चैत्र १६, २०८० शुक्रबार

लक्ष्मीको पुजाकाे दिन छोरी जलाउने आमाको २ महिनापछि खुल्यो पोल



गएको कार्तिक २९ गते लक्ष्मीपुजाको दिन, सबैको घरमा लक्ष्मी भित्र्याउन चटारो थियो । झिलीमिली बत्ति बालेर जाग्राम बसेर लक्ष्मीलाई स्वागत गरिरहेका थिए ।

पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीका मनबोध साह तेलीको परिवारले पनि साँझ ६ बजे लक्ष्मीपूजा गरेर ८ बजेतिर सुत्न गए । तर लक्ष्मीको स्वागत गर्नुपर्नेमा मनबोध र श्रीमती की लालमती देवीको मनमा भने राक्षस सवार भयो ।

जब छोरी माना कुमारी आमासँगै सुतिन्, आमा लालमती उठेर श्रीमानसँग सल्लाह गर्न गइन् – ‘मना तल्लो जातको केटासँग लागेकी छ, इज्जत गुमाएर समाजमा मुख देख्न नसक्ने अवस्था आउने भयो के गर्ने ?’

दुवैजनाले सल्लाह गरे आगो लगाएर मारिदिनुपर्छ भनेर । त्यसपछी मनमा राक्षसी रुप लिएर छोरीसँगै सुत्न गएकी लालमतीले छोरी निदाइसकेपछि कपडामा मट्टीतेल छर्किएर आगो लगाइदिइन् । घरमा आगो लागेकोजस्तो देखाउन फुसको छानामा समेत आगो झोसिन् ।

प्रहरीलाई घरमा आगलागी भयो भनेर जानकारी दिइयो । दमकलको सहयोगमा आगो निभाएपछि भित्र माना कुमारीको शव भेटियो । जवकी प्रहरीलाई छोरी भित्रै छ भनेर परिवारका कुनैपनि सदस्यले भनेनन् ।

मनाको शव फेला परेपछि घटनास्थलमा अनुसन्धानका लागि पुगेका प्रहरी अधिकृतलाई शंका लाग्यो । ‘किन छोरी भित्र छ भनेर कसैले भनेनन त ?’ भन्ने प्रश्नको उत्तर खोज्न उनले शवको प्रकृति हेरे, तल खाटमात्रै जलेको छ तर खाँबाहरु जलेका छैन, माथी घरको छानो जलेको छ ।

अर्कोतिर छोरीसँगै सुत्ने गरेकी आमा लालमती देवी सकुशल थिइन् । छोरीको उद्धारका लागि कसैले प्रयास गरेको छैन । घटना शंकास्पद लागेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा सो घटना भवितव्य नभइ तल्लो जातको केटासँग लागेको भन्दै आमा–बुवाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको खुलेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले बताए ।

प्रहरी अनुसन्धानको क्रममा मृतककी भाउजु २२ वर्षीया मनिषा देवीले नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको कुरा एक महिनापछि प्रहरीलाई बताएकी थिइन् ।

अहिले आमा लालमती देवीलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीलाई जलाएको स्वीकार गरेको प्रहरी निरीक्षक थापाले बताए ।

छोरी जलाउने आमा लालमती देवीविरुद्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ भने बाबु मनाबोध भने फरार रहेकोले पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

घटना के हो ?

कक्षा ९ मा पढ्दै गरेकी माना कुमारी शिक्षक रामबाबु चमारसँग होम ट्युसन पढ्थिन् । रामबाबु र मनाको प्रेम सम्बन्ध रहेको आमा लालमती देवीलाई शंका लाग्यो । कात्तिक २७ गते घरबाट एक हजार रुपैयाँ लिएर किनमेल गर्न पोखरिया गएकी छोरीले लेगिज, जिन्स पाइन्ट, पार्चुनको समान, मोजासमेत किनेर ल्याएपछि आमाको शंकालाई बल पुग्यो र रामबाबुले किनिदिएको आशंकामा छोरीलाई कुटपिट समेत गरेकी थिइन् ।

छोरीले इज्जत गुमाएर समाजमा मुख देख्न नसक्ने अवस्था आउनसक्ने निष्कर्ष निकालेका बाबुआमाले छोरी निदाइसकेपछि कपडामा मट्टीतेल छर्किएर आगो लगाएको खुलेको छ ।

आगो लगाएपछि बाहिरबाट ढोका समेत बन्द गरिदिएको आमा लालमतीले प्रहरीसँगको बयानमा बताएकी छन् । बुहारी मनिषादेवीले आगो निभाउन खोज्दा गाली गरेको समेत खुलेको छ ।

छिमेकी नगिना साह आएर आगो निभाउन खोज्दा बाँसको भाटाले टाउकोमा हानेर लखेटेको समेत प्रहरी अनुसन्धानमा खुलेको छ । मृतक मनाका काका पर्ने छिमेकी नगिनाले उनीहरुको प्रेम सम्बन्धमा सघाएका थिए । प्रहरीले घटनामा अरु कसैको पनि संलग्नता थियो कि भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।