>

कार्तिक २, २०७८ मंगलबार

होटल होटल चहारेर बंगुर संगै खुसी



pigदोलखा । बङ्गुरको स्याहार, होटल/होटलमा पुगेर दाना जम्मा गर्नु बुद्धलक्ष्मी तमाङको दिनचर्या हो । दोलखा घ्याङसुकाठोकरबाट छोराछोरीको भविष्य सुरक्षित गर्न सदरमुकाम चरिकोट आएकी बुद्धलक्ष्मीले तत्काल आर्थिक अभाव परिपूर्ति  सुरुमा दुईवटा बङ्गुरबाट व्यवसाय सुरु गरिन् ।

‘बुढाबुढी दुबै निरक्षर, रोजगारीको अरु उपाय थिएन, त्यसैले सजिलो व्यवसाय भनेर बङ्गुर पालन सुरु गरें’ बुद्धलक्ष्मीले भनिन् ।  उनलाई यो काम पनि सजिलो लागेको छैन । फोहरदेखि दिगमिग नमानी काम गर्नुपर्छ, परिश्रम त्यतिकै हुन्छ । थोरैमात्र बङ्गुर पालेर जीविकोपार्जन सहज नभएपछि बङ्गुर थप गर्न खोर बनाइन् । अहिले बुद्धलक्ष्मीको खोरमा १० ओटा बङ्गुर छन् ।  बङ्गुरको स्याहारपछि बाँकी रहेको समयमा मौसम अनुसार हुने तरकारी खेती गर्ने गरेकी छन् । अहिले भने उनलाई खर्चको चिन्ता छैन । सबै खर्च कटाएर  बार्षिक  ३ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनी बताउँछिन्  ।

बङ्गुर व्यवसायबाट आएको आम्दानीले उनको उत्साह थप्यो ।  बुद्धलक्ष्मीले १७ लाख रुपैयाँ खर्चिएर घर बनाएकी छिन् ।  ‘छोराछोरी पढाएँ, छोरीको विहे पनि गरिदिएँ, अहिले ऋणबाट पनि मुक्त भईसकेको छु’ प्रसन्न हुँदै  उनले भनिन् । घिन र लाज नमानेर जाँगर ग¥यो भने बङ्गुर व्यवसाय आम्दानीको राम्रो बाटो हुने उनको अनुभव  छ ।  शुरुमा मासुका लागिमात्र बङ्गुर बेच्ने गरेको बुद्धलक्ष्मीको घरमा अहिले पाल्नका लागि समेत बङ्गुरका पाठा लिन ग्राहक आइपुग्ने  गरेका छन् ।  एउटा बङ्गुरले १ सय १४ दिनमा कम्तिमा ६ देखि १५ ओटासम्म पाठा पाउने गरेको उनले बताईन् । उनका अनुसार एउटा पाठा बेच्दा ३५ सय रुपैयाँसम्म आम्दानी हुन्छ भने मासुका लागि एउटा बङ्गुर बेच्दा ३० देखि ३५ हजारसम्म आम्दानी हुने गरेको छ ।

पढेलेखेकी छैन भनेर पछुताएर बस्नु भन्दा जानेको र सकेकोको काम अप्ठेरो नमानी ग¥यो भने खुशीसँग जीवन यापन गर्न सकिने विश्वास बुद्धलक्ष्मीको छ । ‘निरक्षर मैले लाज मानेर यो व्यवसाय नगरेको भए न छोरा छोरी पढाउन सक्ने थिएँ, न सदरमुकाममा घर बनाएर बस्ने कल्पनै गर्न सक्थें’ बुद्धलक्ष्मीले भनिन् – काम ठूलो सानो हुँदैन भनेर आफूलाई सजिलो लागेको यो व्यवसाय रोजें, मेहेनत पनि गरें अहिले छोराछोरीलाई पनि पढाउन सकेकी छु, घर पनि बनाए र अलि अलि बचत पनि भएको छ ।