बैशाख २, २०८१ आईतबार

बागलुङका यी महिला नेतृ, जसले पार्टीमा विद्रोह गरे



बागलुङ । गठबन्धन र तालमेलका कारण बागलुङमा बागी उम्मेदवारी अत्याधिक परेको छ । गठबन्धन र तालेमेलका कारण प्रमुख पदमा महिला उम्मेदवार कम भएको अवस्थामा केही महिलाले पार्टीमा बिद्रोह गरेका छन् भने केहीले पार्टीनै परित्याग गरेर उम्मेदवारी दर्ता गराएका छन् ।

महिला सङ्घ बागलुङकी सचिव उषा पौडेलले गठबन्धनका कारण आफूलाई टिकट नदिएपछि नेकपा एमाले प्रवेश गरेर जैमिनीको उपप्रमुखमा एमालेबाट उम्मेदवारी दिनुभएको छ । गठबन्धनका नाममा महिलालाई पाखा लगाउने काम भएको भन्दै उहाँले पार्टी नै छोड्नुभयो ।

यस्तै गठबन्धनका तर्फबाट जैमिनी नगरपालिकाको प्रमुख राष्ट्रिय जनमोर्चा र उपप्रमुख नेपाली कांग्रेसको भागबण्डामा परेपछि जनमोर्चाकी रुद्रा क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । गठबन्धनका कारण आफूले टिकट नपाएको, पार्टीमा मूल्याङ्कन नभएको भन्दै पार्टी छोड्ने, अर्को पार्टीको चुनाव चिह्नबाट लड्ने र स्वतन्त्र उठ्नेको सङ्ख्या धेरै छ ।

यस्तै गलकोट नगरपालिकामा नेपाली कांग्रेसकी मञ्जु शर्मा चालिसेले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । ढोरपाटन नगरपालिकामा कांग्रेसकी दिलमाया पौवीले स्वतन्त्रबाट नगरप्रमुखमा उम्मेदवारी दिनुभएको छ । गठबन्धनबाट प्रमुख पद माओवादीलाई परेपछि उहाँले रुष्ट भएर नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।

पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमै बागी र स्वतन्त्र उम्मेदवारी परेपछि कांग्रेस, माओवादी केन्द्र, एमाले, राष्ट्रिय जनमोर्चालगायत दललाई असन्तुष्ट बनेर पार्टी छाडेका, बागी उम्मेदवारी दिएका नेता कार्यकर्तालाई सम्झाउन हम्मेहम्मे परेको छ । उम्मेदवारी फिर्ता लिने आयोगको समय तालिकाअनुसार यही वैशाख १६ गते साँझ ५ बजेसम्म रहेको छ ।