>

कार्तिक ११, २०७८ बिहीबार

फेरिएका गृहणी : घरखर्चमा श्रीमानलाई सघाउँदै



महेन्द्रनगर,- साधारण लेखपढ गर्न जान्ने कञ्चनपुरको बेलौरी नगरपालिका–३ पडावकी कमला चौधरी गाउँमा महिलाले सञ्चालन गरिरहेको कृषि सहकारीको अध्यक्ष छन् ।

आठ वर्षदेखि सञ्चालनमा रहेको सम्झना महिला कृषि सहकारी संस्थाले रु ४३ लाखको आर्थिक कारोवार गरिरहेको छ । यसबाट गाउँका विपन्न, सुकुम्वासी, मुक्त कम्लहरी र दलित महिला प्रत्यक्ष लाभान्वित भएका छन् ।

सहकारीमा १० कृषि समूह आवद्ध रहेका छन् । उनले गाउँका अधिकांश महिला अहिले आयमूलक व्यवसायमा आवद्ध हुने क्रम बढेको जानकारी दिइन् । “मैले सहकारी हाँकिरहेको भए पनि च्याउखेती, माछापालन र तरकारी खेती गरेर जीविकोपार्जन गरिरहेको छु ।” अध्यक्ष चौधरीले भनिन्, “व्यवसायमा सघाउ पु¥याउन स्थानीय तह र दातृ निकायले प्राविधिक तथा बीउबिजनको सहयोग हुँदै आएको छ ।”

करिव २८५ महिला शेयर सदस्य रहेको सहकारीमा दुई मुक्त कम्लहरी व्यवस्थापक र कर्मचारी नियुक्त गरिएका छन् । शुरुआतमा मुक्त कम्लहरीको समूहले सञ्चालन गरेको उक्त सहकारीबाट आयमूलक काममा लागेका महिलाले तरकारी, माछा र च्याउका लागि बजारको समस्या नरहेको जनाइएको छ ।

त्यसैगरी तीन वर्ष कम्लहरी बसेर मुक्त भएकी रामवती राना पनि व्यवसायसँगै सहकारीको व्यवस्थापक छन् । “सात वर्षकै उमेरमा कम्लहरी बस्न बाध्य भएँ”, उनले भनिन्, “पछि गएर बुवासँगै सरहकारी र कृषि पेशा सम्हाल्न थाले ।”

त्यसैगरी गाउँमा रहेका दलित महिलाले पनि समूहमा माछापालन व्यवसाय गरेर मुनाफा कमाइरहेका छन् । बीस दलित महिला आवद्ध अमृत दलित महिला माछापालन समूहले डेढ बिघा खेतमा पोखरी निर्माण गरेर आयआर्जन गरिरहेको छ ।

“कृषि ज्ञान केन्द्रले दिने अनुदान हामीसम्म कहिल्यै पुग्दैन”, समूहकी अध्यक्ष विश्वमाया पार्कीले भनिन्, “हामीलाई माछाका भुरादेखि पोखरी निर्माणसम्म नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ एनएनएसडब्लुए बाट सहयोग मिलेको छ ।”

यसरी आयमूलक काममा ग्रामीण बस्तीका महिला आधा दशकयता सक्रियरूपमा लागिपरेको भए पनि उनीहरुलाई सरकारबाट उपलब्ध हुने अनुदान तथा सहयोगबारे अझै अनभिज्ञता रहेको देखिन्छ । सम्झना महिला कृषि सहकारीका अध्यक्ष कमला चौधरीले सहकारीमा आवद्ध महिला किसान मासिकरूपमा बचतसमेत गर्दै आएको बताइन् ।

“शुरुआतमा मासिक रु पाँच बचत गरेका थियौँ”, उनले भनिन्, “अहिले रु १०० बचत हुन्छ भने शेयर सदस्यलाई काम गर्न रु २० हजारका दरले सस्तो ब्याजका ऋण लगानी गरिरहेका छौँ ।” नगदे बालीका रूपमा तरकारी तथा च्याउखेतीमा सक्रिय महिला आयमूलक व्यवसायमा लाग्नुअघि गृहणी जीवन बिताइरहेका थिए ।

त्यसैगरी स्थानीयवासी गीता चौधरीले आफूहरु प्याजको बेर्ना उत्पादनमा लागेको बताइन् । उनले च्याउखेतीसँगै यस वर्षबाट प्याज खेतीमा पनि लागेको बताइन् । समूहमा आवद्ध चौधरीले प्याजको बेर्ना गाउँमा पोषणयुक्त आहाराका लागि भन्दै गर्भवती महिलालाई बेर्ना वितरण गर्दै आएको जानकारी दिइन् ।

उनले उत्पादन गरिएको तरकारी, च्याउ र माछा बिक्रीका लागि महेन्द्रनगर, धनगढी र अत्तरियासम्म पु¥याउने गरिएको बताइन् ।

“अहिले यहाँका महिला व्यवसाय गरेर आम्दानी गर्दै आत्मनिर्भर पनि बनिरहेका छन्”, उनले भनिन, “अब अरुको खेतमा मजदुरी गरेर जीविका चलाउनु पर्दैन ।” उनले महिला शसक्तीकरणका लागि राज्यले पनि ध्यान दिनुपर्ने बताइन्।

त्यसैगरी बेलौरी नगरपालिका–३ का वडाध्यक्ष नेत्रराज गिरी महिला उत्साहका साथ तरकारी खेती, च्याउखेती गर्नुका साथै गाउँमा नमूना सहकारी सञ्चालन गरेको बताइन् । “गाउँमा कृषि प्राविधिकको निकै खाँचो थियो”, उनले भनिन, “एनएनएसडब्लुएले जनशक्ति गाउँमै उपलब्ध गराइदिएपछि सहज भएको छ ।”

उनले सम्बन्धित सरकारी निकाय र किसानबीच समन्वयको अभाव देखिएको बताइन् । जिल्लामा विभिन्न शीर्षकमा अनुदान खुल्ने गरेको भए पनि सोबारे ग्रामीण बस्तीका किसानसम्म जानकारी कमै मात्रामा पुग्ने गरेको अध्यक्ष गिरीको भनाइ छ ।

त्यसैगरी यहाँको लालझाडी गाउँपालिका–२ का निराशो राना विसं २०६५ मा दोदा नदीमा आएको बाढीबाट विस्थापित भइन् । विस्थापित भएयता लाझाँडी वन क्षेत्रमा अस्थायी घर बनाएर बसिरहेकी रानाले केही वर्षयता माछापालनमा लागेर परिवारको खर्च चलाइरहेको बताइन् ।

“पोखरी मर्मत र सोलारबाट पानी तान्ने व्यवस्था दातृ निकायबाट भएपछि हामी महिला समुह बनाएर नै व्यावसायिक रूपमा माछापालन गरिरहेका छौँ”, उनले भनिन्, “श्रीमान् एक्लैको कमाइले चलेको घरमा हाम्रो आम्दानीले थप आशा जगाएको छ ।”

रानाका श्रीमान् गाउँमा मिस्त्री काम गर्छन् । “दुवैको कमाइले छोराछोरी पढाउनेदेखि घरको नुनतेलको जोहो राम्रो भएको छ”, रानाले भनिन्, “सुनसान डाँडामा अहिले माछापालन फस्टाएको देख्दा मन आन्दित हुन्छ ।”

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ एनएनएसडब्लुए कञ्चनपुरका कार्यकारी निर्देशक अशोकविक्रम जैरुले आफ्नो संस्था लामो समयदेखि महिला, दलित, पिछडिएका वर्गको उत्थान, जीविकोपार्जन र शसक्तीकरणका लागि सक्रिय रहेको बताए ।

“उत्थान जीविकोपार्जन परियोजनामार्फत यहाँका स्थानीय तहमा महिलालाई आयमूलक काममा अग्रसर गराउन अनुदान, प्राविधिक सहयोग, बीउबिजन सहयोगदेखि तालिम प्रशिक्षण हामी दिँदै आएका छौँ”, निर्देशक जैरुले भने, “हाम्रो सानो प्रयासले गरिबको चुल्हो बल्नेदेखि दिनचर्यामै परिर्वतन भएको पाइएको छ ।”

उनले सहयोग पाए युवा आफ्नो बस्तीमै रोजगार पाउन सक्ने खालका काम तमाम रहेको बताए । बेलौरी नगरपालिकामा कोरोना कहरका बीच सर्वे गरेर ३०० प्रभावित युवाको नामावली स्वरोजगार केन्द्रमा बुझाएको उनको भनाइ छ ।

“अहिले १०० प्रभावित युवालाई कृषि तथा लघु उद्योगमा लगाएर हामीले पनि सहयोग गरेका छौँ”, उनले भने, “यसमा सरकारी निकायसितको सहकार्यमा काम गर्न पाइए थप प्रभावकारी हुन्छ ।”

जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख सानुकुमारी बुढा थापाले पछिल्लो समय महिला पनि आयमूलक काममा लागेर आम्दानीको स्रोत बढाउँदै गइरहेको बताइन् । उनले महिलालाई आत्मनिर्भर बनाउन सबै तहका सहकारी र सरोकारवाला निकाय अझ गम्भीर हुनुपर्ने बताइन् ।

“कृषिका लागि एउटा महिला किसान अझै बैंकिङ सेवा लिनसक्ने अवस्था यहाँ देखिएको छैन”, उपप्रमुख बुढथापाले भनिन्, “साथ र सहयोग मिले महिला पनि धेरै अगाडि बढ्न सक्छन् ।” उनले कञ्चनपुरमा शहरभन्दा ग्रामीण भेगमा महिला मेहेनतका साथ कृषिमा लागिरहेको बताइन् । रासस
–––