चैत्र १६, २०८० शुक्रबार

किशोरावस्थामा परिवार नियोजनको साधन प्रयोग बाँझोपना हुन्छ भन्ने धारणा कति सत्य ?



किशोरावस्था भन्नाले १० देखि १९ वर्ष उमेरका केटा वा केटीलाई बुझाउ‘छ । किशोरावस्था बाल्यअवस्था देखि वयस्क अवस्थामा प्रवेश गर्ने क्रममा शारीरिक, मनोवैज्ञानिक एवम् सामाजिक परिपक्वता हासिल गर्ने परिवर्तनशील अवस्था ।

विवाहित मात्रै होईन अविवाहित किशोर किशोरीहरु पनि यौन क्रियाकलापमा सक्रिय हुन्छन् र थुप्रै कारणले गर्दा उनीहरुको गर्भनिरोध सम्वन्धी आवश्यकतालाई विशेष रुपमा विचार गर्नु पर्छ ।

हाम्रो समाजमा विभिन्न कारणले गर्दा किशोरावस्थामा नै विवाह गर्ने चलन धेरै छ । यस अवस्थामा विवाह गर्नाले निम्न प्रकारका नकारात्मक असरहरु देखा पर्दछन ।

o कम उमेरमा नै गर्भवती हुने र यसबाट विभिन्न जटिलताहरु भोग्नु पर्ने
o उचित शिक्षा तथा आवश्यकत सीप सिक्ने तथा वृत्ति विकासको अवसर गुम्ने
o पढाइ र सीपको कमीले राम्रो रोजगारी पाउन नसक्ने
o सामाजिक तथा पारिवारिक दायित्व बढ्ने

माथि उल्लेखित कारणले गर्दा सकेसम्म किशोरावस्थामा विवाह गर्नु राम्रो होइन र यदि विवाह भएमा पनि उमेर नपुगी बच्चा जन्माउनु राम्रो होइन । बीस वर्ष पुगे पछि मात्र पहिलो बच्चा पाउनु उपयुक्त हुन्छ । यसको लागि दम्पतीले आफुलाई उपयुक्त हुने परिवार नियोजनको उपाय अपनाउनु पर्दछ ।

हाम्रो समाजमा किशोरावस्थामा र कुनै पनि बच्चा नभएको दम्पतीले परिवार नियोजनको साधन प्रयोग गर्नु हुदैन र यदि गरेमा पछि बच्चा जन्माउन नसक्ने अर्थात बॉझोपना हुन्छ भन्ने धारणा छ । वास्तवमा यो कुरा सत्य होइन । विभिन्न अध्ययनहरुले यो कुरा सॉचो होइन भन्ने प्रमाणित गरि सकेको छ । किशोर अवस्थामा पनि अन्य अवस्थाका व्यक्तिहरुले झै आफुलाई उपयुक्त परिवार नियोजनका कुनै पनि साधन प्रयोग गर्न सक्छन् । यसका लागि महिला स्वास्थ्य स्वयंसेविका वा स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्दछ ।

आजभोलि परिवार नियोजनको सेवा उपलव्ध भएका सरकारी तथा गैरसरकारी सेवा केन्द्रहरुमा विवाहित तथा अविवाहित व्यक्तिहरुलाई पनि परिवार नियोजनको सेवा विना अवरोध उपलव्ध छ ।

किशोरअवस्थामा कहिले काही विना योजना यौन क्रियाकलाप हुने सम्भावना पनि धेरै हुन्छ । त्यस्तो अवस्थामा अनिच्छित गर्भ रोक्नको लागि आकस्मिक गर्भ निरोधका साधन प्रयोग गर्न सकिन्छ । तर यसलाई नियमित रुपमा प्रयोग गर्नु हुदैन । यदि आफुलाई गर्भको इच्छा छैन भने उपयुक्त परिवार नियोजनको साधन प्रयोग गर्नु अति बुद्धिमानी हुन्छ ।