बैशाख १४, २०८२ आईतबार

हुम्लामा अज्ञात रोगबाट तीन महिलासहित ९ जनाको मृत्यू



काठमाडौं – हुम्लाको बिकट गाउँपालिका ताजाकोटमा पहिचान हुन नसकेको रोगबाट तीन महिलासहित ९ जनाको मृत्यू भएको छ ।

ताँजाकोट वडानं. १, २ र ३ मा २६ चैत्रदेखि फैलिएको रोगले दुई सय भन्दा बढी बिरामी छन् ।

गाउँपालिकाका स्वास्थ शाखा प्रमुख धनराज ढकालका अनुसार मृत्यू हुनेमा ताँजाकोट गाउँपालिकाकी ७५ वर्षीया कुसुकली रिठाल, ६० वर्षीय सुरजित खड्का, ५५ वर्षीय वीरबल रिठाल, ५५ वर्षीय रङ्गे काली, पाँच वर्षीया सुनकेस्रा सुनार र ७० वर्षीया अम्मकली मल्ल छन् । त्यस्तै, ५५ वर्षीय लक्ष्य सुनार , ७६ वर्षीय बज्जिरे सुनार र दशमहिने बालक सञ्जीव थापाकाे पनि मृत्यु भएकाे छ ।

शुरुमा टाउको दुख्ने, छाती दुख्ने, वाकवाकी लाग्ने, ज्वरो आउने, पखाला लाग्ने लक्षण देखिएर अन्तमा बिरामीको मृत्यु हुने रोग फैलिएको ढकालले बताए ।

स्थानीय स्वास्थकर्मीले रोगको पहिचान गर्न नसकेपछि आइतबार हेलिकप्टरबाट औषधी र डाक्टर पठाइएको छ ।

“रोग पहिचान र उपचारका लागि सुर्खेतबाट बिहान दुईवटा हेलिकप्टरमा औषधी, ल्यावको सामग्री, ३ जना डक्टरको टोली पुगिसेको छ” कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले भने “उहाँहरुले जाँच गरेर रोग पत्ता लगाएपछि आवस्यकताअनुसार थप व्यवस्था गर्छौँ ।”

सेनाको हेलिकोप्टरमा प्रदेश स्वास्थ्य निर्देशनालयबाट डा. तेजराज भट्टराई, हेल्थ असिस्टेन्ट बलभद्र यादव, ल्याव असिस्टेन्ट धर्म अधिकारीसहितको टोली आवश्यक औषधी र नमूना संकलन गर्ने आवश्यक समाग्रीहरु सहित प्रभावित स्थलमा पुगेको छ ।

छिमेकी जिल्ला मुगुबाट पनि डा। नन्द तिमिल्सेनाको टोली प्रभावित क्षेत्रमा पुगको छ ।

सदरमुकाम सिमकोटदेखि ४५ कोष टाढा रहेको ताँजाकोटमा स्थानीय सरकार र प्रदेश सरकारले वेवास्ता गरेका थिए ।

गाउँमा रोग फैलिएर मानिसहरुको मृत्यु भएपनि गाउँपालिका अध्यक्ष बागचल मल्ल र निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाही सहकारी तालिमका लागि सुर्खेत पुगेका थिए ।

गाउँपालिका अध्यक्ष मल्ललाई यो समयमा गाउँ नछाड्न निर्देशन दिएको पनि मन्त्री रावलले बताए ।

स्वाइन फ्लुको आशंका
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सकहरूले हुम्लामा फैलिएको रुघाखोकी र ज्वरो स्वाइन फ्लु भएको हुन सक्ने आशंका गरेका छन् ।

स्वाइन फ्लु (एचवानएनवान पिडिएम ०९) सँग मिल्दोजुल्दो लक्षण देखिएको उनीहरूको भनाइ छ । महाशाखा प्रमुख डा. लालले सुर्खेतबाट गएको टोलीले नमुना संकलन र परीक्षण गरेपछि मात्रै रोग पहिचान हुने बताए ।

आवश्यक जनशक्ति र रोगको सही पहिचान हुन नसक्दा रुघाखोकी फैलिएको उनले बताए ।