असार ३२, २०८१ सोमबार

विदेशी जेलका श्रीमानलार्इ नेपाली गाउँबाट ३५ लाख



get_imgशान्ति तामाङ

काभ्रे, कुशादेवी भदौ २३ – जब पहिलो पटक ‘९० लाख चाहिन्छ’ भन्ने सुनिन्, उनी झन्डै ढलेकी थिइन्। ९० लाखलाई ९० पटक औंलामा गन्दै निकैबेर टोलाएकी थिइन्। मनमनै धेरैबेर औंला भाँचेर हिसाव किताब गरेकी थिइन्। घरबारी बेच्दा २ लाख। सल्लाघारी छेउको पाखो बेच्दा १ लाख। तल ब्याँसीको दुई फोकटा बेच्दा ३ लाख। गरगहना त्यस्तै ५० हजार। जम्माजम्मी ६ लाख मात्रै। अब अरु कहाँबाट ल्याउने?

औंला गनिसक्दा उनको सास रोकिएको थियो पटकपटक। अब कहाँबाट ल्याउँने यत्रो पैसा? छोरा छोरीले नदेख्ने गरी आँशु खसालेकी थिइन्। गाईलाई घाँस हाल्न जाने निउ पारेर घर पछाडि गई मुटु निचोरेर रोएकी थिइन् धेरैबेर।

रुँदारुँदै कल्पना गरेकी थिइन् सरिता तिमिल्सिनाले, सबै सपना भइदिए हुन्थ्यो। श्यामेका बाउ यतै पनौती बजारतिर बाघचाल लेखिरहेको भए हुन्थ्यो। अस्ति फोन गर्ने मान्छेले दिएको अशुभ खबर पनि सपना नै भइदिए हुन्थ्यो। तर, वास्तविकतामा त्यस्तो थिएन। सरिताको सिउँदोनेरि बज्रिएको थियो चट्याङ।

खबर गाउँभरि फैलियो। उनलाई सान्त्वना दिनेको भिड जम्मा भयो। को आए को गए? उनको हेक्कामा रहेन। कसैले ‘सरिता, सरिता’ भनेर बोलाएको मात्र सम्झना छ उनलाई। त्यसपछि उनले दिन र रातको भेद ठम्याउन सकिनन्। आँखाको डिलबाट ओर्लिरहन्थे सपनाका एक-एक अध्याय। हेर्दाहेर्दै डुबिजान्थ्यो घाम। तर कसो गर्ने, के गर्ने, उनी विकल्पहीन थिइन्।

अर्को दिन फेरि खबर आयो, ३५ लाख मात्र बुझाए पुग्छ रे। त्यो खबरले सरितालाई केही खुशी त तुल्यायो तर, ३५ लाख पनि कहाँबाट ल्याउने?

उदास अनुहार लिएर श्रीमानले छाडिगएको फित्ता छिनेको चप्पल ओच्छ्याउँदै परपर हेर्थिन्। आमाका आँशु हेर्दै लालाबाला टोलाएर बस्थे। आमा रोएको देखेपछि सँगसँगै रुन्थे। ससुराबा गोबर सोहोर्दै, ‘त्यसको भाग्य नै त्यस्तो रहेछ, भावीको लेखान्त, भो बुहारी न‘रो’ भन्थे।

००

सहकर्मी सन्देश दुमरुसँगै काभ्रे, कुसादेवी पुग्दा रामचन्द्र तिमिल्सिनाको परिवारले हाम्रो बाटो हेरिरहेको थियो। निन्याउरो मुद्रामा मकैको ढोंट केलाइरहेका थिए रामचन्द्रका बा। रातो कमेरो माटोले लिपेको पिँढीमा टुक्रुक्क बसेर टोलाइरहेकी थिइन् उनीकी आमा। कता गुलेली बोकेर हिँडे वा स्कुल गए, देखिएन रामचन्द्रका मुटुका दुई टुक्रा। भूकम्पले हिर्काएको घर ढल्न तयार थियो। त्यही घरमा बसिरहेका थिए परिबन्दले साउदी जेलमा परेका रामचन्द्रको परिवार। हर्ष लुटिएको थियो। मक्किएको घरमै डेरा जमाएर बसेको थियो, दुःख। उदासीको एक मुस्लो बादल मडारिरहेको थियो रामचन्द्रको थोत्रो टिनको छानामाथि।

सन्चै हुनुहुन्छ? रामचन्द्रको परिवारलाई नमस्कार गर्दै मैले सोधेँ। उमेरले भर्खरै २६ वटा बसन्त काटेकी रामचन्द्रकी जीवनसंगीनी सरिताले थोरै मुस्कान ओठमा नचाउँदै ठिकै रहेको संकेत दिइन्। भित्र गएर काठको पिर्का ल्याइदिइन्। ‘नानीहरुलाई आउन गाह्रो त भएन?’ रामचन्द्रका बा शीरको टोपी खोलेर खाँबाको किलामा सिउरिँदै हामीलाई सोध्दै थिए। हामीले गाह्रो नभएको भन्यौं।

००

तपाईंको श्रीमान जेल परेको खबर कसरी थाहा पाउँनु भयो त दिदी? मैले केही अनौपचारिक कुराकानीपछि घटनाको सिलसिलालाई जोडेँ। अरु नै प्रसंगमा बोल्दाबोल्दै रोकिइन् सरिता। एकछिन् अनकनाइन् उनी। पीडाको छाया अनुहार ओर्लिएको छर्लङ्गै देखियो।

वैशाख १२ गते ठूलो भूकम्प गयो। कतिले ज्यान गुमाए। कतिको घर रित्तियो, कतिको काख। त्यही विपतको दोस्रो दिन, १३ गते सरिताको जीवनमा एउटा भयावह समाचार बोकेर साउदीबाट टेलिफोन आयो।

यता सकुशल भएको शुभसमाचार सुनाउन नपाउँदै उताबाट अपरिचितको आवाज आयो। अपरिचितले भनेका थिए, ‘म तपाईंको श्रीमान रामचन्द्र होइन, उसको साथी हुँ। तपाईंको श्रीमान मान्छे मारेको अभियोगमा साउदी जेलमा परेको छ।’

यति सुनेपछि सरिता भुइँमै थचक्क बसेकी थिइन्। दिउँसै पनि निख्खर अध्याँरोले छोपेको थियो उनका आँखा।

फोनबाट अपरिचितको आवाज आइरहेको थियो। कसैले फोन उठाएर बोलेको धमिलो याद छ उनलाई। अपरिचितले घटनाको बेलिबिस्तार लगाइरहेका थिए।

ट्रक ड्राइभर बनेर पैसा कमाई सरिताको जीवनमा खुशी ल्याउन भनी साउदी पुगेका रामचन्द्र आफ्नो नियमित काममै थिए। कम्पनीबाट सिमेन्टी लोड गरेर पार्किङ गरिरहेको अवस्थामा उनले चलाएको ट्रकमा पाकिस्तानीहरु चढेको कार आएर एक्कासी ठोक्कियो। कारमा सवार पाकिस्तानीमध्ये एकजनाको मृत्यु भयो। उनीहरुले ट्रकमा रक्सीको बोटल राखिदिए।

रामचन्द्र गिरफ्तारीमा परे। मुद्दा अदालत पुग्यो। मृतकका परिवारले तीन लाख साउदी रियाल (करिब ९० लाख नेपाली रुपैयाँ) क्षतिपूर्तिको माग राखेको अपरिचितले जानकारी दिए। पैसा दिन नसके रामचन्द्र अब कहिल्यै नेपाल नफर्कने कुरा फोनवालाले खुलस्त भनिदिए।

त्यसपछि सरिताको छातिमा ७.६ रेक्टरको होइन, सयौं रेक्टरको भूकम्प लगातार गइरह्यो। हुन्डरी बनेर आयो छातिको कुनाबाट परदेशी खसमको माया। ज्वालामूखि विस्फोट भएसरि डाँको छाडेर रोइन् उनी। वरपर जम्मा भइसकेका थिए आफन्तजन। ‘हे भगवान, के आइलाग्यो यस्तो मेरो छोरालाई। कहाँबाट ल्याउनु ९० लाख?’ यही शब्द सरिताको कानमा गुन्जिरह्यो निरन्तर।

त्यसपछि कसरी दिनहरु बिते? शब्दहरु असमर्थ छ उनको पीडा उन्न।

…यता पराकम्प गइरहन्थ्यो, उता सरिताको मनमा श्रीमान कहिल्यै नफरेकेलान् कि भन्ने त्रासले हलचल मच्चाइरहन्थ्यो।

एभरेष्ट अनलाइन

००

तत्काल प्रश्न गर्न सकिएन। एकछिन सन्नाटा छायो। रामचन्द्रकी आमा मकै पोल्नतिर लागिन्। त्यसपछि मैले पुनः प्रश्नहरु राखेँ। अनि कसरी संकलन गर्नु भयो त ३५ लाख?

स्कुलबाट आएका दुई छोराहरुको झोला समाइदिँदै सरिता फेरि बोल्न थालिन्।

उनले जसरी भए पनि ३५ लाख पुर्‍याउने अठोट गरिन्। भएभरको सबैथोक बेचेर पनि नपुग्ने निश्चित थियो। सडकमा गई मागेर भए पनि उठाउने विचार गरिन्। सरिताले भनिन्, ‘मेराअघि दुईवटा विकल्प थिए, पहिलो ‘ब्लड मनी’को लागि कुनै पनि हालतमा रकम संकलन गर्ने र दोस्रो, पतिलाई जेलमै सड्न दिने। ’साहस जुटाउँदै उनले भनिन्, ‘मैले पहिलो विकल्प रोजेँ।’

त्यसपछि उनी निस्किइन् ‘ब्लड मनी’ संकलनका लागि सहयोगी हातहरु खोज्न। उनको ‘सिसिफस’ जस्तो कोसिसमा पहिलो सहयोगी भइन्, सावित्री बञ्जारा। उनैले त्रिपुरेश्वर वर्ल्डवाइड इम्प्लोइमेन्ट प्रालिको ढोकासम्म पुर्‍याइदिइन्। त्यहीँ एक लाख रुपैयाँ बुझाएर रामचन्द्र गएको थियो चिलगाडी चढेर मरुभूमिको देश।

त्यसपछि उनी एक्लै भौँतारिँदै पुगिन् श्रम मन्त्रालय, श्रम विभाग र परराष्ट्र मन्त्रालय। उनी पुगिन् त्रिपुरेश्वरस्थित कन्सुलर शाखा। सरिताले केवल पाइन् निरासा। जनताको कर असुल गरेर सरकारी भवनमा बस्नेहरु पीडा सुन्न नचाहाने मानसिक रोगीजस्ता लागे उनलाई।

उता श्रीमानलाई साउदी अदालतले फैसला सुनाउने दिन (२०१६ अगस्ट ७) नजिकै आउँदै थियो। यता हात परेको थिएन कुनै रुपैयाँ। सान्त्वना पनि महँगो भएको थियो। कति थोपा आँशु काठमाडौंको भिडमा भौतारिँदाभौतारिँदै खसालिन् सरिताले त्यसको कुनै हिसाबकिताब छैन। गाडी कुर्दाकुर्दै चोकचोकमा कतिपटक पागल सरी रोइरहिन् कसैलाई थाहा छैन।

 

एकदिन उनलाई गाउँकै दाई पर्ने भोजराज तिमिल्सिनाले आफ्नो पीडा पोख्न सञ्चार माध्यममा जान सुझाए। नभन्दै उनले पीडा बिसाउने चौतारी पाइन्। ५ कक्षा मात्र पढेकी सरितालाई कसैले फेसबुकमार्फत पीडा बाँड्न सुझाव दिए। उनलाई विश्वास थिएन। फेसबुक मनको बह साट्ने थलो हो जस्तो लाग्दैन थियो। तर उनले फेसबुकमा आफ्नो पीडा बिसाइन्।

त्यसपछि विस्तारैविस्तारै सामाजिक सञ्जाल र सञ्चार माध्यममा भाइरल हुन थाल्यो उनको पीडा। सहयोगी हातहरु एक, दुई, पचास, हुँदै सयको संख्यामा बढ्न थाले। सुरु भयो, ‘रामचन्द्र बचाउ अभियान’। दिलदार मन भएका सहयोगी मान्छेका आत्मीय हातहरु भेट्न थालेपछि उनले बनेपाको राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिन्। खाता नं. १८१०००३८९३१० मा रकम जम्मा हुन थाल्यो।

‘ठूलो दिल भएका मान्छेहरु संसारमा अझै रहेछ नानी,’ पोलेको मकै लिएर आएकी रामचन्द्रकी आमाले बुहारीको कुरा बीचमै काटेर खुसी पोखिन्।

हुँदाहुँदै एक महिनाभित्र पैसा लाखमा पुग्यो। सरिताको आँखामा खुशीका लहर छाउन थाले। नभन्दै दुई महिनाभित्रै पुग्यो ३५ लाख।

‘संसारमा अझै मानवीयताको अंश बाँचेको रहेछ। त्यही मानवीयताले गर्दा आज ३५ लाख रकम जम्मा पार्न सफल भएकी हुँ।’ सरिताले गर्वका साथ भनिन्। उनले त्यो रकम स्वदेशबाट भन्दा विदेशबाट धेरे प्राप्त गरिन्।

विभिन्न ठाउँबाट जम्मा भएको ३५ लाख रुपैयाँ उनले परराष्ट मन्त्रालय हुँदै साउदीस्थित नेपाली दूतावासमा पुर्‍याइसकेकी छिन्। रकम साउदीको अदालतमा पुगिसकेको जानकारी पनि उनले पाइसकिन्।

सरिताको आशा छ, अब दुई महिनाभित्रमा रामचन्द्र नेपाल आइपुग्छन्। त्यहाँको अरु कानुनी प्रकृयामा एकजना नेपालीले सहयोग गरिरहेको बताइन् उनले। साथै दूतावासले पनि सहयोग गरेको अनुभव रहेछ उनीसँग।

 

००

सरिता हामीसँग गफिँदै गर्दा उनको निकै पटक फोन बजिसकेको थियो। किनैबेरको कुराकानीपछि हामी हिँड्ने तरखरमा लाग्यौं। उनको मुहारमा विजेताको जस्तो भाव झल्किन्थ्यो। उनको फोन निरन्तर बजी नै रहेको थियो। तर, उनले उठाइरहेकी थिइनन्। हामी बिदा भयौं। उनका आँखाले हामीलाई बिदा गरिरहेको थियो। तर, उनले फोन उठाइरहेकी थिइनन्।

देशविदेशबाट सहयोग गर्न चाहाने व्यक्तिको फोन निरन्तर आइरहेको थियो। हामी त्यहिँ हुँदा उनको हातमा बजिरहेको फोन अर्का सहयोगी व्यक्तिको हुनसक्छ।

हुनसक्छ, सम्भवतः केही महिनापछि एउटा फोन आउनेछ। उताबाट बिस्तारै आउनेछ एउटा आत्मीय मान्छेको आवाज र भन्नेछ, ‘ए सरिते, कस्तो छ घरतिर?’

सरिताको यो सब सक्रियता, छटपटी र परिणाम थियो, मात्र आफ्नो खसमका लागि। नेपालखवरबाट