बैशाख १२, २०८१ बुधबार

तीन जना नेपाली महिला वैज्ञानिकलाई अन्तर्राष्ट्रिय अवार्ड



काठमाडौँ — तीनजना नेपाली महिला वैज्ञानिकले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकद्वय सुभांगी सुवेदी दाहाल र सुप्रिया शर्मा ‘अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्लूएसडी) अवार्ड–२०२२’ बाट सम्मानित भएका हुन् । अवार्डको राशि ५०/५० हजार अमेरिकी डलर (करिब १ करोड ३१ लाख रुपैया) छ ।

सुवेदी त्रिचन्द्र क्याम्पस र शर्मा त्रिवि माइक्रोबायोलोजी केन्द्रीय विभागका उपप्राध्यापक हुन् । त्यस्तै, सेन्टर फर नेचुरल एन्ड एप्लाइड साइन्सेस (सीईएनएएस) की अनुसन्धानकर्ता बबिता पौडेल भट्टराईले ३० हजार युरो बराबरको ‘हम्बोल्ड रिसर्च अवार्ड’ पाएकी हुन् ।

दाहालले प्राप्त रकम पानी, खाद्य सुरक्षा, कृषि र माइक्रो प्लास्टिकको अध्ययनमा खर्च गर्ने बताइन् । ‘मेरो यो रकम नानो पार्टिकल्स बनाएर पानीको स्वच्छता मापन, खाद्य सुरक्षा, रसायनिक मल र माइक्रो प्लास्टिकको अध्ययनमा खर्च हुने छ,’ उनले भनिन् । आफूले प्राप्त गरेको रकमबाट स्नातक र स्नाताकोत्तर अध्ययन गर्ने करिब एक दर्जन विद्यार्थीलाई अनुसन्धान वृत्तिसमेत उपलब्ध गराउने उनको भनाइ छ । अवार्ड प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै उनले जिम्मेवारी थपिएको प्रतिक्रिया दिइन् । यस्तै, शर्माले एन्टिबायोटिक रेसिस्टेन्स सम्बन्धी अनुसन्धानका लागि अवार्ड पाएकी हुन् ।

सन् १९८७ मा स्थापना भएको अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभ्लोपिङ वर्ल्ड (ओडब्लूएसडी) वर्ल्ड एकेडेमी अफ साइन्सेस अन्तर्गतको संस्था हो । युनेस्केको एउटा प्रोगाम युनिटको रुपमा रहेको संस्थाले विज्ञान तथा प्रविधिको क्षेत्रमा बिद्याबारिधीपछि अनुसन्धान गरिरहेका विकासोन्मुक मुलुकका २५ जना महिला अनुसन्धानकर्तालाई अवार्ड प्रदान गर्दै आएको छ । स्वेदशमै अन्तर्राष्ट्रियस्तरको अनुसन्धानका लागि अवार्ड दिने गरिएको ओडब्लूएसडीको भनाइ छ । ५० हजार डलर राशीको यो अवार्ड पाएपछि अनुसन्धानकर्ताहरुले आफ्नो प्रस्तावित परियोजना तीन वर्षमा सम्पन्न गर्नुपर्ने हुन्छ ।

यसअघि उक्त अवार्ड शोभा पौडेल, हेमु काफ्ले, टिस्टा प्रसाईं, प्रतिभा पाण्डे र ज्योति भण्डारीले पाएका थिए । भट्टराईले हेम्बोल्ड रिसर्च अवार्ड पाउने पहिलो नेपाली महिला हुन् । जर्मनीको हम्बोल्ड फाउन्डेशनले हरेक वर्ष संसारका ५ जना अनुसन्धानकर्तालाई यो अवार्ड दिने गर्छ । यसवर्ष यो अवार्ड नेपालसहित, ग्रिस, इटाली, नाइजेरिया र चीनका महिला अनुसन्धानकर्ताले पाएका हुन् । अवार्ड रकम उनले नेपाली महिला अनुसन्धानकर्ताको क्षमता अभिवृद्धिका क्षेत्रमा दुई वर्षभित्रमा खर्च गर्ने छन् । ‘मलाई प्राउड फिल भएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा महिलाहरूको क्षमता विकास गर्ने किसिमको अवार्ड पाउदा गर्व महसुस गरेकी छु,’ उनले भनिन् । उनी सूक्ष्म जीव र नेपालमा पाइने जडिबुटीको औषधीय गुणको अध्ययन र अनुसन्धानमा पनि संलग्न छिन् ।