>

कार्तिक ११, २०७८ बिहीबार

ड्राइभिङतर्फ महिला आकर्षण



 Driving

काठमाडौं – ४५ दिने ड्राइभिङ क्लासको २० दिन नाघ्यो । इचंगुनारायणमा ड्राइभिङ सिक्दै गरेकी उनलाई कहिले क्लास सकिएला र ट्रायल दिएर लाइसेन्स लिउँ जस्तो भएको छ । नागार्जुन नगरपालिकाकी २६ वर्षीया विमला खरेलले विभिन्न कारणवश पढाइलाई निरन्तरता दिन सकिनन् । ५ कक्षा पढेर छाडेकी उनी अहिले एक संस्थाबाट ड्राइभिङको तालिम लिइरहेकी छिन् । ‘सुरुमा हात खुट्टा काँप्थ्यो । अहिले त राम्ररी चलाउन सक्छु,’ उनले भनिन् ।

ड्राइभिङ सेन्टरमा गएर निजी वाहनका लागि नभई सार्वजनिक चलाउन चारपांग्रेको ड्राइभिङ सिक्ने कुरो गर्दा आफ्नो खिल्ली उडाइएको अनुभव छ उनीसँग । त्यसबेला सिक्न नसके पनि अहिले उनी उत्साही छिन् । उनी मात्र होइन उनको ड्राइभिङ सिक्ने र आफैंले सवारीसाधन किनेर व्यवसाय गर्ने निर्णयबाट परिवार पनि खुसी छ । उनले योजना पनि बनाइसकेकी छिन् दिउँसोभरि आफैं टयाक्सी चलाउने बेलुका भाडामा दिने ।

रामकोटकी २८ वर्षीया रमिला खडका पनि एक गैरसरकारी संस्थाको सहयोगमा ड्राइभिङ सिकिरहेकी छन् । उनले पनि भर्खरै सिक्न थालेकी हुन् । ‘टेम्पो चलाउने रहर थियो । साना गाडी हटाउने कुरो चल्दै छ । त्यसैले निर्णय लिन सकेकी छैन,’ व्यवसायबारे दुविधामा रहेकी उनले भनिन् ।

महिलाहरूको आत्मविश्वास देखेर उनीसहित ६ जनालाई प्रशिक्षण दिइरहेका मनीष खत्री पनि खुसी छन् । लगभग ८ वर्ष प्रशिक्षकका रूपमा बिताइसकेका उनी भन्छन्, ‘पहिले स्कुटर सिक्ने महिला बढी आउँथे अहिले मोटरसाइकल र कार सिक्ने पनि धेरै छन् ।’ हिजोआज व्यावसायिक रूपमै सवारी चालक बन्न चाहने महिलाको संख्या बढिरहेको छ । उनीहरू पनि सवारी चलाउने पेसाप्रति आकर्षित बन्दै गएका हुन् ।

अर्का प्रशिक्षक सहदेव खत्री बढी उमेरका महिलालाई सिकाउन गाह्रो हुने बताउँछन् । उनको अनुभवमा ड्राइभिङ सिक्न आएका अधिकांश महिला विदेश जाने योजनामा हुन्छन् । केही भने आफ्नै सवारीसाधन भएकाले चलाउन सिकिरहेका हुन्छन् । ‘कोही त रहरले मात्र सिक्न चाहने पनि छन् । आफैं व्यवसाय गर्छु भनेर सिक्ने पहिलेभन्दा बढी छन्,’ उनले भने ।

सानो कार मात्र नभई आफूले काम गर्ने बसकै ड्राइभर बन्ने रहर छ २२ वर्षीय चेतकुमारी बस्नेतको । १ वर्षदेखि गाडीमा कन्डक्टरको काम गरिरहेकी उनी अब ड्राइभर बन्ने लक्ष्यमा छिन् । ‘काम गर्ने संस्थाले नै ड्राइभिङ सिकाउने भनिरहेको छ,’ बस्नेतले भनिन्, ‘घरबाट पनि सिक्नुपर्छ भन्नुहुन्छ । चाँडै सिकेर आफैं गाडी चलाउने इच्छा छ ।’ उनी मात्र होइन उनका अन्य साथी पनि ड्राइभिङ सिक्न आतुर छन् । ७ कक्षा पढदापढदै छोडेकी मकवानपुरकी सीता स्याङतानको लक्ष्य पनि बसको चालक बन्ने हो । उनीसँग सिलाइकटाइको सीप पनि छ । तर, कन्डक्टरका रूपमा बसमा काम गर्न थालेदेखि ड्राइभिङतिर आकर्षित भइन् । अब सवारी चालककै पेसा अपनाउने उनको भनाइ छ ।