बैशाख २, २०८१ आईतबार

घाँटी थिचेर गर्भवती श्रीमतीको हत्या



वीरगन्ज महानगरपालिका वडा नम्बर २३ इटियाहीमा एक श्रीमानले श्रीमतीको घाँटी थिचेरमा हत्या गरेका छन् । शुक्रबार बिहान २६ वर्षीय दिनेश प्रसाद यादवले आफ्नी २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

बिहान ३/४ बजेको समयमा घरमै श्रीमतीको हत्या गरेको आरोपमा दिनेशलाई प्रहरीले पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रहलाद कार्कीले जानकारी दिए । घरबाटै पक्राउ परेका आरोपित दिनेशले प्रहरीलाई दिएको बयानमा श्रीमती प्रतिमाको अर्को केटासँग सम्बन्ध रहेको शंकाको आधारमा घाँटी थिचेर मारेको प्रहरी नायब उपरिक्षक कार्कीले बताए ।

गत वर्षको बैशाखमा पर्साको पकाहा मैनपुर गाँउपालिका वडा नम्बर ६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग  मागी विवाह भएको थियो । प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाएर मृतक प्रतिमाको शव पोष्टमार्टनका लागी नारायणी अस्पतालमा पठाउने तयारी गरीरहेको प्रहरी नायब उपरिक्षक कार्कीले बताए ।   मृतक प्रतिमाको पाँच महिनाको गर्भ रहेको केटी पक्षले बताएका छन् ।