चैत्र १६, २०८० शुक्रबार

राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै



राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेल विराटनगर महानगर र चन्द्रपुर नगरपालिका तथा दोस्रो खेल नेपाल पुलिस र वालिङ नगरपालिबीच हुन लागेका हुन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विराटनगर लिगको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबसँग अङ्क दूरी घटाउने लक्ष्यका साथ मैदानमा उत्रने छ। विराटनगरले हालसम्म छ खेलमा १० अङ्क जोडेर तेस्रो स्थानमा छ । चन्द्रपुर प्रतियोगितामा दोस्रो जितका लागि प्रयास गर्नेछ। लिगको छैटौँ स्थानमा रहेको चन्द्रपुरको छ खेलबाट तीन अङ्क छ।

यसैगरी दोस्रो खेल नेपाल पुलिस क्लब र वालिङ नगरपालिबीच हुनेछ। चौथो स्थानमा रहेको पुलिस क्लब जित निकाल्दै तेस्रो स्थानमा उक्लिने प्रयास गर्नेछ।

वालिङ पनि खेल जितेर आफ्नो स्थान सुरक्षित राख्ने प्रयासमा रहने छ। पुलिस आठ अङ्क जोडेर लिगको चौथो स्थानमा छ भने वालिङ आठ अङ्कका साथ लिगको पाँचौं स्थानमा छ।

प्रतियोगितामा मोरङको विराटनगर महानगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका, स्याङजाको वालिङ नगरपालिका, उदयपुरको चौदण्डगढी नगरपालिका, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब सहभागी रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।