बैशाख १२, २०८१ बुधबार

विपतमा देश सम्झने यी राजदूतकाे उदाहरणीय काम



काठमाडौं ।  बिहीबार स्पेनले नेपाललाई उपलब्ध गराएको १४ करोडको आवश्यक स्वास्थ्य सामाग्री लिएर स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा काठमाडौं आइन् । शेर्पाले कोभिडका बिरामीको उपचारका तथा राेकथामका लागि ५० थान अक्सिजन सिलिन्डर, २० थान अक्सिजन कन्सनट्रेटर, ७७ वटा भेन्टिलेटर, १४ थान रेस्पिरेटर्स, १ लाख ६४ हजार एन्टीजेन टेस्ट, २.४ मिलियन मास्क, ४२ हजार ५०० पञ्जा र ३० हजार आइसोलेसन गाउन्ज ल्याएकी छन् ।

केही दिन अगाडि खाडी मुलुकमा कार्यरत नेपाली मजदुरहरुले नेपाल सरकारलाई ५६० थान अक्सिजन सिलिन्डर पठाए । त्यहाँको सरकारसँग समन्वय गरेर नेपालीहरूले संकलन गरेका सिलिन्डर तत्काल नेपाल पठाउने व्यवस्था ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले मिलाइन्

सम्बन्धित देशसँग समन्वय गर्ने र सहकार्यको वातावरण मिलाउने यी दुई राजदुतको भूमिका देशमा विपदको बेला उल्लेखनीय देखिएको छ । उनीहरुले आफ्नो देश महामारीसँग जुधिरहेको समयमा सम्बन्धित मुलुकसँग समन्वय गरेर प्रभावकारी रुपमा आफूले गर्नुपर्ने भुमिका निभाएका छन् ।

देशमा कोरोना भाइरसको महामारीले दिनहुँ दर्जनौँको निधन भइरहेको र उपचारका लागि स्वास्थ्य सामग्रीको अभाव भइरहेको बेला राजदूत शेर्पाले स्पेनसँग समन्वय गरेर नेपाल सरकारको कुराकानीको वातावरण मिलाएकी थिइन् । सोही अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्पेनकी विदेशमन्त्री अरन्चा गोन्जालेज लायाबीच टेलिफोन वार्ता भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले टेलिफोन वार्ताका क्रममा नेपाल कोरोना भाइरसको महामारीविरुद्ध जुधिरहेको बेला स्पेनले गरेको सहयोग प्रति विदेशमन्त्री लायालाई धन्यवाद व्यक्त गरेका थिए ।

त्यस्तै राजदूत पराजुलीले नेपालीहरुले संकलन गरेको रकमबाट ५६० थान सिलिन्डर खरिद गर्ने कार्यमा समन्वय गर्नुका साथै त्यहाँको सरकारसँग समन्वय गरेर सिलिन्डर तत्काल पठाउने व्यवस्था मिलाएकी थिइन् । नेपालमा अक्सिजन सिलिन्डरको अभावमा दैनिक कैयौँले ज्यान गुमाउनु परिरहेको अवस्थामा खाडी मुलुक यूएई, कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली मजदुरहरूले स्वतःस्फूर्त रकम संकलन गरेका थिए । ति सिलिन्डर ओमन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको वाइड बडी मार्फत अक्सिजन सिलिन्डर नेपाल आएका थिए ।

राजदूत पराजुलीले नेपाल र नेपालीलाई आपत परेको बेला अक्सिजन सिलिन्डर नेपाल पठाउन पाएकोमा खुशी व्यक्त गरिन्। उनले खाडी मुलुकमा कार्यरत सम्पूर्ण नेपाली कामदारहरूलाई धन्यवाद दिँदै एनआरएनए मध्यपूर्वलाई विशेष आभार प्रकट गरेकी थिइन्।

यी दुई महिला राजदूतले यो समयमा निकै दायित्व पूरा गरेको भन्दै विभिन्न क्षेत्रबाट प्रशंसा समेत भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले उनीहरूको काम निकै सराहनीय भएको भन्दै प्रशंसा गरेका छन् । ‘नेपालका झण्डै ३० वटा कूटनीतिक मिसन छन् र ती मध्ये स्पेन र ओमानबाट नेपालको वर्तमान अवस्थामा यी दई महिला राजदूतले निर्वाह गरेको भूमिका अत्यन्तै सराहनीय छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।