र विज्ञ अनुभवका आधारमा नेपालमा भूकम्प आएयता जनस्तरमा बढेको ‘भूगर्भ–चेतना’लाई यो महाविपत्तिपछिको सकारात्मक उपलब्धि भन्ठानिछन्। विभागले पहिले पनि कुनै घर बनाउनुअघि अथवा निर्माण कार्य थाल्नुअघि माटो/सतहको परीक्षण गरौं भनेर भन्दै आए पनि यसमा सुनवाइ गर्ने मुस्किलले २० प्रतिशत जनसाधारण रहेकोमा अब यो अनुपात ८० मा पुगेको उनको बुझाइ छ।

‘भूगर्भ र भूसतहलाई जसरी विकसित मुलुकले गम्भीरताका साथ लिने गरेका छन्, हामीकहाँ भने ‘माटोमाथि घरै त उभ्याउने हो नि’ भन्ने सोचाइ यथावत छँदैछ,’ मोनिका भन्छिन्, ‘कति आयतन र कति भारबहन गर्नसक्ने एउटा खाटमा कति मानिस बस्न सक्छन् भनेर आँकलन गरेजस्तै जमिनमाथि घरको भार/बहन क्षमता पनि वैज्ञानिक ढङ्गमा अध्ययन गर्नैपर्छ।’ यसका लागि सरकारले ल्याउने निर्देशिका अनिवार्य लागु गराउने र सुपरिवेक्षण पनि कडाइका साथ हुनैपर्ने सुझाव उनको छ। काठमाडौं केन्द्र वा प्रमुख सहरमा मात्रै होइन, हरेक जिल्ला विकास समिति कार्यालयले एउटा भूगर्भविद् अनिवार्य रूपमा राखेर हरेक निर्माण कार्यक्रम अनुगमन अनिवार्य रूपमा गराउनैपर्ने उनको सुझाव छ।

नेपाल भौगर्भिक समाजकी कोषाध्यक्षसमेत रहेकी मोनिकाका अनुसार नेपालमा झन्डै १ हजार व्यावसायिक हैसियतका दक्ष भूगर्भविद् छन्। समाजको दर्तामै झन्डै ८ सय भूगर्भविद् देखिन्छन्। खानी तथा भूगर्भ विभागमै झन्डै ५० भूगर्भविद् छन्। ‘तर माटो जाँच्ने, चट्टान वा भूसतहका बारे नापजाँच गर्ने काम कति अनिवार्य हो भनेर विज्ञ उत्पादनसँगै चेतना विस्तार नगरिएको अवस्था भने पक्कै हो,’ झा भन्छिन्, ‘अहिले आएर भने निजी जलविद्युत क्षेत्र, विद्युत विकास बोर्ड, सिंचाइ, जलस्रोत आदिमा पनि भूगर्भविद्को माग बढ्दो छ।’ मोनिका गत जेठ दोस्रो सातामा १६ दिनको कार्यावधि लिएर दोलखाका ८ गाउँ र गाउँका १ सय ४६ घरधुरीमा पुगेकी थिइन्।

दोलखाका सुन्द्रावती, सुस्माक्षमावती, गैरीमुँदी, नाम्दु, क्षेत्रपा, भीमेश्वर सहितका गाउँहरूमा मोनिकाले गरेको भूसतहको परीक्षण आफैंमा पूर्ण भने थिएन। दोलखामा रहेको ४८ गाउँ र २ नगरपालिकामध्ये ‘स्याम्पल’झैं पुनर्निर्माण प्राधिकरणले ८ वटा गाउँमा पुग्दैमा सम्पूर्ण जिल्लाको भौगर्भिक–वस्तुस्थिति भन्न नसकिने उनको अनुभव छ। त्यसकारण अबको स्थलगत सर्वेक्षणमा सबै भूकम्प प्रभावित जिल्लाका सबै गाउँहरूमा पुग्नेगरी सिंगो सर्वेक्षण जरुरी रहेको उनको सुझाव छ।

मोनिकाको घरपरिवारमा मधेसमा चल्ने ‘दहेज’को रीतितिथि अथवा छोरी–बुहारी बीचको विभेदभन्दा अगाडि शिक्षादीक्षाले धेरै काम गर्न सक्छ भन्ने चेतनाले ठाउँ पाएको रहेछ। ‘मधेसमा इन्जिनियर, डाक्टर बन्नेहरू धेरै होलान्, शिक्षक, प्राध्यापक पनि उत्तिकै छन्,’ २०५५ सालमा राजविराजबाट एसएलसी गर्नासाथै मोनिकाले लिएको फरक दृष्टि थियो, ‘म जेजता गए पनि नयाँ भोगाइ र सिकाइको बाटोमा लाग्नेछु भनेर भूगर्भको क्षेत्रमा लागेकी हुँ।’

विभागको जियो–टेक्निकल ल्याबकी प्रमुखसमेत रहेकी उपसचिव झा भूगर्भकै काममा कहिले दोलखा, कहिले काभ्रेका भित्री गाउँबस्तीमा ‘एक्सप्लोर’ गर्न पुगिरहेकी हुन्छिन्। मधेसी हुनुको क्षेत्रगत अथवा महिला हुनुको लैङ्गिक विभेदले मोनिकालाई अहिलेसम्म खासै कठिनाइ पारेको रहेनछ।

‘मधेसी समाजमा छोरी र बुहारी बीचमै भेदभाव छ। आफ्नै रीतिरिवाज र संस्कृति भनेर परिवारभित्रै विभेद भैरहेको स्थिति छ,’ सरकारी जागिरको आफ्नै तह–तप्का भए पनि आफ्नो मधेसको सामाजिक संरचना र सोचाइ बारेमा पनि मोनिका उत्तिकै सचेत छिन्, ‘हाम्रो समाजमा आफ्नै समुदाय र परिवारकै कारण मधेसका महिला पछि परेका हुन् भन्ने लाग्छ।’

बाबुआमाको सम्पत्ति छ भन्दैमा लाखौं खर्चेर डक्टर/इन्जिनियर बन्ने होड मधेसमा बढी देखेकी मोनिकाले ‘एउटी छोरीले रोज्ने स्वेच्छाको पढाइ अथवा प्रोफेसन/केरियरका बारे अझै मधेसमा बहस सुरु भैनसकेको’ बुझाइ आफूसँग राखेकी छिन्। यसो भन्दैमा सिंगो मधेसी महिला जगतबाट आफू ‘नमुना पात्र’ बनेर अगाडि आएको भन्ने भ्रम मोनिकाले पालेकी छैनन्।

‘मैले घरपरिवारबाट नसोचेको आडभरोसा पाएँ, आफ्नो पढाइ र केरियर बारेमा स्वतन्त्र निर्णय गर्नमा साथ पाएँ,’ भूगर्भविद् मोनिका भन्छिन्— ‘कहीं कतैबाट साथ नपाउने अथवा साथ पाएर पनि निर्णय गर्न नसक्ने महिला दिदीबहिनी मधेसमा मात्रै होइन, पहाड/हिमालतिर पनि होलान्। यसकारण शिक्षा र चेतनाको पहुँच बढाउने कुरामा सबैतिर एउटै दृष्टिले हेर्नुपर्छ।’ कान्तिपुरबाट