बैशाख २६, २०८१ बुधबार

तीनतीन वटा घर बिग्रेको मान्छेसंग शिल्पाको विवाह हुने



silpa_pokhrel

काठमाडौं – चल्तीकी नायिका शिल्पा पोखरेल जीवन र करियरको नयाँ मोडमा आइपुगेकी छन् । छविराज ओझाको लगानीमा बनेको चलचित्र ‘लज्जा’बाट रजतपट डेब्यु गरेकी उनी छविसँगै विवाह गर्ने निर्णयमा पुगेकी छन् । छवि क्याम्पबाट नायिका रेखा थापालाई रिप्लेस गरेकी शिल्पा र छविबीचको सम्बन्धको चर्चा सुरुदेखि नै भएको हो । ‘अब एक वर्षभित्रमा हाम्रो विवाह हुन्छ’, शिल्पाले भनिन्, ‘बुवाआमालाई बल्लबल्ल मनाएँ । तीनतीन वटा घर बिग्रेको मान्छे, उमेर पनि मिल्दैन । जीवन के होला भनेर सुरुमा चिन्ता लिनुभयो । तर उहाँको वास्तविकता बुझाएपछि मान्नुभयो ।’

पहिलो चलचित्रमै निर्मातासँग नाम जोडिँदा सुरुमा शिल्पालाई निकै नरमाइलो लागेको थियो । करियरको प्रारम्भमै अनेक गसिप बेहोरेकी उनको मन निकै डराएको थियो । तर हरेक अप्ठ्यारामा उनलाई छविले साथ दिए । एकपछि अर्को गर्दै राम्रा चलचित्रमा अभिनय गर्ने मौका पाइन् । लज्जापछि हबलदार सुन्तली, साँघु, वृन्दावन, फागु, किस्मत २, हामी शरणार्थी, मंगलम्जस्ता चलचित्रमा अभिनय गरेकी उनी अहिले चलचित्र भिलेनको तयारीमा छिन् ।

अब एक वर्षभित्रै हाम्रो विवाह हुन्छ । बुबाआमालाई बल्लबल्ल मनाएँ । तीनतीन वटा घर बिग्रेको मान्छे, उमेर पनि मिल्दैन । जीवन के होला भनेर सुरुमा चिन्ता लिनुभयो । तर उहाँको वास्तविकता बुझाएपछि मान्नुभयो ।

चलचित्र ‘किस्मत २’ प्रदर्शनका बेला निर्माता छविराज ओझाले शिल्पालाई विवाह गर्ने बताएका थिए । तर त्यो कुरालाई कतिपयले चलचित्रका लागि ‘गसिप’मा रूपमा लिए । छविको प्रस्तावलाई शिल्पाले स्विकारेपछि विवाह लगभग पक्का भएको छ । ‘उहाँको विवाह प्रस्ताव मेरो लागि स्विकार्य थियो तर मैले बुबाआमासँग कुरा गर्नु भनेँ । उहाँ घर आउनुभयो’, शिल्पाले भनिन्, ‘उहाँहरूबीच कुरा हुँदा म अर्को रुममा बसेको थिएँ । कुरा मिल्यो ।’

छविको धेरै कुराबाट उनी प्रभावित छिन् । ‘राम्रा र नराम्रा पक्ष छलंग देखाइदिनुहुन्छ, गाइड गर्नुहुन्छ’, उनले भनिन्, ‘गाली पनि गर्नुहुन्छ त्यसबाट कमी, कमजोरी सुधार्ने मौका पाइन्छ ।’ तर शिल्पाको बुझाइमा छविले सुधार्नु पर्ने पक्ष पनि छन । ‘कहिलेकाहीँ मान्छेको अगाडि नै गाली गर्नुहुन्छ । त्यस्तो बानी राम्रो होइन । एकान्तमा यसो हो भने भइहाल्छ नि’, उनले पस्ट्याइन् ।

थोरै समयमा मोडलिङ र अभिनयबाट राम्रो चर्चा र सफलता पाएकी नायिका शिल्पा आफूलाई भाग्यमानी ठान्छिन् । आफ्नो आगमनसँगै नेपाली चलचित्र क्षेत्रको धार परिवर्तनले उनलाई उत्साहित बनाएको छ । ‘अहिले वास्तविक शैलीका चलचित्र बन्न थालेको छ’, शिल्पा भन्छिन्, ‘पहिलेका चलचित्रमा प्रायः नपत्याउने दृश्य, अव्यवाहारिक संवाद हुन्थ्यो । अहिले त्यस्तो छैन ।’ आफूले अभिनय गरेकामध्ये लज्जा र मंगलम् उनलाई चित्त बुझेको चलचित्र हो । नबल नेपाल निर्देशित मंगलम आगामी दसंैको फूलपातीका दिन रिलिज हुँदैछ ।

आफूपछि चलचित्र उद्योगमा आएकामध्ये साम्राज्ञी राज्यलक्ष्मी शाह उनलाई मनपर्ने नायिका हुन् । मंगलम्मा एकसाथ काम गरेकी शिल्पा अर्की नायिका साम्राज्ञीबारे भन्छिन, ‘उनी साह्रै मिलनसार । घमण्ड पनि छैन । कतिपय त बोल्न पनि पैसा लाग्छ जस्तो गर्ने अव्यावहारिक हुन्छन ।’ नयाँ पुस्ताबाट धेरै कुरा सिक्न सकिने शिल्पाको भनाइ छ । ‘म अहिले नयाँ र पुरानाको बीचमा भएजस्तो लाग्छ’, उनी भन्छिन्, ‘नयाँ पुस्ताबाट म सिकिरहेकी छु । आफूलाई कहिल्यै पनि पर्फेक्ट मान्दिनँ ।’

नेपाली चलचित्र क्षेत्रमा पनि ग्ल्यामरस नायिकाको बढ्दो क्रेज उनलाई स्वाभाविक लाग्छ । राम्रो टिम छ र कथामा नभई नहुने अवस्था छ भने आफू पनि हरेक दृश्यका लागि उदार रहेको शिल्पाको भनाइ छ । चलचित्र फागुका काम गर्दा ५६ केजीकी उनी अहिले ५२ केजीमा झरेकी छन् । ‘मेरो प्रयास ४८ केजीमा झर्ने हो’, उनले भनिन् । निर्देशक नवल नेपाललाई गुरु मान्ने उनको दयाहाङ राई, सौगात मल्ल र अनुपविक्रम शाहीसँग अभिनय गर्ने चाहना छ ।

विराटनगरमा जन्मेकी शिल्पा सात वर्षअघि काठमाडौं आएकी हुन् । पाँच वर्षअघि पूर्ण राईले गाएको हल्काहल्का बोलको म्युजिक भिडियोमा पहिलो पटक क्यामेरा फेस गरेकी उनले अञ्जु पन्त र स्वरूपराज आचार्यको तिमी कस्को हुने होला, प्रमोद खरेलको छुट्टिएर तिमीसँग, अञ्जु पन्तकै तिम्रै यादमा भित्रभित्रलगायत लगभग दुई सय म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन । धेरै म्युजिक भिडियोमा मोडलिङ गर्नेमध्येमा उनी पनि पर्छिन् ।