बैशाख १, २०८१ शनिबार

लालपूर्जा वितरण गर्दा सम्पत्ति जोड्छु भन्नेलाई कारबाहीको चेतावनी



भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरण गर्दा बिचौलिया मार्फत सम्पत्ति जोड्न खोजे सिधै कारबाही गर्ने चेतावनी दिएकी छन् ।

भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरुलाई काठमाडौंमा निर्देशन दिँदै मन्त्री तुम्बाहाङ्फेले पूर्जा वितरणको क्रममा लोभ गर्नेलाई कारबाही गर्ने चेतावनी दिएकी हुन् ।

‘भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलियाहरु सक्रिय हुन सक्छन्, त्यस्ता व्यक्ति र समूहबाट टाढै रहनुहोला’, उनले भनिन्, ‘पुर्जा दिलाइदिन्छु भनेर पैसा लिएर तपाईँहरुलाई प्रभावित बनाउने समूह आउँछ, यही बेला हो सम्पत्ति जोड्छु भन्ने लागेको छ भने मनबाट हटाइदिनुहोला ।’

उनले आयोगका जिल्ला पदाधिकारीलाई निश्चित अधिकारमात्रै दिइएकोले कोही कसैलाई पनि कानून बिपरित एक इन्च पनि बाहिर गएर काम नगर्न चेतावनी दिइन् ।

‘तपाईंहरुले निश्चित अधिकारमात्रै दिइएको छ । ऐन विपरीत जानुभयो भने कानूनी दायराभित्र आउनुपर्छ । एक इन्च बाहिर जानुभयो भने कारबाही हुन्छ ।’

मन्त्रालयका सचिव टेकनारायण पाण्डेले विगतका आयोगले पूरा गर्न नसकेको बताउँदै आयोगको काँधमा आएको काम जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सरकारले गत सातामात्रै ७७ वटै जिल्लामा अध्यक्षसहित विज्ञ सदस्य र सदस्य गरी तीन–तीन जना नियुक्त गरेको थियो । २३१ जना पदाधिकारीमा २५ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको छ ।

मन्त्रालयका सचिव टेकनारायण पाण्डेले विगतका आयोगले पूरा गर्न नसकेको जिम्मेवारीसमेत यस आयोगको कााधमा रहेको उल्लेख गर्दै जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । आयोगको कामले सरकारको इमेज देखिने भएकाले बिचौलिया र दलालबाट हुने चलखेलप्रति सचेत रहन अपिल गरिन् । कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवाली, सदस्य भीम कार्कीलगायतले आफूहरुमाथि ९ लाखभन्दा बढीलाई जग्गाको लालपूर्जाको स्वामित्व दिने दायित्व रहेकाले जिम्मेवारीपूर्वक काम गर्ने बताए ।