बैशाख ९, २०८१ आईतबार

अब नेपाली बैंकबाटै प्रिपेड डलर कार्ड, अनलाइनबाट विदेशी वस्तु तथा सेवा खरिद गर्न सजिलो



काठमाडौै । अबदेखि नेपाली बैंकहरुले नै विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्रबैंकले वाणिज्य बैंकहरू र राष्ट्रिय स्तरका विकास बैंकहरूलाई परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न अनुमति दिएको हो ।

राष्ट्रबैंकको अनुमति पछि अब नेपाली बैंकहरुले वार्षिक अधिकतम ५०० अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सक्नेछन् । उक्त कार्डमा नेपाली मुद्रासँगको विनिमयदरका आधारमा बैंकहरुले ग्राहकलाई एक वर्षमा अधिकतम ५०० अमेरिकी डलरसम्म जम्मा गरिदिनेछन् ।

उक्त कार्डको प्रयोगबाट नेपाली उपभोक्ताले अनलाइनबाट वस्तु तथा सेवा खरिद गर्न सहज भएको छ । अहिलेसम्म नेपाली उपभोक्ताले अनलाइनबाट विदेशी वस्तु तथा सेवा खरिद गर्नुपरेमा डलर कार्ड बनाएका व्यक्तिहरुलाई खोज्नुपर्ने बाध्यता थियो।

धेरैजसो फेसबुक लगायतका सामाजिक सञ्जालमा विज्ञापन गर्न, कुनै समाचार प्रमोसन गर्न, अनलाइन डोमिनहरु खरिदगर्न तथा अनलाइनबाट कुनै सामान खरिद गर्न चाहेपनि डलर कार्ड लिएका व्यक्तिलाई खोज्दै हिँड्नुपर्ने अबस्था थियो ।

डलरकार्ड प्रयोग गरेबापत कार्ड धनिहरुले अतिरिक्त शुल्क लिने गरेका थिए । तर अब सर्वसाधारण त्यो झण्झटबाट मुक्त भएका छन् ।अहिले बैंकहरुले जारी गर्ने यस्ता प्रिपेड कार्ड अनलाइनबाट वस्तु तथा सेवा खरिद गर्न मात्र भिल्छ । त्यो बाहेक अन्य पुँजीगत खर्चका लागि एटीएम वा प्वाइन्ट अन सेल (पीओएस) मा प्रयोग गरेर पैसा निकाल्न वा तिर्न भने मिल्दैन ।

डलर कार्ड प्रयोगकर्ताले अनलाइनमार्फत् विदेशमा सेवा निर्यात गरेर आर्जन गरेर पैैसा कमाएमा पनि उक्त रकम सोही कार्डमा जम्मा हुने व्यवस्था हुने भएको छ । नेपाल राष्ट्र बैंकले कार्ड जारी गर्ने बैंकहरूलाई कुनै कार्ड प्रयोगकर्ताले विदेशमा सेवा निर्यात गरेर आर्जन गरेर प्राप्त गर्ने आय उक्त रकम उसको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्न सक्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

त्यसरी सेवा निर्यात गरेर विदेशबाट पैसा कमाउने नेपाली कार्ड प्रयोगकर्ताले अधिकतम पाँच हजार अमेरिकी डलरसम्म कार्डमा जम्मा गर्न पाउँछन् । तर सो भन्दा बढी हुनेबित्तिकै अनिवार्य रूपमा बैंक खातामा जम्मा गर्नुपर्छ ।

सेवा निर्यात गर्नेले आफूले सेवा निर्यात गरी कमाएको रकममा पाँच सय डलरसम्म सटही लिन सक्नेछन् । उदाहरणका लागि कसैले ३००० डलरको सेवा निर्यात गरेको छ भने सो वर्षमा उक्त व्यक्तिले ३,५०० डलर वा सो बराबरको परिवर्त्य मुद्राको सटही पाउँछ । तर यस्तो सटहीको सीमा वार्षिक अधिकतम ५,००० डलर वा सो बराबरको परिवर्त्य मुद्राभन्दा बढी नपाउने नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।