आश्विन २०, २०८१ आईतबार

अरिँगाल होइनन् महिला



manisha-1000x0
मनीषा गौचन

मनीषा गौचन

‘अब त महिलाहरूलाई चलाउनै भाछैन’ उत्पीडनमा परेकाहरूको अधिकारका लागि कडा रूपमा बोल्दै र लेख्दै आएका लेखक, राजनीतिज्ञ आहुतिले केही दिनअघि एउटा पुस्तक विमोचन समारोहमा बोलेको मन्तव्यको अंश हो, यो । उनको भनाइ सुन्दा लाग्थ्यो, महिला अरिँगालका गोला हुन् जसलाई छुनासाथ हुलका हुल मिलेर टोक्न आउँछन् । कटाक्ष नै गरिएको भए पनि यो भनाइले आजको समाजमा महिलाको बलियो उपस्थितिलाई दर्साउँछ ।

प्रसंग जोडिएको छ, उही केही दिनअघि भृकुटीमण्डपमा भएको बहुचर्चित र विवादास्पद अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीसँगैको बहस कार्यक्रमसँग । छ/छ ओटा विभिन्न विषयमा वक्ता र सहजकर्ता गरी झन्डै छब्बीस जना सहभागी रहेको सो कार्यक्रममा सिने क्षेत्रबाट एउटी महिलाबाहेक बाँकी सबै पुरुष थिए । एउटा सहजकर्ताको ठाउँ भने खाली थियो । त्यो पनि सायद पुरुषकै लागि थियो । बोल्न सक्ने, लेख्न सक्ने र विश्लेषण गर्न सक्ने महिला नै नभएजस्तो गरी सञ्चालन गर्न थालिएको उक्त कार्यक्रमको विरुद्धमा जब महिलाले नै आवाज उठाउन थाले तब अचानक महिलाको क्षमतामाथिको बहस चर्कोसँग तात्यो । सामाजिक सञ्जालहरूमा अनेक थरी प्रतिक्रिया र विचारहरू पोखिए । तर यो प्रकरणमा केही गण्यमान्य पुरुषका प्रतिक्रिया र अभिव्यक्तिले उनीहरूको मानसिकता प्रमाणित गरिदियो । यी तिनै पुरुष थिए जो पहिचानको आन्दोलन लडिरहेका छन् । कवितामा आमालाई पुकारिरहेका र दिदीबैनी लुटिएको वेदना पोखिरहेछन् । उनीहरूका प्रतिक्रिया देखेपछि लाग्यो, के त्यसो भए उनीहरूले आजसम्म उठाएका यी सबै मुद्दा खोक्रा आडम्बर मात्रै थिए ?

नयाँ पुस्ताकै केही महिलाले समेत बौद्धिक वृत्तका महिलाको ठूलो समूहले एकजुट भएर यसविरुद्ध उठाएको आवाजलाई ‘गनगन’को संज्ञा दिँदै लेख नै लेखे । सायद उनीहरूले महिला भएकै कारण कुनै विभेदको सिकार हुनु परेकै छैन होला । यो मामलामा उनीहरू सौभाग्यशाली होलान् पनि । भए खुसीको कुरा हो । तर उनीहरूको व्यक्तिगत हुर्काइ वा भोगाइले मात्रै सम्पूर्ण नेपाली महिलाको भोगाइको प्रतिनिधित्व गर्दैन । विश्वमै सचेत महिलाहरूले गर्दै आएको अस्तित्वको आन्दोलनले यस्तै विभेदबाट मुक्त महिलाको कल्पना गरेको छ जो महिला भएकै कारण हिंसामा नपरोस्, अपमानित नहोस्, आफ्नो जीवन कसरी जिउने भन्नेमा उसको आफ्नै रोजाइ होस्, आफ्नै स्वामित्वमा उसको आर्थिक हैसियत होस् र उसले महिला हुँ भन्नुमा गर्व गरोस् । ‘सक्ने भए खुला प्रतिस्पर्धा गर्नुपर्छ केको महिला बनेर गनगन गरेको’ भन्ने र लेख्नेहरूले अलिकति दृष्टि फराकिलो पारेर हेरे स्पष्ट बुझ्ने थिए सदियौंदेखि खुला रूपमा समाजमा आफ्नो हैकम जनाइरहेका पुरुषसँग पितृसत्ताको साङ्लाले बाँधिएका महिलाले कसरी बराबरी प्रतिपर्धा गर्न सक्छन् ?

समाजमा प्रतिस्पर्धाका लागि अघि बढ्दै गर्दा एउटी महिलाले ‘महिला’ उपाधिका आधारमा आफूलाई जकडेका सयौं साङ्ला चुँडाल्दै हिँड्नुपर्छ । हामी सबै बस्ने समाज यही हो जहाँ हामीलाई दाइजोका लागि जलाइन्छ । यौन तृप्तिका लागि बलात्कार गरिन्छ । छोराको लागि लिंग पहिचान गरेर भु्रण हत्या गराउन बाध्य पारिन्छ । महिनावारी हुँदा गोठमा लुकाइन्छ । बिहे भएर गएको परिवारमा दोस्रो दर्जाको मान्छेको व्यवहार गरिन्छ । र, सार्वजनिक वृत्तमा एकभन्दा दुईपटक उपस्थित हुनासाथ निधारमा ‘चरित्र’को प्रमाणपत्र टाँसिदिइन्छ । हामीलाई गनगने भन्ने पुरुषका परिवारका महिला यी सबबाट अछुतो पक्कै नहोलान् वा गनगने भन्ने महिला आफैं पनि कहाँ मुक्त होलान् यो सामाजिक संरचनाले थोपरेको विभेद वा हिंसाबाट ? के उनीहरू बस्ने समाज पनि यही होइन र ?

गर्वको कुरा, यी सबै साङ्ला चुँडाल्दै वा बाँधिएरै पनि नेपाली समाजका थुप्रै महिलाले विभिन्न क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । तर लाग्छ हाम्रो समाज महिलाको यो क्षमतामा विश्वास गर्न अझै तयार छैन । बरु उल्टो उक्त क्षमताको खिल्ली उडाउन पछि पर्दैन । हो यहींनिर हो हाम्रो आपत्ति– सार्वजनिक वृत्तमा कहिले नियोजित वा कहिले बेवास्तापूर्वक महिलालाई पाखा लगाइने प्रवृत्तिप्रति । देशका थुप्रै ठाउँमा सार्वजनिक रूपमा ‘महोत्सव’ नामबाट बारम्बार आयोजना हुने यस्ता कार्यक्रममा ‘म लेख्छु वा मेरा केही साथी लेख्छन् त्यसैले हामीले ठाउँ पाएनौं भन्ने’ मुद्दा प्रमुख होइन । कार्यक्रममा महिला वक्ता हुनु भनेको पुस्तक प्रकाशित गरिसकेका महिला लेखक नै हुनुपर्छ भन्ने धारणा पनि होइन । मुद्दा हो, यही समाजमा संघर्षका साथ बलियो शैक्षिक, राजनीतिक र सामाजिक हैसियत बनाएका महिला प्रशस्त हुँदाहुँदै पनि उनीहरूलाई कहिल्यै कसैले सम्झन चाहेको देखिँदैन । रह्यो कुरा महिला लेखकको–बारम्बार भनिँदै आएको छ ‘महिलाले राम्रो लेख्न सकेनन् ।

महिलाको कुरा गन्थन मात्रै भयो । बौद्धिक खुराक नै भएन ।’ तर, यो मात्रै पूर्ण सत्य होइन । यस्ता साहित्यिक महोत्सवमा कहिल्यै नअटाउने कैयौं महिला छन् जसले आफूलाई सशक्त लेखकका रूपमा प्रमाणित गरिसकेका छन् । त्यस्तै आफूलाई प्रमाणित गर्न बाँकी नै रहेका कैयौं पु्रुष लेखक छन् जो यस्ता हरेकजसो महोत्सवका शोभा बढाउँछन् ।

महिलाको लेखनको वा कृतिको खुला चर्चा हुन नपाउनुका केके कारण छन् भनेर हामी कहिलेकाहीं गफ गर्छौं । सञ्चार माध्यमले उठाइदिएको आजको साहित्यिक बजार, ती माध्यमसम्म उनीहरूको पहुँच नपुग्नुदेखि ‘साँझ जम्ने’ टोलीमा महिला सहभागी नहुनुसम्मका कारण यसमा जिम्मेवार छन् । बजारमा सञ्चारकर्मी, प्रकाशक र लेखकबीच सुमधुर सम्बन्धको अनिवार्यता अब नकार्न नसकिने बनिसक्यो । जुन सम्बन्धलाई अद्यावधिक गरिरहन दौडधुप गर्न सक्ने सामाजिक अवस्था महिला लेखकहरूको छैन । हामी ठट्टैमा मनको अमिलो पोख्छौं, भन्छौ– ‘सँगै ‘जमेका’हरूले पो त एक अर्काको चर्चा गरिदिने हो, हाम्रो कसले गरिदेओस् ?’ किनकि कतिपयले खुलमखुला भनेकै छन्, ‘पुरुषको रिस लागेसँगै भट्टीमा पस्न सक्नुपर्‍यो नि ।’

व्यवस्था परिवर्तनका लागि भएका बारम्बारका आन्दोलनपछि ‘समावेशी’ उपाधि पाएको नेपाली समाजमा कम्तीमा सार्वजनिक कार्यक्रमहरूमा महिलाको संघषलाई पहिचान गरेर स्थान दिइयोस्, सँगै हिँड्ने माहोलको अभ्यास होस् भनेर हामीले अपेक्षा गर्नु अस्वाभाविक होइन । घर छोड्न नपाउँदाको उकुसमुकुस, पारिवारिक जिम्मेवारीले थिचिएको काँध र स्वतन्त्र हुन नपाउँदाको आक्रोश बोकेर पनि आजको नेपाली समाजका महिला लेखकले आफ्ना शब्दसँग रमाउने र त्यसैमा स्वतन्त्रता खोज्ने साहस गरेका छन् । आफूले लेखेका यिनै शब्दबाट उनीहरू समाज परिवर्तनको सपना देख्छन् र विभिन्न मुद्दामा बौद्धिक चिन्तन र बहस गर्ने हिम्मत राख्छन् । यही हिम्मतकै भरमा उनीहरू आफूले देखेको समानतापूर्ण समाजको परिकल्पना साकार भएको देख्न चाहन्छन् । यस्ता हिम्मतिला महिलाहरू न अरिँगाल हुन् न गनगने । हाम्रो आवाज आफूलाई पनि पूर्ण मानवमा गणना गरियोस् भन्ने हो जो अग्रगामी छ र जसले एउटा स्वतन्त्र, प्रगतिशील र सभ्य समाज निर्माण गर्ने सपना देख्छ । यो सपनाले हानि त पुरुषलाई पनि गर्दैन । पुरुष भएकै कारण विभेद खेप्न परेको कल्पना कुनै पुरुषले गरेर हेर्दा उनीहरू के देख्लान् ?