बैशाख २७, २०८१ बिहीबार

किन भयो सुशिलाको मृत्यू



dipak-bdr-gharti
        लेखक-दीपबहादुर घर्तीे

राष्ट्रिय स्तरका विभिन्न सञ्चार माध्यमहरुले केहि दिन अगाडि प्रकाशित गरेको कालिकोट सिपखानाकी सुशिला योगीको समाचारले सामान्य चिया पसल देखि बि.आइ.सि.सी. भवन सम्म निकै ठुलो प्रभाव पार्यो । कालिकोटलाई सन् १९९३ को खाद्य असुरक्षित देश सुडानसंग तुलना गरिएको समाचारले देश भरिनै निकै ठुलो प्रभाव पारेको हो ।

यस अघि नेपालमा कहिले पनि नदेखिएको कुपोषित बालिका सुशिला योगीको डरलाग्दो फोटो विभिन्न सञ्चार माध्यमले प्रकाशित गरेका थिए । नेपालमा पहिलो पटक प्रकाशित कुपोषणले भयानक भएको फोटो कालिकोट सिपखानाकी सुशिला योगीको थियो ।

उक्त फोटोलाई विभिन्न सञ्चार माध्यमहरुले न्युयोर्क टाईम्सका फोटो पत्रकार केभिन कार्टरले आफ्नो क्यामरामा सन् १९९३ मा कैद गरेको दक्षिणी सुडानमा कुपोषणको शिकार भएकी सानी बालिका जीवनको अन्तिम अबस्थामा देखिन्छिन् र नजिकै एउटा गिद्ध छ, जसले बालिकाको मृत्यु पर्खेर बसिरहेको फोटोसंग तुलना गरेर प्रकाशित गरेका थिए ।

कुपोषणको शिकार भएर भयानक देखिएकी र समयमै उपचार नपाएर ज्यान गुमाएकी सुशिला योगीको हृदय बिदारक घटनाले सरकारी तथा गैर सरकारी क्षेत्रका पोषण रणनीति र कार्यक्रम कार्यान्वयनको अवस्थावारे हामीलाई अझ बढी सम्वेदनशील बनाएको पहाडी कृषि पारस्थितिकीय प्रणालीमा पोषण परियोजनाकी राष्ट्रिय कार्यक्रम संयोजक सोमा रानाको भनाई छ ।

कस्तो थियो सुशिला योगीको अबस्था

sushilaसुशिला योगी २६ बर्षिय बुवा जगदिश योगी र २३ बर्षिय आमा पार्वता योगीकी दोश्रो सन्तान हुन् । १४ महिनाकी सुशिलाको तौल ४ किलो थियो भने, पाखुराको मुआप नाप १० सि.एम. भएको सिपखाना स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी हंसराज न्यौपानेले जानकारी दिए । गत असार महिनामा सुशिलालाई सबै खोप लगाई सकिएको सिपखाना स्वास्थ्य चौकीले जानकारी दिएको छ । स्वास्थ्य चौकीले दिएको जानकारी अनुसार गत असार महिना सम्म सुशिलामा कुपोषण देखिएको थिएन ।

बाबा, आमाको सुशिला दोश्रो सन्तान हुन भने, पहिलो सन्तान लक्ष्मी योगी हुन् । लक्ष्मी योगी हाल उम्मेरले ३१ महिना कि भईन् । लक्ष्मीको पनि तौल ८ किलो छ भने, पाखुराको मुआप नाप ११ सि.एम. रहेको स्वास्थ्य चौकी सिपखानाले जनाएको छ । लक्ष्मी र सुशिला विचको जन्मान्तर १७ महिनाको रहेको छ । सुशिलाकी आमा पार्वता योगीको पेटमा ६ महिनाको अर्को बच्चा रहेको स्वास्थ्य चौकीले जानकारी दिएको छ । ६ महिनाको पेटमा बच्चा भएकी पार्वता योगीले एक पटक मात्र स्वास्थ्य चौकीमा गर्भ जाँच गराएकी छन् भने, गर्भवती आमाले स्वास्थ्य सेवा मापदण्ड अनुसार खानु पर्ने आईरन चक्की, जुकाको औषधी पनि नियमित खाने गरेकी छैनन् ।

सामान्य मान्छेको स्वास्थ्यमा बिविध खानावाट प्राप्त हुने दैनिक २१ सय उर्जा क्यालोरीको आवश्यकता पर्छ भने, सुत्केरी महिला तथा नवजात शिशुलाई बिभिन्न तत्ववाट प्राप्त हुने २१ सय भन्दा बढी दैनिक उर्जा क्यालोरी चाहिने स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ तर, सुशिलाको घरमा खाईने दैनिक खानाको मात्रा र पोषण अवस्था निकै चिन्ताजनक थियो । बाल्यकालीन पोषण सुधारका लागि सुनौला हजार दिनमा आमा पार्वता र शिशु सुशिलालाई अत्यावश्यक पर्ने दैनिक ४ प्रकारका खाना खान कहिले पनि पाएनन् । तीनका गर्भवती अवस्थाका दिनहरु कहिल्यै सुनौला वन्न सकेनन् । धेरैका मुख र गाउंमा टांसेका कागजमा हरेक वार खाना चार भन्ने देखेको र सुनेका भए पनि ८ माना धानको वीऊ र ४ माना गहँुको बीऊ लाग्ने जग्गा जमिनवाट उब्जनी भएको खाद्य बस्तुवाट दैनिक ४ प्रकारको खाना खान सुशिलाको आमा, छोरीलाई सम्भव पनि थिएन ।

पोषिलो खानाको अभावले कुपोषणको शिकार बनि सकेकी सुशिलाका बाबा जगदिश र आमा पार्वताले सुशिलालाई उपचारको लागि स्वास्थ्य संस्था सम्म कहिले पनि पुर्याएन् । धर्म, कर्म र जडिबुटीमा बिस्वास राख्ने जगदिश र पार्वताले घरमै धामी, झाक्री र जडिबुटी मात्र गर्ने गरेका थिए । कुपोषणले सुशिलाको अवस्था झनै कम्जोर बन्दै गयो अनि मात्र सुशिलाकी आमा पार्वताले मनरि विकास संस्था (ःम्क्ष्) परियोजनाले सिपखाना लगाएत कालिकोटका केही अन्य गाविसहरुका बालबालिकाहरुलाई बितरण गर्दै आएको सर्बोतम पिठो सम्झिन पुगिन । मनरि विकास संस्थाले बितरण गर्ने सर्बोतम पिठो घरमा ल्याएर सुशिलालाई खुवाएपछि स्वास्थ्यमा केहि सुधार आउथ्यो कि भन्ने पार्वतालाई लागेको थियो तर सुशिलालाई नै देखाएर सर्बोतम पिठो माग्न भने उनलाई समाजको अगाडी लाज लाग्यो । किन की सुशिलाको अबस्था निकै नाजुक बनि सकेको थियो ।

पार्वताले समाजको अगाडी सुशिलालाई देखाएर लाज नहुने एउटै उपाए सुशिलाकै खोपकार्ड देखाउने तर, बच्चा भने सुशिलाकि दिदी लक्ष्मीलाई देखाउने सोचिन र सुशिलाको खोप कार्ड र बच्चा लक्ष्मीलाई काँखमा च्यापेर सर्बोतम पिठो माग्न पार्वता गत कार्तिक २२ गते सिपखाना स्वास्थ्य चौकीमा पुगिन । सुशिलाको खोप कार्डमा लेखिएको नाप, तौल अनुसार लक्ष्मीको नमिले पछि अर्को बच्चा ल्याएर आएको भन्ने कुरा स्वास्थ्य चौकीले सहजै पत्ता लागाई हाल्यो । भोलि नै सुशिलालाई ल्याएर स्वास्थ्य चौकीमा आउन सल्लाह दिदै २२ गते पार्वतालाई स्वास्थ्य चौकीवाट घर फर्काईयो ।

खोपकार्ड सहित सुशिलालाई लिएर कार्तिक २३ गते आमा स्वास्थ्य चौकीमा पुगिन तर, स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य कर्मीले कुपोषणले ग्रसित सुशिलाको नाप, तौल लिन पनि निकै कठिनाई महसुस गरिरहेका थिए । निकै कम्जोर अबस्थामा पुगि सकेकी सुशिलाको उपचार सिपखानामा सम्भव नभएपछि स्वास्थ्य कर्मीहरुले २३ गते नै ओटी सेन्टर सिउनमा रिफर गरे तर, आमा पार्वताले सुशिलालाई २३ गते नै सिउनमा पुर्याउन सकिनन् । २४ गते ओटी सेन्टर सिउनमा पुर्याईएकी सुशिलाको उपचार त्यहाँ पनि सम्भव भएन र ओटी सेन्टरले २४ गते नै कालिकोट सदरमुकाममा रहेको जिल्ला अस्पताल मान्मामा रिफर गर्यो ।

जिल्ला अस्पताल मान्मा सम्म पुग्नालाई बाटोमा लाग्ने खर्च सम्म नभएकी पार्वताले सुशिलालाई २४ गते नै जिल्ला अस्पतालमा पुर्याउन सकिनन् । सिपखाना स्वाथ्य चौकीमा कार्यरत स्वास्थ्य कर्मी हंसराज न्यौपानेले सुशिलालाई जिल्ला अस्पाल सम्म पुर्याउनै पर्ने सल्लाह दिदै आमा पार्वतालाई एक हजार रुपैया बाटो खर्च दिएर कार्तिक २५ गते मान्मा पठाए तर, मान्मा लिदै गर्दा सुशिलाको बाटोमै दुखान्तपूर्ण निधन भएको थियो ।

१४ महिने बालिका सुशिलाको मृत्युको घटना प्रति निकै गम्भिर भएर पोषण सम्बेदनशिल कृषि प्रबद्र्धनका क्षेत्रमा विगत केहि समय पहिले देखि काम गर्दै आएको पहाडी कृषि पारस्थितिकीय प्रणालीमा पोषण परियोजनाको वेभसाईट mबबल मा सुशिलाको फोटो पहिलो पटक सार्वजनिक गरिएको थियो । कालिकोटका सुकाटिया, दहँ, लालु सहित सिपखाना पनि पहाडी कृषि पारस्थितिकीय प्रणालीमा पोषण परियोजनाको कार्य क्षेत्र हो । जिल्ला सदरमुकाम मान्मा देखि उत्तरपुर्वमा रहेको सिपखाना ११ कोष टाडाँको दुरीमा रहेको छ ।sushila2

यो घटना हाम्रो सामाजिक यथार्थको एक नमूना मात्र हो । धेरै सुशिलाहरुको जीवन यसरी नै हाम्रो धर्तीमा विलिन हुंदै जान्छ, तत्काल हामी हाम्रो काम गराईलाई समीक्षा गर्छौं, जिम्मेवार वन्दै जाने प्रतिवद्धता पनि गर्दछौं, समय क्रम संगै हामी प्रतिवद्धता विर्सदै जान्छौं, गंभीर विषयहरु पनि नियमित आकस्मिकता वन्दै जान्छन् ।

कालिकोट जिल्ला जनस्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन कटक बहादुर महतले दिएको जानकारी अनुसार जिल्लामा ५ बर्ष मुनीका बालबालिकाहरु १५ हजार ८ सय २५ जना रहेका छन् भने, ५९ महिना मुनीका बालबालिकाहरु १३ हजार ८ सय ८५ जना रहेका छन् । जसमा सिघ्र कुपोषण भएका बालबालिकाहरुको संख्या ४ सय १२ जनाको रहको छ । ४ सय १२ जना बालबालिकाहरुको सिघ्र कुपोषण एकीकृत व्यबस्थापन कार्यक्रम अन्तरगत सञ्चालित ८ वटा बैरंग उपचार केन्द्रमा उपचार भई रहेको छ भने, मध्यम कुपोषण भएका बालबालिकाहरुको संख्या ८ सय ७७ जना रहेको छ । यिनीहरु मध्य ६ महिना देखि २४ महिना सम्मका बालबालिकाहरुलाई सर्बोतम पिठो दिएर उपचार प्रक्रियालाई अगाडी बढाईएको छ भने, २४ महिना भन्दा माथिका बालबालिकाहरुलाई घरमै पोषिलो खाना बनाएर खुवाउने परामर्श सेवा प्रदान गरिएको छ । उक्त कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयलाई कामना हेल्थ नेपाल र मनरि विकास संस्थाले सहयोग गरि रहेका छन् ।