बैशाख १७, २०८१ सोमबार

फिफा वरीयतामा नेपाली महिला टिम तीन स्थान उक्लियो



काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिम फिफा वरीयतामा तीन स्थान उक्लिएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १००औँ स्थानमा छ । यसअघि, नेपाल वरीयताको १०३औँ स्थानमा थियो ।

नेपाल एसियन टिमको वरीयतामा भने २०औँ स्थानमा छ । यस्तै, दक्षिण एसियामा नेपाल वरीयताको दोस्रो स्थानमा छ । दक्षिण एसियाली वरीयताको शीर्ष स्थानमा रहेको भारत फिफाको ६१औँ स्थानमा छ ।

दक्षिण एसियाको तेस्रो स्थानमा रहेको बंगलादेश १४०औँ स्थानमा छ । चौथो स्थानको श्रीलंका १५५औँ, पाँचौँ स्थानमा रहेको माल्दिभ्स १५९, छैटौँ स्थानमा रहेको पाकिस्तान १६१औँ स्थानमा र सातौँ स्थानको भुटान १७८औँ स्थानमा छन् ।

महिला फुटबलमा फिफाका कूल १८८ सदस्य वरीयतामा छन् । वरीयताको शीर्ष स्थानमा अमेरिका र पुछारमा मौरिसस छन् ।