बैशाख १०, २०८१ सोमबार

महिलाले श्रीमानलाई मिर्गौला दिन्छन्, तर श्रीमानले अर्की बिहे गर्छन्



चुलोदेखि कार्यस्थलसम्म विभेदमा परेका महिलामाथी जटिल बिरामी हुँदा उपचारमा समेत श्रीमानबाट विभेद हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । दुवै मिर्गौलाले काम नगर्ने अबस्थामा मिर्गाैला प्रत्यारोपणमा समेत श्रीमान विभेद भएको तथ्यांक रातोपाटीले सार्वजनिक गरेको हो ।

सार्वजनिक तथ्यांक अनुसार नेपालमा ७९ प्रतिशत पुरुषले मिर्गौला प्रत्यारोपणको सुविधा पाउँदा २१ प्रतिशत महिलाले मात्रै उक्त अधिकार प्राप्त गरेका छन् ।

मृगौला प्रत्यारोपणको काम गर्दै आएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार नेपालमा प्रत्येक १६० जना पुरुषको मिर्गौला फेल हुँदा १ सय जना महिलाको पनि मिर्गौला फेल हुने गरेको छ ।

तर समस्याका आधारमा उनीहरुले मिर्गौला प्रत्यारोपण गर्न पाउनुपर्नेमा मिर्गौला नपाउँदा प्रत्यारोपण गर्ने महिलाको संख्या निकै कम छ ।

रातोपाटीका अनुसार विगत ९ वर्षको अवधिमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ८०२ जनाको मिर्गौला प्रत्यारोपण हुँदा मिर्गौला लिने करिब ७९ प्रतिशत पुरुष छन् भने २१ प्रतिशत मात्र महिला छन् ।

तर मिर्गौला दिने दातामा ७१ प्रतिशत महिला छन् भने २९ प्रतिशत मात्र पुरुष छन् । अर्थात निकै कम पुरुषले मात्रै महिलालाई मिर्गौला दान गरेको देखिन्छ । यसरी मिर्गौला दिनेमध्ये विवाहित महिलाले आफ्ना श्रीमानलाई दिने संख्या धेरै छ भने महिलाका श्रीमानको सङ्ख्या कम छ ।

महिलालाई श्रीमानको साटो धेरै आफ्नी आमाले मिर्गौला दिने गरेको केहीमा बुवाले दिने गरेको तथ्यांक छ । डा. श्रेष्ठका अनुसार कतिपय घटनामा महिलाको मिर्गौला फेल भएपछि श्रीमानले छाडेर हिँडेका छन् । त्यस्तो भएपछि महिलाहरू निश्चित समयसम्म डाइलाइसिस गर्ने र मृत्यु कुरेर बस्नुपर्ने अवस्थामा छन् ।

डा. श्रेष्ठका अनुसार डाइलाइसिसमा महिलाको प्रतिशत करिब ४० प्रतिशत भए पनि प्रत्यारोपण गर्न आउने महिलाको प्रतिशत त्यही २० प्रतिशतको हाराहारीमै रहेको छ । ‘उनीहरू आफै घर सल्लाह गरेर कानुनी प्रक्रिया पूरा गर्न मात्रै यहाँ आउने भएकाले हामीले थप केही बोल्ने कुरा भएन’, उनले भने, ‘ तर मिर्गौला प्रत्यारोपणका सम्बन्धमा महिलामाथि भेदभाव भएको कुरा तथ्याङ्कले नै देखाएको छ, मैले थप केही भन्ने कुरा भएन । तर यस्तो किन भयो भनेर नीति निर्माण तहमा रहेकाहरूले खोजबिन गर्ने विषय हो ।’

पुरुष बिरामी हुँदा महिला वा श्रीमतीले बचाउनका लागि हर प्रयत्न गर्ने भए पनि महिला बिरामी हुँदा पुरुषले छाडेर हिँड्ने, वास्ता नगर्ने आदि कारण थुप्रै घटना छन् ।

‘केही पुरुष त श्रीमतीको उपचार गर्नुभन्दा अर्की श्रीमती ल्याउन सस्तो पर्ने भन्दै उपचार नै गर्न नमान्ने पनि छन् । काउन्सिलिङ गर्दा पनि नमान्ने गरेका थुप्रै घटना छन’, उनी भन्छन्, ‘तर पुरुष बिरामी हुँदा पहिलो प्राथमिकता निजकै श्रीमती हुने गरेका छन् ।’ श्रीमती बिरामी भए अर्की ल्याएर बस्ने र महिलाको डाइलाइसिस वा उपचार पनि बन्द गरिदिने गरेका कारण महिला मृत्यु कुरेर बस्नुपर्ने पीडामा रहेको श्रेष्ठको भनाई छ ।