बैशाख ९, २०८१ आईतबार

विश्व व्यापार संगठनमा पहिलो पटक महिला महानिर्देशक नियुक्त



एजेन्सी – विश्व व्यापार संगठन (डब्लुटिओ) को महानिर्देशक नाइजेरियाकी पूर्व अर्थमन्त्री एन्गोजी ओकोन्जो–इवेला नियुक्त भएकी छिन् । उनी डब्लुटिओको इतिहासमै पहिलो महिला महानिर्देशक बन्न सफल भएकी छन् ।

नवनियुक्त ६६ वर्षीया अर्थशास्त्री ओकोन्जो भर्चुअल बिधिबाट भएको निर्वाचनबाट डब्लुटिओको महानिर्देशकमा नियुक्त भएकी हुन् ।  व्यापार क्षेत्रको यस शक्तिशाली संस्थाको महानिर्देशक पदमा नियुक्त भएसँगै उनले सुदृढ डब्लुटिओ धेरै मुलुकको चाहना रहेको बताइन । लगभग निस्कृय र पक्षघातकै अवस्थामा पुगेको डब्लुटिओलाई पुनर्जीवित तुल्याउनु पनि ओकोन्जोको काँधमा ठूलो जिम्मेवारी आएको छ ।

उनले डब्लुटिओका सामुन्ने धेरै चुनौतीहरु रहेका छन् भन्दै मिलेर कार्य गरिए डब्लुटिओलाई अझ बलियो, बढी जीवन्त र आजका यथार्थसँग अझ अनुकूलित बनाउन सकिने बताइन ।

डब्लुटिओलाई विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण उत्पन्न आर्थिक सं’कटबाट मुलुकहरुलाई राहत प्रदान गर्न डब्लुटिओको काँधमा ठूलो जिम्मेवारी आइपरेको छ ।

एक जना पश्चिमी मुलुकका कुटनीतिज्ञले ओकोन्जो महिला भएको वा अफ्रिकाकी भएकैले नछानिएको बताउँदै डब्लुटिओका सामुन्ने उत्पन्न चुनौतीलाई सामना गर्नसक्ने योग्यता, अनुभव र गुण ओकोन्जोमा रहेको स्पष्ट पारिन् । जेनेभामा मुख्यालय रहेको डब्लुटिओ गत वर्ष अगष्टदेखि नै नेतृत्व विहीन थियाे ।  मार्च १ देखि कार्यभार सम्हाल्ने उनको कार्यकाल सन् २०२५ अगष्ट ३१ सम्म हुनेछ ।

एक वर्ष कार्यकाल रहँदै तत्कालीन कार्यकारी निर्देशक रोबर्टो अजिभेडोले राजीनामा गरेपछि डब्लुटिओमा नयाँ प्रमुखको नियुक्ती हुन सकेको थिएन । विश्वका १६४ मुलुक सदस्य रहेको यस संस्थाको नेतृत्व चयन सहमतिका आधारमा गर्ने प्रचलन रहिआएको छ । शुरुमा आठ जना उम्मेदवार रहेपनि गत नोभेम्बरमा तीमध्ये एक व्यक्तिको नाम सिफारिस गरिएको थियो ।

तर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ओकोन्जोको नाममा असहमति जनाएर वि’वाद खडा गरिदिएको थियो । ट्रम्प प्रशासनले दक्षिण कोरियाली व्यापार मन्त्री यू म्युङ–हीलाई नियुक्त गर्न चाहेको थियो । तर अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन नियुक्त हुने पक्का भएपछि म्युङ–हीले आफ्नो नाम सम्भावित सूचीबाट हटाएका थिए ।

अमेरिकी कूटनीतिज्ञ डेभिड बिस्बीले संयुक्तराज्य अमेरिका डा. ओकोन्जोसँग मिलेर कार्य गर्न इच्छुक रहेको बताएका थिए । सन् १९९५ मा डब्लुटिओ स्थापना भएपछि ओकोन्जो कार्यकारी निर्देशक हुने सातौं व्यक्ति हुन ।

नाइजेरियाली ओकोन्जोको महानिर्देशक पदमा नियुक्तिका लागि संयुक्तराज्य अमेरिका, युरोपेली युनियन र अफ्रिकाले समर्थन जनाएका थिए । यतिबेला डब्लुटिओ धेरै किसिमका चुनौतीको घेरामा परेको छ । कोभिड–१९ शुरु हुनुअघि नै विश्व अर्थतन्त्रमा सं’कट देखिएका थिए । डब्लुटिओले व्यापार वार्तालाई सहजीकरण गर्न सकिरहेको थिएन भने संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबलाई मत्थर बनाउन असमर्थ भएको थियो ।