>

कार्तिक ११, २०७८ बिहीबार

खालि खुट्टा दौडेर सैनिक बन्ने किशोरीको



sport-gudiya_gupta११ पुस, इटहरी- आर्थिक समस्याका कारण ‘स्पाइक सु’ सम्म किन्ने पैसा नभएपछि पूर्वाञ्चलमा जारी बृहत् सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खाली खुट्टै दौडिएर धेरैको आँखामा परेकी किशोरी गुडिया गुप्ता आर्मी बनेर देशको सेवा गर्न चाहन्छिन् । नवलपरासी गुठी पर्सौनीकी गुडिया शनिबार इटहरी रंगशालामा एथलेटिक्सको १५ सय मिटर दौडमा पश्चिमाञ्चल क्षेत्रको प्रतिनिधित्व गर्दै खाली खुट्टा ट्र्याकमा ओर्लिएकी थिइन् ।

निर्माणाधीन रंगशालाको रातो माटोले बनाइएको ‘सेन्डर ट्र्याक’ मा खाली खुट्टा दौडनु उनका लागि कसैलाई सुनाउन नचाहेर पनि लुकाउन नसकेको बाध्यता थियो । जिल्ला र क्षेत्रीय स्तरका प्रतियोगितामा समेत यसरी नै ट्र्याकमा ओर्लने बानी परिसकेकी गुडियाका लागि यो नौलो विषय थिएन ।

राष्ट्रिय प्रतियोगितामा खाली खुट्टा दौडिएपछि भने उनले धेरै कुरा सिक्ने अवसर पाएकी छन् । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खाली खुट्टा दौडन निषेध गरिएको छ भन्ने पनि उनले बुझ्ने अवसर पाइन् । यद्यपि खाली खुट्टा दौडनु उनको बाध्यता थियो । १८ वर्षीया यी किशोरीले आफ्नै गाउँ गुठी पर्सौनीमा सामना गर्नुपरिरहेको समस्या कम उदेकलाग्दो छैन ।

स्थानीय जनजागृति उच्चमाविमा कक्षा १० मा अध्ययनरत गुडिया सानैदेखि एथलेटिक्स खेलाडी बन्न चाहन्थिन् । उनको त्यही सपनाले अहिले उनलाई राष्ट्रिय खेलकुद प्रतियोगितासम्म ल्याइपुर्‌याएको हो । गुडियाका बुवा सुरेश गुप्ता सामान्य किसान हुन् । उनको घरमा बुवा र आमा, १७ वर्षका भाइ र १५ वर्षकी बहिनी छन् ।

गुडिया खेलकुदमा लागेपछि गाउँमा उनको कुरा काट्नेको कमी छैन । छोरीबेटीले खेलकुदमा लाग्नु हुँदैन भन्ने मान्यता राख्ने समाजमा गुडियाले खेलकुदमै आफ्नो भविष्य खोज्न थालेपछि उनले ठूलै मानसिक तनावको सामना गर्नुपरेको छ । ‘खेलमा लागेर तिम्रो छोरी बिग्रिई अब यसको देखासिकी गर्दै हाम्रा छोरीचेली पनि बिग्रिन्छन् भनेर गाउँमा धेरैले मेरो बुवाआमालाई दुःख दिन्छन्’, गुडिया भन्छिन् ।

एथलेटिक्स खेल्दा लगाउने पोसाक लगाएर निस्कँदा पनि गाउँमा उनलाई धेरैले गिज्याउँछन् । आफू खेलकुदमा लागेको विषयलाई लिएर नै आफ्नो आमाबुवासँग धेरैले बोलचालसमेत बन्द गरेको दुःखेसो उनले पोखिन् । ‘गाउँमा दौडिन कट्टु र गन्जी लगाउँदा पनि धेरैले कुरा काट्छन्, छोरी बिग्री भनेर कुरा काट्न घरमै आउँछन्’, उनले दुःखेसो पोखिन् । तर यी सब प्रताडनाले गुडियाको सफल खेलाडी बन्ने अभियानमा भने कुनै असर पारेको छैन । उनी भन्छिन्, ‘जसले जति कुरा काटे पनि म सफल खेलाडी भएरै छाड्छु, मेरो आमाबुवाले पनि कसैको कुरा नसुनी मलाई प्रोत्साहन गरिरहनुभएको छ ।’

समाजमा आफूमाथि हुने व्यवहारले गुडियाको मनमा ‘ईख’ पलाएको छ । त्यसैले एथलेटिक्स खेलाडीसँगै उनले अर्को सपना पनि पालेकी छन्, आर्मी बन्ने । ‘म भविष्यमा आर्मी बन्न चाहन्छु अनि मेरो कुरा काट्ने समाजमा सफल भएर देखाउँछु’, उनी भन्छिन् । आफ्नो समाजमा छोरीलाई छिट्टै विवाह गरी पठाउने चलन रहेकाले आफूमाथि पनि बिहेको दबाब पर्न थालेको उनी बताउँछिन् । ‘तर म अहिले कुनै पनि हालतमा विवाह गर्दिनँ । आर्मी बनेपछि मात्र बिहे गर्छु’, उनी भन्छिन् ।

आफ्नो लक्ष्य प्राप्तिका लागि गुडियाले परिश्रम पनि निकै गरेकी छन् । उनी बिहान ४ बजे दौडन निस्किन्छिन् । बिहान दौडँदा उनकी बहिनी पनि सँगै हुन्छिन् । उनकी बहिनी पनि खेलाडी बन्न चाहन्छिन् । तर भाइको भने खेलाडी बन्ने चाहना छैन । भारतको सिमानासम्म दौडिएर फर्किएपछि उनी घरधन्दामा आमालाई सहयोग गर्छिन् । त्यसपछि खाना खाएर स्कुल पुग्छिन् । स्कुलबाट फर्किएपछि गृहकार्य सकेर पुनः अभ्यासमा निस्किन्छिन् । साँझ ७ बजे खेलेर फर्किएपछि फेरि भान्छामा आमालाई काममा सहयोग गर्छिन् । त्यसपछि केहीबेर अध्ययन गरेर राति १० बजेमात्र सुत्न ओछ्यानमा जान्छिन् ।