चैत्र १६, २०८० शुक्रबार

चुनावमा प्रतिस्पर्धी, चुनाव सकिएपछि श्रीमान श्रीमती



काठमाडौं – दैलेखकी मनिषा कार्की गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा चामुण्डा विन्द्रासैनी नगरपालिकामा नेकपा एसको तर्फबाट मेयरकी उम्मेदवार थिईन् । सत्ता गठबन्धनबाट नेकपा एसको भागमा परेपनि उसको जनमत कमजोर भएको भन्दै कांग्रेसका उम्मेदवार गणेशकुमार शाहीले गठबन्धन भित्रबाटै मित्रवत प्रतिस्पर्धा भन्दै उम्मेदवार बनेर चुनाव जिते ।

चुनावमा गठबन्धनको निर्णय अनुसारको उम्मेदवारलाई समर्थन गर्न नमानेका शाही चुनाव सम्पन्न भएको ८ महिनापछि भने उनै कार्कीलाई जीन्दगीको सारथीका रुपमा भित्र्याएका छन् ।

चुनावी प्रतिस्पर्धी कसरी बने श्रीमान श्रीमती ?
यसपछि सत्ता गठबन्धनकै कार्की र शाहीको प्रतिस्पर्धा पक्का भएको थियो । तर, चुनावी नतिजा आउँदा कार्की १३५ मतमात्रै ल्याएर पाँचौं भइन् । शाही ४ हजार ७० मतका साथ निर्वाचित भए ।

कार्की र शाही स्थानीय चुनावअघिसम्म अपरिचित थिए । उनीहरुको पहिलो भेट चुनावअघि गठबन्धनको बैठकमा भएको थियो । उक्त बैठकले मित्रवत प्रतिस्पर्धा गर्दै एक्लाएक्लै लड्ने निर्णय गर्‍यो । त्यसपछि दुवैजना छुट्टिएर आआफ्नो प्रचारप्रसारमा होमिए ।

चुनाव सकियो, शाहीले जिते । कार्की काठमाडौं फर्किइन् । दुवैबीच कुनै सम्पर्क र भेटघाट भएन । तर, दुवैको दोस्रो भेटको संयोग गएको प्रतिनिधिसभाको निर्वाचन भइदियो । प्रतिनिधिसभाका लागि दैलेखबाट नेकपा एसका अम्मरबहादुर थापाले टिकट पाए । आफ्नो नेता जिताउन कार्की दैलेख पुगिन् । कार्कीको भेट चुनाव प्रचारप्रसारका क्रममा शाहीसँग भयो ।

कार्की भन्छिन्, ‘उहाँलाई मैले स्थानीय तहमा चिनेको हो । त्यसपछि प्रत्यक्ष भेट भएर गफ भएको थिएन । दुवै सामाजिक रुपमा केही गर्नुपर्छ भनेर हिँडेकाले प्रतिनिधिसभाको निर्वाचनताका फेरि भेट भयो । जम्मा सात दिनमै हामी प्रेममा पर्‍यौं र विवाह गर्‍यौं ।’

एक अर्काका लागि ‘डिजर्भिङ’ लागेकाले सातै दिनमा विवाहको निर्णयसम्म पुगेको कार्कीको भनाइ छ । उनीहरुले गएको कात्तिक २८ गते विवाह गरेका थिए ।

तर, फरक विचारधारा र फरक पार्टीमा सक्रिय रहेका दुवैको अबको राजनीतिक यात्रा एकै संगठनबाट हुने कि पुरानै संगठनबाट हुने भन्नेबारे निर्णय गरिनसकेको कार्की बताउँछिन् । कार्कीका अनुसार यस प्रश्नको उत्तर दिने वेला आइसकेको छैन ।

कार्की भन्छिन्, ‘विवाह गर्ने हाम्रो निर्णय अचानक भएको हो । यसकारण सबैजना ‘सक्ड’ हुनु स्वाभाविक नै थियो । आजसम्म दुवैले राजनीतिक रुपमा समाजलाई योगदान दिएकाले विचार र सोच मिलेर यो निर्णयमा पुग्यौं । तर, पार्टीका साथीभाइ, अग्रज नेताहरुले राजनीतिक रुपमा सक्रिय नहुने कि भनेर चिन्ता लिइरहनुभएको छ, त्यो स्वाभाविक हो । हामी दुवै राजनीतिलाई माया गर्ने, राजनीतिले नै हामीलाई जोडेकाले हामी दुवैको राजनीति ओझेलमा पर्नेछैन । हामी दुवै सक्रिय हुन्छौं ।’