बैशाख २४, २०८१ सोमबार

मधेशमा महिला हिंसा किन बढ्दैछ ?



ranjan-bhandariरञ्जन भण्डारी

हामी नारी शक्तिबारे औँलामा गनेर उदाहरण प्रस्तुत गर्न सक्छौँ । तर, के त्यति उदाहरण नै काफी छ त ? नारीलाई शक्तिको केन्द्र मान्ने हामी तिनै नारीलाई हिंसाको सिकार बनाउँछौँ । शक्ति प्रदर्शन गर्न नै प्रायः पुरुषले महिलामाथि हिंसा गरेको प्रशस्त उदाहरण छन् । महिला भएकै कारण पुरुषद्वारा महिलामाथि विभिन्न आरोप–प्रत्यारोप लगाई कुटपिट र घरनिकालासम्म गर्ने गरिएको छ । महिला हिंसा र लैंगिक हिंसाको कुरा गर्दा महोत्तरीको सन्दर्भमा हरेक महिना ३० देखि ४० उजुरी महिला तथा बालबालिका सेवाकेन्द्रमा पर्छ । बालविवाह, बहुविवाह, बलात्कार, बलात्कारप्रयास, मादक पदार्थ पिएर कुटपिट गरेको, चरित्रमाथि प्रश्न उठाई विभिन्न आरोप लगाई घरनिकाला गर्ने गरेको, जग्गा विवादमा समेत महिला नै बढी प्रभावित भई कुटपिट र ज्यानसम्मै गएको प्रत्यक्ष मुद्दा नै देखिएको छ । पारिवारिक कलहलगायतका उजुरी प्रहरीमै अत्यधिक छ । सोबाहेक महिला हिंसा र लैंगिक हिंसालगायतका मुद्दामा सरोकार राख्ने अन्य निकाय र संघ–संस्थासमेत छन् । त्यहाँसमेत पीडित महिला न्यायका लागि पुग्ने गरेको देखिन्छ । यसबाहेक अधिकांश राजनीतिक दलका कार्यालयले समेत यस्ता मुद्दा आफ्नै पार्टी कार्यालयमा पक्ष–विपक्षलाई राखी समाधानसमेत गर्ने गरेको छ ।

उल्लिखित घटना समाजमा सार्वजनिक भएका प्रतिनिधि मुद्दामात्रै हुन् तर सार्वजनिक हुन नपाएका मुद्दा भने यसको तेब्बर रहेको महिला अधिकारकर्मी रेखा झा बताउँछिन् । किन यस्तो हुन्छ त ? झाको भनाए छ, ‘नारीलाई शक्तिको प्रतीक भनिए पनि त्यो प्रतीकमात्र भएको छ । वास्तविकता भनेको पुरुषले आफ्नो शारीरिक र मानसिक सन्तुष्टिका लागि प्रयोग गर्ने वस्तुबाहेक नारी अरु केही होइन । हामी ठुल्ठूला कुरा गर्छांै । नारीलाई पुरुष बराबरीको हकको कुरा त वकालतमा समेत गर्छांै तर सयमा उनान्सय नारी कुनै न कुनै माध्यमले श्रीमान्, छोराछोरी, आमाबाबु, सासूससुरा अन्य नातेदार तथा समाजबाट समेत पीडित छन् ।’ जसमध्ये बाहिरी पीडा हामी देख्न सक्छौँ भने आन्तरिक पीडा उनीहरुले लोकलाज, डर, भयले आफूभित्रै लुकाएर राखेका हुन्छन् ।’

आलेखमा एक पीडित महिलाको व्यथा सार्वजनिक गर्ने प्रयास गर्दै छु । भारतको सीतामढी जिल्लाको कन्मा गाउँ माइती भएकी रहमतुन निसा १३ वर्षपहिले वैरगिया लक्ष्मीनिया–१ का शेष जमसेदसँग मुस्लिम परम्पराअनुसार वैवाहिक जीवनमा बाँधिएकी हुन् । बिहे भएको दुई÷तीन महिना नबित्दै श्रीमान् पैसा कमाउन भनी भारत गए । उनी गएलगत्तै सासूले विभिन्न कुरामा गाली गर्ने र कुट्दा समेत उनी सहँदै बसिन् । भारतबाट तीन वर्ष ६ महिनामा श्रीमान् फर्कंदा उनलेसमेत मदिरा पिएर कुटपिट गरिरहे । पछि माइतबाट दिएको केही गहना श्रीमान्ले बेचेर विदेश गए । सोहीक्रममा कतार र त्यसपछि साउदी पुगे । करिब तीन महिनापहिले मात्र श्रीमान् साउदीबाट फर्केका हुन् । फर्केलगत्तै श्रीमान्ले मानसिक र शारीरिक यातना दिइरहे । तिमीलाई म विदेशमै छँदा फोनमै तलाक दिएको कुरा गरे तर आफूले नसुनेको भन्दा तँलाई म पछि बताउँछु भन्दै गर्जे ।

उनले आफ्नो कुरा थप्दै भनिन्, ‘पटक–पटक मलाई घरनिकाला गरिरहँदा महोत्तरीस्थित महिला तथा बालबालिका सेवाकेन्द्रमा निवेदनसमेत दिएँ । सोहीक्रममा भदौ ६ गते दुवै पक्षबीच आपसी समझदारीमा मिलापत्र भयो ।’ भदौ ९ गते मलाई गाउँका केही महिला र पुरुषलाई घरमै बोलाएर श्रीमान्ले उनकासामु तलाक, तलाक, तलाक भनेर मुस्लिम परम्पराअनुसार तलाक दिँदै घरबाट निकाले ।

‘जेठो छोरा १०, माइलो ९ र छोरी पाँच वर्षकी छन् । श्रीमान्ले विदेश छँदा पठाएको पैसाले एक कठ्ठा जग्गा किनिदिए । उनले र सासूले लिएको ब्याजसहितको सापटी पनि तिरे,’ उनले भनिन्, ‘मलाई गहना बनाइदिएनन् । तर, मलाई पन्चसामु तलाक दिएलगत्तै मसँग श्रीमान्ले गहना र पैसा दिएको भन्दै ममाथि झुटा कुरा लगाएर मलाई तिर्न लगाए ।’ अहिले बुवाआमाको घरमा शरण लिएकी उनले कति दिन बुवाआमाकहाँ बस्ने भन्दै दुःखेसो पोखिन् । ममाथि भएको अन्यायभन्दा पनि बालबच्चाको बिचल्ली भएको पीडाले उनलाई सताएको छ । जुन परिवारलाई आफ्नो जीवनको १३ वर्ष दिए, त्यही परिवारले उनलाई पराई ठाने । उनीजस्ता लाखौँ महिला महोत्तरीमै पीडित छन् ।
जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला तथा बालबालिका सेवाकेन्द्रकी प्रमुख सई खिलकुमारी राउत भन्छिन्, ‘महोत्तरीमा महिला हिंसा बढ्दो छ । विशेषगरी श्रीमान् विदेश गएको अवस्थामा महिला सासूससुरा, जेठाजुलगायतले आर्थिक, मानसिक र शारीरिक हिंसा गर्ने गरेका छन् । दाइजो थोरै ल्याएका कारण महिलालाई अनावश्यक आरोप लगाएर घर छाड्न बाध्य बनाइन्छ ।’ त्यतिमात्रै होइन, जिल्लाका अधिकांश ग्रामीण तथा सहरी क्षेत्रका पुरुषले भारतमा समेत बिहे गरेका छन् । बिहेपछि श्रीमतीले आफ्नो नागरिकता बिहे दर्ता र बच्चाको जन्मदर्ता गरौँ भन्दा श्रीमान्ले उनीहरुलाई किन चाहियो भनेर कुटपिटमात्रै होइन घरनिकालासमेत गर्ने गरेका छन् । यसैगरी, महिला हिंसा किन हुन्छ भन्ने प्रश्नको जवाफमा महिला विकास कार्यालय प्रमुख महिला विकास अधिकृत नितु दुबे भन्छिन्, ‘पितृसत्तात्मक सोच महिला हिंसाको मुख्य कारक हो । हाम्रो समाजमा महिलाभन्दा पुरुष आर्थिक र सामाजिक रुपमा बलिया छन् । आमा, श्रीमती वा जुनसुकै महिला पनि त्यो शक्तिमाथि आफ्नो आधिपत्य जमाउन खोज्दा हिंसा हुन्छ ।’ अर्को कारण हो– अशिक्षा । अशिक्षाले समेत हिंसा बढाएको छ ।

दुबे थप्छिन्, ‘हामीले कानुनी सहायताले मानसिक र शारीरिक रुपमा परेको पीडा कम गर्ने प्रयास गर्न सक्छौँ तर सम्बन्धित परिवारमा आएको फाटो सरकारले समेत निदान गर्न सक्दैन ।’ नेपालमा लैंगिक हिंसा प्रभावितका लागि अल्पकालीन आश्रयसहितको सेवाकेन्द्र १७ जिल्लामा सञ्चालनमा रहे पनि हाल महोत्तरीमा भने छैन । २६६ वडामा महिला विकास कार्यालयले सञ्चालन गर्दै आएको कार्यक्रममा १६० वडामा बनाइएको ३० जना महिला समूहमध्ये चारदेखि आठजना महिलाको वाच समूह बनाइएको र उसले टोल छिमेकमा हुने हिंसात्मक क्रियाकलापलाई तीन चरणमा निदान गर्ने प्रयास गर्ने गरेको छ । जसमध्ये पहिलो चरणमा हिंसात्मक घटनामा छिमेकी हस्तक्षेप, दोस्रो चरणमा सामाजिक स्तरमा छलफलबाट हिंसा समाप्त पार्ने प्रयास र तेस्रो चरणमा कानुनी उपचार रहेको छ । साथै हिंसा कम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालनमा रहेको छ ।

महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले महिला हिंसा सालिन्दा बढ्दै गइरहेकोप्रति चिन्ता व्यक्त गरे । महिला हिंसा प्रहरीमा जाहेरी हुनेक्रम बढ्दो छ । आर्थिक, सामाजिक, रोजगारी, रीतिरिवाज आदि भने मुख्य कारक रहेको उनको ठम्याइ छ ।