बैशाख ७, २०८१ शुक्रबार

बिरामी परेपछि श्रीमानले छाडे, उपचार गर्ने पैसा नभएपछि गोठमा मृत्यु कुर्दै उमा



गुल्मी । भनिन्छ, ‘जीन्दगीमा सुख दुःख एक सिक्काका दुई पाटा हुन, दुःखपछि सुख र सुखपछि दुःख फर्केर आउँछ ।’ तर
गुल्मीको इस्मा गाउँपालिका– ४ दोहली न्वालाकी उमा घर्तीको जीवनमा यो लागू भएन ।

सामान्य रुपमा जीवन चलेको थियो । एक्कासी दुबै आँखाले देख्न छाडिन् । उमाले बाहिरी संसार नदेखेको ७ वर्ष भयो । केही समय पहिलेसम्म दुवै आँखा नदेख्दा पनि लट्ठीको भरमा हिँडडुल गर्थिन् । छ महिनादेखि कम्मरदेखि तलको भाग पनि चल्दैन । अहिले हर फर्किन पनि अरूको आवश्यकता पर्छ ।

रोगले चापेपछि श्रीमान् बिनबहादुर घर्तीले पनि हेर्न छाडे । त्यसपछि त दिसापिसाबसँगै बिस्तारामा लड्नुको बिकल्प रहेन । उनले दुवै आँखा गुमेदेखि उपचार गर्न, मिठो–मसिनो खान र आरामको कुराको त कल्पना पनि गरेकी थिइनन्, त्यसैमाथि थपिएको अर्को रोगले थप पीडा दियो । पीडाले आँखाबाट आँसु खस्छ । तर, आफ्नै अवस्था देख्न सक्दिनन् ।

उपचार गर्ने त परै जाओस, हेर्ने मान्छे सम्म कोही नहुँदा केही महिनादेखि कल्यारस्थित दिदी सिरकला गुरुङले आफ्नो घरमा लगिन् । उनका ८ र १३ वर्षका छोरा र छोरी मध्ये ८ वर्षीय अनिल बोल्ने मात्र छन् बोल्ने सहारा । तर बोल्नेबाहेक अर्थोक कुनै उपाय छैन । रोगले आमाको शरीर दिनहुँ गाल्दै छ । न उपचार गर्न लैजाने जेथा छ, न सहयोग गर्न आउने कोही आफन्त । आमाको त्यही पीडा हेरेर निरीह बनेका छन् उनी ।

सिरकला पनि एकल बिपन्न महिला हुन् । काम नगरे आफैँले कसरी खाने भन्ने सिरकलालाई चिन्ता छ । त्यससँगै बहिनीको स्याहार र उपचारको दायित्व पनि । ‘सबले आफूले सक्ने बेलासम्म हेर्ने रहेछन् । छोरीले डोहोर्‍याएर मेरोमा ल्याएर छाडी’, उनले भनिन, ‘मैले सकेको गरिरहेकी छु ।ु

सिरकलाले केही ऋण खोजेर गुल्मी अस्पताल पुर्‍याएकी हुन् उमलाई । डाक्टरले थप उपचारका लागि पाल्पा पठाए । तर, उपचारका लागि पैसा नभएकाले घर लिएर आएको गुरुङले दुखेसो पोखिन् । बिस्तराको दिसापिसाबले उमाको ढाड कुहिएको छ । उमा अहिले गोठको छेउमा पशुसरह पल्टिएकी छन् । उपचार र सरसफाइको अभावमा ढाडमा प्वाल पर्दै जान थालेपछि सहयोगको याचना सुरु गरिएको छिमेकी कमल गुरुङले बताए ।

उमालाई आफू बाँच्ने भन्दा छोराछोरी अलपत्र पर्नेमा चिन्ता छ । ‘शरीर कुहिएर सकिन लाग्यो । म त बाँच्दिनँ, छोराछोरी अलपत्र पर्ने भए’, उनले भनिन्, ‘मलाई मभन्दा उनीहरूको पिरलो छ ।’

स्थानीय सरकारले पनि उमालाई हेर्नेबाहेक अरू केही गर्न सकेको छैन । गाउँपालिकाको कार्यविधिअनुसार यातयात खर्चबापत पाँच हजार र सरकारले तोकेका आठवटा रोगका लागि एक लाख रुपैयाँ छुटको सिफारिस दिनेबाहेकको विकल्प नभएको इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले बताए । बिष्टले उपचारका लागि सकेका उपायहरू आफुहरूले पनि निकाल्ने भन्दै सहयोग गर्न सबैलाई आग्रह पनि गरे । न्यूज कारखानाको सहयोगमा