चैत्र १५, २०८० बिहीबार

सासु-ससुरा होइन बुवामुवा भन, बुहारी होइन छोरी मान !



काठमाडौं – कुनै जमाना थियो, सासुले बुहारीलाई हेयको व्यबहार गर्ने र बुहारीले सासुलाई दुस्मनलाई जस्तै देख्ने ।

तर अचेल जमाना फेरिएको छ, जाजरकोटको बारेकोटमा सासुबुहारी आमाछोरी जस्तै व्यवहार गर्छन् । सासुले बुहारी संग र बुहारीले सासुसंग खुलेर आफ्ना समस्या, दुखसुखका कुरा गर्छन् ।
सासुबुहारीको समस्यालाई अझ प्रगाढ र मजबुत बनाउनका लागि गाउँपालिकाले सासुबुहारी कार्यक्रम नै सञ्चालन गरेको छ ।

समाजको विकासक्रम धेरै अगाडी बढीसकेको छ । समाजको विकास संगै विकृतिका रुपमा रहेका सामाजिक, सांस्कृतिक र परम्परागत मान्यताहरु पनि पछिल्लो समयमा तोडिँदै गएका छन् । त्यसैलाई आत्मसात् गर्दै अगाडी बढ्नका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष ओमा शाहीले बताइन् । कतिपय अबस्था सासु बुहारीकै बिचमा बेमेल र मनमुटाबका कारण हिंसाले ठूलो रुप लिएको  हुन्छ । परम्परागत सोचले पनि बिभेद निम्त्याएको भन्दै कार्यक्रमले विचार र व्यवहारमा एकरुपता आउनुपर्नेमा जोड दियो ।

उनका अनुसार गाउँपालिकाले सासु र बुहारीको रुपमा रहेको सम्बन्धलाई आमाछोरीको सम्बन्धमा परिणत गर्ने सासुबुहारीलाई पुरस्कार दिने घोषणा समेत गरेको छ ।

बारेकोट गाउँपालिका वार्ड नं ३ निवासी दिपा सिंह र कौशिला सिंह सासु बुहारी हुन् । पहिले बुहारी कौशिलाले गरेका काम चित्त बुझाउन नसक्ने सासु दिपा सिंहलाई अहिले त्यस्तो लाग्दैन । कौशिलालाई पनि घरमा हुदाँ माइतीको यादले सताउने गथ्र्यो । तर सासुले आमाको जस्तै माया दिएपछि उनलाई एक्लै भएको महशुस हुन्न ।

जति मेहनत गरेर, दुःख गरेर काम गर्दा पनि सासुको चित्त बुझाउन नसक्नेहरु र बुहारीले आफ्नै अविभावक नसम्झनेहरुका लागि यस्तो कार्यक्रम निकै प्रभावकारी भएको छ ।
“पहिला लाग्थ्यो आफ्नै जन्मदिएको आमा भएको भए यस्तो व्यवहार कहाँ हुन्थ्यो र ?” उनी भन्छिन् “तर आजभोली भने हामीहरु सासुबुहारी कम र आमाछोरी बढी ।” दिपा र कौशिलालाई यसरी एकाएक परिवर्तन गराएको हो बारेकोट गाउँपालिकाको जनचेतनामुलक कार्यक्रम सासुबुहारीले नै हो ।

सासु र बुहारीको सम्बन्ध भनेको एकले अर्कालाई देखिनसहने, एकले अर्कालाई दोष थोपर्ने मात्र हो भन्ने बुझाइले घरमा झगडा निम्तिने डर हुन्छ ।

बारेकोट गाउँपालिकाकै हजारी शाहीलाई पनि बुहारी मनपर्ने थिएन । न त बुहारीले गर्ने काम नै । उनी कहिल्यै बुहारीलाई कामको जस दिने गर्दिनथिन् । जब गाउँपालिकाले सासु र बुहारीलाई संगै राखेर सासुबुहारीको सम्बन्ध कस्तो हुनुपर्छ ? सासुले बुहारीलाई कस्तो व्यवहार गर्नुपर्छ ? र बुहारीले सासुलाई कस्तो व्यवहार गर्नुपर्छ भनेर सिकायो त्यसपछि भने उनलाई बुहारी कमला शाहीका हरेक काम मन पर्न थाल्यो । आजभोली सासुबुहारीको सम्बन्ध आमाछोरीको भन्दा कम छैन ।

उत्कृष्ट सासुबुहारीले समाजमा समेत सकारात्मक सन्देश दिन सकुन भनेर यसो गरिएको गाउँपालिका उपाध्यक्ष शाहीले बताइन् । सासुले बुहारी भएपछि सासु भएकी हुँ र बुहारीले सासु हुने हो भनेर सम्झ्यो भने सासु र बुहारीको सम्बन्धमा समस्या नहुने धारणा शाहीको छ । उनले आगामी दिनमा पनि सासुबुहारीको सम्बन्ध थप प्रभावकारी होस् भनेर दुई लाख बजेट बिनियोजन गरेको जानकारी दिइन् ।

“पहिला पहिला सासुले बुहारीलाई दमन गर्ने, यो भएन त्यो भएन भन्ने हुन्थ्यो तर अहिले सासुलाई त मुमा भन्ने प्रचलन आइसकेको छ । मुमा भनेको त धेरै फरक रहेछ है । मुमा भन्दा बुबा भन्दा खेरी मनमा भएका कुरा व्यक्त गर्दारहेछन ”, उनले भनिन् “जस्तै छोरी उस्तै बुहारी । जस्तै आमा उस्तै सासु हो भनेर माया गर्ने, सम्मान गर्ने गर्नुभयो भने पुरस्कार दिन्छौ पनि भनेका छौ । ”
उनका अनुसार पुरानो कुसंस्कार मेट्नुपर्छ भन्ने परिवर्तन भएका छन ।

बारेकोटमा यस्ता उदाहरणहरु छन् जो पहिला सासुबुहारी थिए अहिले आमाछोरी जस्तै छन् । सासु
मनमति सिंह र बुहारी बालकुमारी , सासु विना कुमारी सिंह र बुहारी गौरी सिंह, सासु देवी शाही र बुहारी प्रेमकला शाही तथा सासु कल्पना शाही र बुहारी दिल्ली शाही नमुना सासु बुहारीका उदाहरण हुन् ।

पहिला पहिला मनमुटाब हुने भएका कारण बृद्धाअबस्थामा हेला गर्ने छोराबुहारीहरु बृद्धा अवस्थाका आमा सासुको कुरा बुझेर झगडा गर्दैनन् । माया ममता र सद्भाव छ ।

“छोराबुहारीले आमाबुवालाई जस्तै व्यवहार गर्नुपर्यो भन्ने व्यवहार विकास भएको छ” उपाध्यक्ष शाही भन्छिन् “छोराछोरी हुदाँहुदै पनि बृद्धाआश्रममा पठाउने गर्दा त्यो आमाको मन कति दुख्छ होला, भन्ने बुझेका छन् ?”