चैत्र १५, २०८० बिहीबार

प्रेमपछि विवाह गरेर रोल्पा गएका दुर्गाबहादुर र पार्वती हत्याकाण्डकाे सिआइबीको टोलीले अनुसन्धान गर्दै



रोल्पामा गत मंगलबार राति विभत्स हत्या गरिएका दम्पती हत्याकाण्ड अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिलाइबी) को टोली खटिएको छ।  जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले घटना अनुसन्धान गर्न तीन दिन अगाडि सिआइबीको टोली रोल्पा आएको जानकारी दिए।

रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. २ राङ्सीका २५ वर्षीय श्रीमान दुर्गाबहादुर पुन र उनकी ३७ वर्षीया श्रीमती पार्वती पुनको शव खुकुरी प्रहार गरी हत्या गरिएको अवस्थामा बुधबार दिउँसो फेला परेको थियो। उनीहरू एक महिना अगाडिदेखि  माडी गाउँपालिका वडा नं. ३ तालाबाङमा स्थानीय जयलाल डाँगीको खुला टहरोमा बस्दै आएका थिए।

त्यही टहरोमा उनीहरूको हत्या भएको अवस्थामा शव प्रहरीले फेला पारेको थियो। घटनास्थल एकान्त स्थलमा छ। प्रहरीका अनुसार उनीहरूलाई त्यो गाउँका धेरैले चिन्दैन थिए। प्रहरी अनुसन्धानबाट पुन दम्पती त्यहाँ बस्न थालेको कुरा आधा गाउँलेले थाहा नै नभएको भनेर प्रतिक्रिया दिएको प्रहरी बताउँछ।

पुन दम्पतीको हत्यामा उनीहरूकै खुकुरी प्रयोग भएको तथ्य खुलेको डिएसपी घिमिरेले सेतोपाटीलाई बताए।‘घटनास्थलबाट हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद भइसकेको छ र त्यो खुकुरी पुन दम्पतीकै भएको तथ्य अनुसन्धानबाट खुलेको छ,’ डिएसपी घिमिरेले भने, ‘एक महिना अगाडिमात्रै त्यो ठाउँमा पुगेका पुन दम्पतीको त्यसरी विभित्स हत्या गरिहाल्नु पर्ने त्यस्तो खास कारण केही देखिँदैन। तर, हत्या किन भयो? यो रहस्यको गर्भमै छ।’

तालाबाङमा जम्मा १२ घर परिवारमात्रै रहेको र बाहिरको मानिस पनि यो बीचमा कोही आएको तथ्य हालसम्मको अनुसन्धानबाट खुल्न नसकेको डिएसपी घिमिरेले बताए। ‘पुन दम्पतीले मोबाइलसमेत प्रयोग गर्दा रहेनछन्,’ डिएसपी घिमिरेले भने, ‘मजदुरी गरी जीविकोपार्जन गर्दै आएका र अर्काको घरमा आश्रय लिएर बसिरहेका उनीहरूको हत्याको कारण रहस्यमय ढंगबाट भएको देखिन्छ।’

पुन दम्पती बस्दै आएको टहरो माथिबाट मात्रै घाम-पानी ओत्ने भए पनि खुला र एकान्तस्थल रहेको छ।घरधनीले त्यो टहरो कुखुरा वा बंगुर पाल्ने सोचका साथ निर्माण गरेको जस्तो देखिने गरेको प्रहरीले बताएको छ। घटना भएको  राति गाउँले कसैले पनि कुनै पनि खालको हो–हल्ला वा आवाज नसुनेको सोधपुछका क्रममा प्रहरीलाई बताएका छन्।

डिएसपी घिमिरेका अनुसार घरधनी जयलाल डाँगी मंगलबारको दिन भैंसी किन्न भनेर अघिल्लो दिन नै ओततिर झरेका थिए। पुन दम्पती जहाँ काम पाइन्छ त्यही जाने र बस्ने गर्दै आएका थिए।‘उनीहरूले त्यसअघि जिल्लाको ओवाङ, इरिबाङ लगायतका ठाउँमा घुम्दै फिर्दै काम गरेका रहेछन्,’ डिएसपी घिमिरेले भने, ‘घरधनी डाँगीले उनीहरूले दुःख पाएको देखेर आफ्नै टहरोमा राख्ने र काम दिने भनेर बोलाएको देखिन्छ।’

भदौ महिनाभर बस्ने खाने नि:शुल्क व्यवस्था गरिदिएका डाँगीले उनीहरूलाई असोज महिनादेखि मासिक जनही नौ हजारका दरले तलब दिने सर्तमा त्यहाँ लगेर राखेको खुल्न आएको डिएसपी घिमिरेले बताए। ‘घरधनीले उनीहरूले दुःख पाएको देखेर राम्रै सोचेर आफ्नै टहरोमा लगेको देखिन्छ,’ डिएसपी घिमिरेले भने, ‘माछापालन र बंगुरपालन सुरू गरेपछि उनीहरूलाई काम दिने अनि असोजदेखि तलब दिने कुरा रहेछ।’

खुला टहरोमा बस्दै आएकी महिलामाथि बलात्कार गर्ने उद्धेश्यका साथ सुरूमा उनका श्रीमानको र त्यसपछि प्रतिवादका क्रममा श्रीमतीको हत्या भएको हो कि? भन्ने आशंका प्रहरीलाई छ। तर, पोष्टमर्टम रिपोर्ट आइनसकेको हुँदा त्यसबारे पनि किटानका साथ बोल्न मिल्ने अवस्था नरहेको एक प्रहरी अधिकारीले बताए।

‘यो बीचमा गाउँमा बाहिरबाट कुनै पनि मानिसको आवतजावत भएको तथ्य पनि खुलेन,’ एक प्रहरी अधिकारीले भने, ‘पुन दम्पतीसँग न पैसा थियो न सुनका गरगहना, न त मोबाइल नै, अन्यथा उनीहरूको हत्या कसैले किन गर्‍यो होला?’

विभत्स ढंगले श्रीमान–श्रीमतीको हत्या भएको अवस्थामा शव फेला परेपछि प्रहरीले शव उठाउनुभन्दा पहिले घटना अनुसन्धान गर्न बाँकेको कोहलपुरबाट तालिम प्राप्त कुकुर ल्याएको थियो। कुकुरले पनि त्यस्तो कुनै सुराक पत्ता लगाउन नसकेपछि दुई दिनपछि कुकुर फिर्ता पठाइएको थियो।

पुन दम्पतीको विभत्स हत्याकाण्ड भएको एक हप्ता दिन बितिसक्दासम्म पनि प्रहरीले कुनै भरपर्दो सुराक फेला पार्न सकेको छैन। गाउँलेसँग सोधपुछ तथा सिआइबीको टोलीद्वारा अनुसन्धान जारी रहे पनि हालसम्म सोधपुछका लागि भनेर प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिएको पनि छैन।

काठमाडौंको एक इट्टा भट्टामा काम गर्ने क्रममा भेट भएपछि गत मंसिरमा मात्रै उनीहरूले बिहे गरेको भन्ने खुलेको प्रहरीले यसअघि नै जानकारी दिएको थियो। दुर्गाले श्रीमतीलाई घरमा समेत नभित्र्याएको भन्ने खुलेको एक प्रहरी अधिकारीले जानकारी दिएका थिए। दुर्गाकी श्रीमतीको पहिचान पुष्टि हुने कुनै कागजात हालसम्म फेला नपरेको तथा माइती पक्षबाट समेत कोही सम्पर्कमा नआएको प्रहरीले बताएको छ।

सुनेको भरमा प्रहरीले उनको नाम पार्वती रहेको तथा माइती खोटाङमा पर्ने कुरा आएको प्रहरीले जानकारी दिएको छ। पार्वतीको यो दोस्रो बिहे रहेको भन्ने कुरा पनि खुलेको पनि प्रहरी बताउँछ।  डिएसपी घिमिरेले पनि पार्वतीको पहिचानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ र काठमाडौंमा समेत पत्राचार भएको बताए।

यो पनि:

रोल्पामा खुकरी प्रहार गरी एक दम्पतीको विभत्स हत्या भएको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले हत्या गरिएका दुबै जनालाई खुकुरी प्रहार गरेको पाइएको सेतोपाटीलाई जानकारी दिए।

 

‘महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ,’ घिमिरेले भने, ‘उनका श्रीमानको टाउको, कानलगायत शरीरका विभिन्न भागमा खुकुरी हानिएको छ।’ डिएसपी घिमिरेले अहिले आफू घटनास्थलमै रहेको र हत्या गरिएका दम्पतीको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जानकारी दिए।

रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. २ राङसीका २५ वर्षीय दुर्गाबहादुर पुन र ३७ वर्षीया पार्वती पुनको शव बुधबार दिउँसो फेला परेको थियो। उनीहरू माडी गाँउपालिका वडा नं. ३ तालाबाङमा स्थानीय जयलाल डाँगीको जग्गामा रहेको खुल्ला टहरोमा बस्दै आएका थिए।

‘कुखुरा पाल्न बनाइने खुल्ला टहरो जस्तैमा उनीहरू बस्दै आएका रहेछन्,’ डिएसपी घिमिरेले भने, ‘ दुबै जनाको शव त्यही टहरोभित्र विभत्स हत्या गरिएको अवस्थामा फेला परेको हो।’

टहरो एकान्त ठाउँमा थियो उनीहरू त्यहाँ मजदुरी गर्थे। प्रहरीको अनुसन्धानमा पार्वतीको घर खोटाङ भएको खुलेको छ। उनको परिचय खुल्ने कागजात नभेटिए पनि सबैले उनलाई पार्वती भनेर बोलाउँथे।

सुतिरहेका उनीहरूको मंगलबार राति नै कसैले हत्या गरेको हुन सक्ने आशंका प्रहरीको छ। घटनाबारे स्थानीयले सूचना दिएलगत्तै डिएसपी घिमिरेले आफैं घटनास्थल पुगेका थिए।प्रहरीका अनुसार पुन दम्पतीले विवाह गरेको धेरै समय भएको थिएन। दुर्गाले श्रीमतीलाई घरमा समेत नभित्र्याएको भन्ने खुलेको एक प्रहरी अधिकारीले बताए।

रोल्पा आउनुअघि उनीहरू काठमाडौंको एक इँटा भट्टामा काम गर्थें। त्यहीँ काम गर्दागर्दै प्रेममा परेपछि उनीहरू विवाह गरेर रोल्पा आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको  छ। घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी घिमिरेले बताए।