जेष्ठ ४, २०८१ शुक्रबार

एकपटक चार्ज गरेपछि १ सय १६ किलोमिटरसम्म कुद्ने स्कुटर नेपालमा भित्रिने



नेपालमा भारतीय ईलेक्ट्रिक स्कुटर निर्माता कम्पनी प्युअर ईभीका दुई मोडलका ईलेक्ट्रिक स्कुटर भित्रिने भएका छन् । ह्वाइट लोटर्स मोटर्सले प्युअर ईभीका ई–प्लुटो ७ जी र ई–ट्रान्स प्लसको केही दिनमै नेपालमा बिक्री शुरु गर्ने भएको हो ।

अबको १ साता भित्रै यी दुई स्कुटरको बिक्री शुरु गरिने ह्वाइट लोटस मोटर्सका म्यानेजिङ डाइरेक्टर अशोक खड्कीले बताए । ह्वाइट लोटर्सले काठमाडौंको नक्सालमा शोरुम सञ्चालनमा ल्याइसकेको छ ।

ई–प्लुटो ७ जी स्कुटरमा २.५ किलोवाटको ब्याट्री र १.५ किलोवाटको मोटर छ । यो स्कुटरलाई एकपटक चार्ज गर्दा ११६ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।

यस्तै, ई–ट्रान्स प्लस स्कुटरमा १।२५ किलोवाटको ब्याटी र २५० वाटको मोटर छ । यसलाई एक पटक चार्ज गर्दा ६२ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।

मूल्यका हिसावले ई–प्लुटो ७ जी स्कुटर नेपाली बजारमा २ लाख ४९ हजार रुपैयाँमा उपलब्ध हुने छ । यस्तै, ई–ट्रान्स प्लस स्कुटर भने १ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने छ ।

कम्पनीले दुईवटै स्कुटरमा ३ वर्षको वारेन्टी र २ वर्षसम्म फ्रि सर्भिसिङको स्किम पनि दिएको छ ।

भारतमा बिक्री हुने विद्युतीय दुई पाङ्ग्रे सवारीमध्ये प्युअर स्कुटरले २० प्रतिशत बजार हिस्सा ओगटेको बताइन्छ । भारतीय बजारमा राम्रै खाले प्रतिक्रिया पाएको कम्पनीले नेपाली बजारमा पनि युवा पुस्ताको मन जित्ने अपेक्षा गरिएको छ ।

पर्यावरणीय सन्तुलन कायम गर्ने भन्दै पछिल्लो समय विश्वभर नै विद्युतीय सवारीको उत्पादन र प्रयोग बढ्दै गइरहेको बेला नेपालमा पनि विद्युतीय सवारीको प्रयोग बढ्दै गएको छ ।

नेपाली बजारमा अहिले करिब आधा दर्जन ब्राण्डका विद्युतीय दुई पाङ्ग्रे सवारी साधनहरु छन् ।