बैशाख ३, २०८१ सोमबार

महिलाले हाँकेको महानगरमा सबैभन्दा कम बेरुजु



चितवन। देशभरका ६ महानगरमध्ये भरतपुर महानगरपालिकाको बेरुजु सबै भन्दा कम देखिएको छ। महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भरतपुर महानगरको बेरुजु सबै भन्दा कम देखिएको हो।

भरतपुरको बेरुजु २.०२ प्रतिशत मात्रै छ। भरतपुर महिलाले हाँकेको महानगरपालिका हो । जहाँ महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरी छन् ।

महानगर प्रमुख रेनु दाहालले कुल बेरुजु मध्ये आधा भन्दा बढी पेस्की बेरुजु रहेको बताइन्। पेस्की बेरुजु छिट्टै फछ्र्योट हुने समेत मेयर दाहालले बताइन्। लेखा परीक्षण हुँदासम्म बेरुजु शुन्यमा झार्ने उनको भनाई छ।

‘यस मध्ये पनि हाम्रो भरतपुरको आधा भन्दा बढि त पेश्की बेरूजु छ। जुन काम सकिएपछि रूजु हुनेछ,’ उनले भनिन्, ‘साथै अब फेरि लेखा परिक्षण गर्दा सम्म बेरूजु शून्यमा झार्ने छौं।’

६ महानगरमध्ये काठमाडौं महानगरपालिकाको बेरुजु सबैभन्द बढी छ। काठमाडौंको ११.८६ प्रतिशत बेरुजु देखिएको छ। काठमाडौं पछि वीरगञ्ज महानगरमा धेरै बेरुजु रहेको छ। वीरगञ्जको ८.२६ प्रतिशत बेरुजु देखिएको छ।

उता ललितपुरको ७.२२ प्रतिशत, पोखराको ७.४२ प्रतिशत र बिराटनगरको ३.२१ प्रतिशत रहेको छ। महानगरको समग्र बेरुजु ७.३८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।