आश्विन १९, २०८१ शनिबार

चाल्ने सिस्नो, भयो पैसा टिप्ने लिस्नो



alloमाया अधिकारी, कुश्मा
१० मंसिर – २०७३
चाल्ने सिस्नो, दशक अघिसम्म वनपाखामै कुहिएर सकिन्थ्यो  । त्यसलाई प्रशोधन गरेर कपडा उत्पादन हुन थालेपछि अहिले जापान, कोरिया, बेलायतलगायत मुलुकमा निर्यात हुन्छ  । वार्षिक लाखौं रुपैया“ गाउँमा भित्रिन्छ ।   रेसाबाट बनाइने कपडा र त्यसका सामग्री युरोपेली र अमेरिकी समाजमा लोकप्रियताको शिखरमा छन् । पर्वतको उत्तरी भेगका सात वटा गाविसका सामुदायिक वनको एक प्रमुख वनस्पति हो चाल्ने सिस्नोअर्थात अल्लो ।

लेखफाँट, शालिजा, क्याङ, भुकतांले, चित्रे आर्थर र भोक्सिङ गाविसमा अल्लोको प्रशस्त उत्पादन हुन्छ । शालिजा र क्याङ गाविसमा मात्र प्रशोधन सुविधा उपलब्ध छ । ती गाविसका महिलाले व्यावसायिक रूपमै प्रशोधन र कपडा बुन्न थालेका छन् । हम्पालको जंगलबाट संकलन गरेर प्रशोधन थालिएको छ ।

विभिन्न संस्थाको पहलमा स्थानीय महिलालाई प्रशोधनसम्बन्धी तालिम दिइने गरेको छ । जिल्ला भित्रिने आन्तरिक र बाह्य पर्यटकले लैजाने मुख्य उपहारको स्थान अल्लोकै टोपी, सुट, स्टकोट, झोला, पर्सजस्ता सामग्रीले लिएका छन् । सदरमुकाम कुश्मा र पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा बिक्री केन्द्र सञ्चालन भएका छन् । जिविस, लघु उद्यमी संघ, सेवा नेपाललगायत संस्थाको सहयोगमा शालिजा, धाइरिङ र पातीचौरमा प्रशोधन केन्द्र स्थापना भएका छन्, जसले महिलालाई व्यावसायिक बनाएका छन् ।

बिक्री केन्द्रमार्फत काठमाडौंसमेत पठाइने गरेको उद्यमी घममाया पुर्जाले जानकारी दिइन् । जिल्लाभर ६० महिला अल्लो उद्यमी बनिसकेका छन्, जो संकलन, प्रशोधन, कपडा बुनाइ, तयारी वस्तु बनाउने र बिक्रीसम्ममा संलग्न छन् । वार्षिक एक हजार पाँच सय मिटर कपडा तयार हुन्छ । प्रतिमिटर ६ सय रुपैयाँ पर्छ । कुश्मास्थित सौगात गृहकी सञ्चालक जसमाया पुनका अनुसार कोट, स्टकोट, झोला, पर्सलगायत वस्तुको मूल्य दोब्बर/तेब्बरसम्म पर्छ । उद्यममा लागेका महिलाले मासिक १० हजार रुपैयाँसम्म आम्दानी गर्छन् ।

गाई, भैंसीको दाम्लो र भारी बोक्ने नाम्लोमा सीमित अल्लोले पर्वतका महिलाको आत्मनिर्भरता बढाएको छ । दशक अघिसम्म ज्याला मजदुरीमा खुम्चेका उनीहरूले उद्यमीको परिचय बनाएका छन् । स्वदेश र विदेशको माग धान्न भने हम्मे परेको छ । उद्यमी पद्मा पुनका अनुसार पर्वतका महिलाले बाजुरा र जुम्लासम्म पुगेर तालिम दिन थालेका छन् ।

हाते उद्यमलाई आधुनिक मेसिनले विस्थापन गर्दैछन् । गुणस्तरीय कपडा बनाउन सके बजारको खाँचो नरहेको उद्यमी घममाया पुर्जाको भनाइ छ । प्रशोधनका लागि जिल्ला वन, घरेलु तथा साना उद्योग विकास समिति र जिविसले सहयोग गर्दै आएका छन् । वर्षा सकिएपछि मंसिरदेखि माघसम्म वनबाट अल्लो काटेर ल्याउ“छन्, पकाउने, सुकाउने र धागो बनाएर कपडा तयार पार्छन् ।

जिल्ला लघु उद्यमी संघका अनुसार पर्याप्त लगानी र जनशक्ति अभावमा अझै अल्लो प्रशोधन हुन सकेको छैन । उक्त वनस्पतिलाई पूर्ण उपयोगमा ल्याउन सके जिल्लाको प्रमुख आम्दानीको स्रोत बनाउन सकिने संघकी कार्यक्रम संयोजक सीता शर्माले बताइन् । जिल्ला वनका निमित्त प्रमुख हरिशचन्द्र सापकोटाका अनुसार एक दशकअघि एन्साब नामक संस्थाले यससम्बन्धी अध्ययन गरेको थियो ।

सोही संस्थाको प्रतिवेदनअनुसार प्रशोधन र कपडा उत्पादन हुन थालेको हो । पर्वत उद्योग वाणिज्य संघले अल्लो उद्योग स्थापनाको पहल थालेको छ । केही दिनअघि आइपुगेका उद्योग मन्त्री नवीन्द्रराज जोशीलाई यसका लागि बजेट छुट्याइदिन मागसमेत गरिएको छ । मन्त्री जोशीले विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।