बैशाख ४, २०८१ मंगलबार

ऋण दिएर चारवर्षदेखि यौन शोषण, पीडक धरौटीमा छुटेपछि महिला विस्थापित  



सोलुखुम्बुको थुलुङ दुधकोशीमा ऋणको ब्याज मिनाहा गरिदिने बाहनामा महिलालाई  चार वर्षदेखि यौन तथा श्रम शोषणमा गरेको घटना बाहिरिएको छ।

रु छ हजार ऋण दिएका दुधकोशी गाउँपालिका–९ का ६८ वर्षीय खड्गबहादुर राईले छिमेकी ४१ वर्षीया महिलालाई ब्याज मिनाहा गरिदिने बाहनामा बारम्बार श्रमसँगै यौन शोषण गरेका हुन् । शोषणमा परेकी ति महिला सदरमुकाम सल्लेरी पुगेर शनिबार आफू अन्यायमा परेको भन्दै न्याय माग्न आइपुगेको बताइन् ।

घटना के हो : ति महिलाले २०७३ साल असार २ गते खड्गबहादुरबाट ब्याज स्वरुप काम गरिदिने शर्तमा रु ६ हजार ऋण लिएकी थिइन् । व्याज तिर्न काममा गएको समयमा उनले यौन शोषण गर्ने गरेको महिलाको आरोप छ ।

घरायसी कामसँगै तीन/चार दिनको अन्तरमा जबरजस्ती शारीरिक सम्पर्क राख्ने र आफूले आफूले इच्छा छैन भन्दा ज्यान मार्नेसम्मको धम्की दिएकोले आफू अप्ठ्यारोमा परेको उनले बताइन्।

‘ऋण लिएपछि मलाई उहाँले घरमा बारम्बार काम गर्न बोलाउन थाल्नुभयो। आर्थिक अवस्था कमजोर भएका कारण उहाँले जे भन्यो त्यही मान्न बाध्य भएँ,’ उनले भनिन्, ‘ऋणको ब्याज तिर्न घरको काम गर्दा दिनभरि थकान भएपनि उसको चाहना पूरागर्न जुनैबेला पनि आफू तयार हुनुपर्ने मेरो बाध्यता थियो ।’ खड्गबहादुरले घाँस काट्न, धान र कोदो रोप्नदेखि अन्य काम गर्न जुनसुकै काम गर्न पनि उनलाई बोलाउने गरेका थिए ।

‘शुरुमा काम गर्न आउनु मलाई ब्याज चाहिँदैन भन्नुभयो। केही समयपछि ऋणको हिसाब गरौँ भन्दा पनि पछि हिसाब गरौँला, किन अहिले गर्नु भन्दै काम लगाइरहे ’, उनले भनिन्। पहिला काममा मात्र लगाएका राईले २०७५ सालदेखि भने निरन्तर यौन शोषणसमेत गर्ने गरेको पीडित महिलाले बताएकी छन्। पहिला पहिला आफ्नै घरमा बोलाएको बेला शोषण गर्ने उनले पछि महिलाको ७० वर्षीय श्रीमान् गोठमा भएको मौकामा घरमै आउने र यौन शोषण गर्ने गरेको महिलाको भनाइ छ।

‘रातको १२ बजेतिर घरमै आएर कोही कसैलाई भनेको खण्डमा ज्यान मारिदिन्छु भन्दै जवर्जस्ती गरेको थियो’, उनले भनिन् । खड्गबहादुरको व्यवहारको विषयमा पीडितको पतिलाई जानकारी भएपछि काम गर्न नजाने निधोमा पुगेकी उनलाई खड्गबहादुरले तत्काल ऋण फिर्ता गर्न ताकेता गरेका थिए। तर आफूहरुसँग फिर्ता गर्ने रकम नहुँदा बाध्य भएर अह्राएको काम गर्नुपरेको महिलाको भनाइ छ।

सम्बन्धका बारेमा परिवारले थाहा पाएपछि  उल्टै खड्गबहादुरका छोराहरुले गत माघ २८ गते महिलाको घरमा पुगेर ज्यान मार्ने धम्की दिएको उनको आरोप छ। उनीहरू घर घेर्न पुगेपछि पति र घरपरिवारसहित छिमेकीलाई समेत घटनाको बारेमा जानकारी भएको थियो । त्यसपछि उनले महिला सञ्जालको सहयोगमा प्रहरीमा जाहेरी दर्ता गरेकी थिइन् । उजुरी दिन जाँदा छिमेकी सबैलाई धाकधम्की दिने गरेकोले खड्गबहादुर देखि गाउँले सबै डराउने गरेको उनीहरुको भनाइ छ। डरका कारण गाउँका महिला अगुवाहरुलाई समेत साथमा लिएर उनी घटनाको विषयमा उजुरी गर्न सल्लेरी पुगेको बताएकी छन् ।

जिल्लामा क्रियाशील अन्तरपार्टी महिला सञ्जालको सहयोगमा गत फागुन १७ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएपछि प्रहरीले सोही दिन सोही दिन खड्गबहादुरलाई पक्राउ गरि अदालतमा मुद्धा दायर गरेको थियो ।

जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले चैत ११ गते खड्गबहादुरलाई रु एक लाख २० हजार धरौटी माग गर्ने आदेश दिएको छ। आफूहरुलाई अदालतले बयानका लागि पनि नबोलाएको र पीडक धरौटीमा रिहा गरेपछि न्याय नपाउने आशङ्का आफूहरुमा रहेको पीडित महिलाको भनाइ छ। उनी रिहा भएपछि अब झनै ज्यान जोखिममा परेकाले गाउँ फर्कन नसक्ने भएकोले पतिसँगै आफू सल्लेरीमा आफन्तकोमा बसिरहेको र सात जना छोराछोरी गाउँमै छिमेकीको घरमा बसेको उनको भनाइ छ।