>

श्रावण ५, २०७८ मंगलबार

८ वर्षे विधवाका ३१ हजार एक्ला रात



hari-maataझापा – उनताका पढाउने चलन त्यति थिएन, त्यसमा पनि छोरी चेली । त्यसैल ७ वर्षकै बालापनमा अर्कैको सिन्दुर पहिरीन् । ‘त्यो बेलाको चलनै त्यस्तै ७ वर्षमा अर्काको घरमा पठाए’ ९३ वर्षिया हरीमाता ८६ वर्ष अघिको कुरा झल्झलि सम्झिन्छिन् । भोजपुरको काउले गाविसमा जन्मे–हुर्केकी हरीमाया पौडेलकी छोरी हुन्, तर अहिले झापाको सताक्षीधामममा उनलाई सबैले हरीमाता भनेर बोलाउँछन् ।
अहिलेसम्म उनको परीचय अर्कै हुन्थ्यो होला, अरु कुनै भूमिकामा हुन्थिन होला, यदी उनलाई बिबाहको १ वर्षमै श्रीमानले छाडेर नगएको भए । तर ८ बर्षको केटाकेटी उमेरमा एक्लै छाडेर श्रीमान परलोक भएपछि उनले दोश्रो बिबाहबारे सोँच्नसम्म पनि भ्याईनन् र आमाले पनि छाडेर गएपछि भगवानको सेवामा लागिन् । ‘म ३६ वर्षकी थिएँ, आमा पनि बित्नुभयो,’ उनी भन्छिन ‘आफ्ना कोही नभएपछि भोजपुरमा पनि मन्दिरमै बस्न थालेँ, ३५ सालमा सताक्षीधाम हेर्न आएकी थिएँ, त्यसपछि यतै बसिरहेकी छु।’
धाममा आफूजस्तै बृद्धबृद्धा अरु भएपनि उनीहरुमध्ये जेठी हरीमाता नै हुन् । आफूलाई बुढेसकालमा हसिँली राखेकी हरीमाता केही दाँतमात्र बाँकी रहँदासम्म पनि आफै पकाएर खान्छिन्, यो उमेरसम्म ।  उनले आफै पकाएर खान थालेको आमा गुमाएपछि हो । अहिले बेलुका घाम अस्ताउनुभन्दा अगाडि नै खाइसक्छिन् तर बिहान भने मिश्रीपानीमा दिन वित्छ ।  ‘पुसको जाडो, बिहान सबेरै उठेर मिश्री र तातोपानी पिएपछि घाम तापेर बस्छु, पकाउन सक्दिन’ उनी भन्छिन् ‘साँझ त सकि नसरी पावस खानैप¥यो ।’  उज्यालो हुँदै खाना खाएर ओछ्यानमा पल्टिने उनलाई रातभर निन्द्रा लाग्दैन । ‘जाडो साह्रै हुन्छ, अब त रोगले समातेको छ, ऐया ऐया गरेरै रात बित्छ,’ उनले दुःअ पोखिन् ।
सताक्षीधाम परिसरमा हरिमाताहरु बस्ने सानो कुटी छ । त्यहीँ सुत्छिन् उनी। भक्तजन र दाताले दिएको बर्की छ, त्यसैले जाडो कटाउँदैछिन्। मन्दिरमा आउने भक्तजनले कहिलेकाँही चामल दिन्छन, पैसा पनि दिन्छन्। त्यही चामलको खाना बनाएर खाने गरेको उनले सुनाइन्। ‘भगवानले आजसम्म भोकै चाहिँ राखेका छैनन, केही न केही पठाइदिएकै छन,’ उनी सम्झिन्छिन ‘बिहान चाहिँ म भात पकाउन सक्दिनँ, आज पनि बिहान तातो पानी खाएँ, त्यत्ति हो।’ हरिमाताले यसो भन्दा दिउँसो १ बजेको थियो। सताक्षीधामको समिति, धाम परिसरका पसल सञ्चालक र स्थानीयले उनको हेरचाह गर्छन्। बिरामी पर्दा उपचार गर्छन्। उनी सम्झिन्छिन्, ‘छेउछाउकाले सघाउँछन् नि! अस्ति भर्खर साह्रै बिरामी भएँ, १५/१६ सयको दबाई लाग्यो, ३ दिन त पानी नै चढाउनु परो।’ धाम परिसरमा रुखको फेदमा बसिरहन्छिन् उनी। आउने भक्तजनलाई टीका लगाइदिन्छिन्। उनीहरुले दिएको ५/१० रुपैयाँले उनको जीवन धानिएको छ । श्रीमान बितेपछि उनको जीवनमा ३१ हजार २५ दिन वितेका छन्, त्यती नै रातहरु तर सबै एक्लारात उनी भगवान जपेर विताउँछिन् ।