बैशाख ३, २०८१ सोमबार

अब डिभोर्सपछि महिलाले विवाह गरेमा सम्पत्ति फिर्ताको प्रस्ताव



काठमाडौ-अंश लिई सम्बन्धविच्छेद (डिभोर्स) गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल कानुन आयोगले मुलुकीदेवानी संहितालाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पार्दै अंश पूर्वपतितर्फका छोराछोरी वा अंशियारलाई फिर्ता गर्नुपर्ने प्रस्ताव गरेको हो ।

आयोगले तयार पारेको मस्यौदा सरोकारवालासँगको परामर्शको क्रममा छ । अन्तिम मस्यौदा आयोगले चाँडै नै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गर्ने छ । आयोगले मौजुदा ऐनको दफा १०३ मा (क) खण्ड थप गर्दै यस् तो प्रस्ताव गरेको हो । अर्को विवाह गरेपछि नयाँ पतिबाट अंशको हक स्थापित हुने भन्दै पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ताको प्रस्ताव गरिएको हो ।

पूर्वपतितर्फ छोराछोरी नभएमा अंसियारले अंश फिर्ता लिन पाउने गरी मस्यौदा तयार भएको छ । सगोलको सम्पत्ति लिएर छुट्टिएकी महिलाले समेत अर्को विवाह गरेमा सो सम्पत्ति फिर्ताको प्रस्ताव विधेयकमा छ ।

प्रस्तावित मस्यौदामा भनिएको छ, “अंश लिई सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा निजले अंशबापत प्राप्त गरेको सम्पत्ति निजको पूर्वपतितर्फका छोराछोरी भए त्यस्ता छोराछोरीले र छोराछोरी नभए पूर्वपति वा पतिका अंशियाले पाउने छ ।”

यस्तै प्रस्तावित विधेयकमा मुल ऐन दफा १७२ मा प्रतिबन्धात्मक वाक्यांश थप गरिएको छ । विवाह भएको पाँच वर्षपछि पनि जायजन्म नभएको चिकित्सकद्वारा प्रमाणित भएमा धर्मपुत्र वा धर्मपुत्री राख्न दिने प्रस्ताव छ ।

यसअघि विवाह भएको १० वर्षसम्म जायजन्म नभएमा धर्मपुत्र वा धर्मपुत्री राख्ने दिने व्यवस्था थियो । प्रस्तावित विधेयकले सो अवधिलाई पाँच वर्षमा घटाएको हो । यस्तै पैतृक सम्पत्तिमा छोराछोरी दुवै तर्फका नातिनातिनालाई समान हक हुने व्यवस्था पनि प्रस्ताव गरिएको छ । अहिले छोरातर्फका सन्तानलाई मात्र उक्त अधिकार हुने कानुनी व्यवस्था छ ।

गोरखापत्र दैनिक बाट