चैत्र १५, २०८० बिहीबार

ब्लाइन्ड डेट भल्गर बन्दै गएपछि हिमालय टेलिभिजनबाट प्रशारण बन्द



काठमाडौं । डेढ वर्षअघि लकडाउनको समयमा एउटा रियालिटी शो सामाजिक सञ्जालमा एकाएक चर्चामा आयो । खासगरी युवापुस्ता र टिनएजर्समा लोकप्रियता कमाएको उक्त शो थियो– ब्लाइन्ड डेट ।

पहिलो सिजन हिट भएपछि हौसिएको निर्माण पक्षले छोटो अन्तरालमै दोस्रो सिजन सुरु गर्यो, जुन अहिले प्रशारण भइरहेको छ । तर, पहिलो सिजनको जस्तो चार्म अहिले छैन । मनोरञ्जनका नाममा अश्लिलतालाई प्रश्रय दिन थालेपछि यो शोले राष्ट्रिय टेलिभिजनको प्लेटफर्मसमेत गुमाएको छ ।

पहिलो सिजनको लोकप्रियतालाई हेरेर हिमालय टिभीले भ्यूजको आकर्षणमा ब्लाइन्ड डेट भित्र्याएको थियो । गत वर्षको माघमा उक्त कार्यक्रमका निर्देशक रोसन दाहालले टिभीसँग सम्झौता गरेका थिए । सम्झौताअनुसार गत जेठबाट प्रशारण सुरु भएको हो । तर, पहिलो एपिसोडबाटै समस्या देखियो ।

पैसा धेरै खर्च गरिएको दोस्रो सिजन कन्टेन्टका हिसाबले भने झूर छ । दर्शकलाई मनोरञ्जन दिने धुनमा क्यारेक्टरहरुलाई जोकरका रुपमा प्रेजेन्ट गरिएको छ । द्विअर्थि र अश्लिल संवादहरु बोल्न लगाइएको छ । घिनलाग्दा हर्कतहरु हुने गरेका छन् । यसभित्र रियालिटी केही पनि बाँकी छैन ।

प्रशारण गर्नै नमिल्ने सी ग्रेडका कन्टेन्टहरु उत्पादन गर्न थालेपछि हिमालय टेलिभिजनले उक्त शोलाई ‘किक आउट’ गरेको हो । सम्झौताको शर्त उल्लंघन भएकाले यसलाई निरन्तरता दिन नसकिएको टेलिभिजन स्रोतले बतायो ।

‘जति सेन्सर गर्दा पनि प्रशारण गर्न कठिन भएपछि हामी सम्झौता रद्द गर्न बाध्य भयौं,’ टेलिभिजन स्रोतले भन्यो ।

युवापुस्तामा विकृति फैलाउने यस्तो शोलाई राष्ट्रिय टेलिभिजनले स्थान दिन नहुने जनगूनासो बढिरहेको थियो । अन्ततः टेलिभिजनले आठौं एपिसोडपछि यो शोलाई बिदा दिएको छ । हिमालय टेलिभिजनबाट ब्लाइन्ड डेट अन्तिमपटक गत असार १० गते प्रशारण भएको थियो ।

टेलिभिजनले हटाए पनि युट्यूवबाट यो शोको प्रशारण जारी छ । अहिलेसम्म १८ एपिसोड प्रशारण भइसक्दा यसको लोकप्रियता भने गिर्दो अवस्थामा छ । पहिलो, दोस्रो र तेस्रो एपिसोडले क्रमशः १६ लाख, ११ लाख र ११ लाख भ्यूज पाएका थिए । तर, पछिल्ला एपिसोडहरु ६–७ लाख भ्यूजमा खुम्चिरहेका छन् ।

संसारमा धेरै टेलिभिजनहरुले यस्तो प्रकृतिको रियालिटी शो प्रशारण गर्ने गर्छन् । आपसमा अञ्जान युवा–युवतीलाई डेट गराएर जोडी बाँधन सघाउने यस्तो शोको मुल ध्येय हुन्छ ।

यसअनुसार विभिन्न जोडीहरुलाई सँगै टाइम स्पेन्ड गर्ने र एक–अर्कालाई बुझ्ने अवसर प्रदान गरिन्छ । त्यही आधारमा उनीहरुले आफ्नो जोडी छान्न सक्छन् । यही अवधारणा नेपालमा भित्र्याइँदा पहिलो सिजनलाई दर्शकले रुचाएका थिए ।

थोरै बजेटमा निर्माण पक्षले रमाइलो शो तयार गरेको थियो । स्क्रिप्टेड भए पनि मनोरञ्जनात्मक भएकाले यसले राम्रो भ्यूज बटुल्न सफल भयो र कार्यक्रम निर्माताको गोजी टनक्क भरियो । यसका सहभागीहरु सामाजिक सञ्जालमा भाइरल बने ।

स्क्रिप्टेड भए पनि पहिलो सिजनले दर्शकको आँखामा छारो हाल्न सफल भएको थियो । यसमा विजेता बनेका सिलु र गोल्डी नामका पात्रले शो सकिएपछि विवाह नै गरेका थिए । यद्यपि, उनीहरु शोमा आउनु अगावै श्रीमान–श्रीमती थिए भन्ने चर्चा नचलेको होइन । जे भए पनि शो आफ्नो उद्देश्यमा सफल देखिएको थियो ।

तर, पहिलो सिजनको स्तर दोस्रोमा कायम रहन सकेन । दोस्रो सिजनमा सबै कुरा अति नाटकीय बनाइएको छ । यसमा उभ्याइएका कुनै पनि पात्रहरु गतिला र विश्वासिला छैनन् । उनीहरुलाई पुराना ननभेज जोक्सहरु भन्न लगाएर दर्शक हँसाउने चेष्टा गरिएको छ ।

यो छाडा शो बन्द गर्नुपर्ने भनेर धेरैले कमेन्ट गर्न थालेको देखिन्छ । निर्माण पक्ष भने टिकटकमा भाइरल भएका फुटेजहरु हेरेर नै दंग छ ।