>

श्रावण ६, २०७८ बुधबार

फिल्म शुटिङजस्तो राज्यमन्त्री धनमायाको जिन्दगी !



११ असोज, काठमाडौं । सातदोबाटोस्थित एउटा साँघुरो गल्लीभित्र छिरेपछि शिक्षा राज्यमन्त्री धनमाया बिक (खनाल) को डेरामा पुगिन्छ । घरको दोस्रो तल्ला भाडामा लिएर सानी छोरीसँगै बसेकी छिन् उनी ।

धनमाया को हुन् ? आम जनताले नचिनेकी उनी कसरी एकाएक राज्यमन्त्रीका रुपमा उदाइन् ? यसबारे धेरैलाई थाहा छैन । थाहा होस् पनि कसरी ? ३५ वर्षे धनमाया आफैं भन्छिन्- मेरो जिन्दगी फिल्मको शुटिङजस्तै भयो ।’
जब हामीले राज्यमन्त्री बिकको जीवनको पोयो फुकाउन खोज्यौं, उनी भक्कानिएर रोइन् । आँखा ओभाएपछि विस्तारै खुल्न थालिन् । माथिको तस्वीर आँखा ओभाएलगत्तै खिचिएको हो, जहाँ उनले आँशु र हाँसोलाई एकैठाउँमा मिसाउने प्रयास गरिरहेको स्पष्ट देख्न सकिन्छ। मुख हेर्दा हाँस्न दुस्प्रयास गरेजस्तो, वायाँ आँखा हेर्दा उदासजस्तो ।

भनिन्छ, ‘रियल लाइफ’ र ‘रिल लाइफ’ फरक हुन्छ । तर, धनकुटाकी माओवादी सांसद धनमायाको हकमा यो कथ्य लागू हुँदैन । उनको ‘रियल लाइफ’ र ‘रिलको लाइफ’ छुट्याउनै सकिँदैन । भर्खरै युवावय समाप्त गरेकी धनमायाले जीवनमा धेरै कुरा झल्याक-झलुक मात्रै भोग्न पाएकी छिन्, चाहे त्यो विवाह होस् वा खुशी ।

किताब छाडेर भरुवा बन्दुक !

धनकुटाको लेगुवा-३ स्थित दलित परिवारमा ०३७ साल पुस ६ गते धनमायाको जन्म भयो । दलित परिवार । छुवाछुत र सामाजिक अवहेलना त थियो नै, परिवारका सदस्यहरुको संख्या पनि ठूलै थियो । धनमायाका ६ दाजुभाइ छन् । तीन दिदीबहिनीमध्ये उनी माइली हुन् ।

धनमाया दुःखजिलो गरेर पढिरहेकी थिइन् । देशभरि माओवादी जनयुद्ध डढेलोजसरी फैलिइरहेको थियो । धनमायाको घरमा पनि माओवादीहरु बन्दुक बोकेर आउन थाले । उनको घर माओवादीको सेल्टर बन्यो । अन्ततः एसएलसी दिएपछि उनी भरुवा बन्दुक बोकेर माओवादीमा हिँडिन् ।

‘किशोरावस्थामा माओवादीमा लागेको स्मरण गर्दै राज्यमन्त्री धनमाया भन्छिन्- म कसैमाथि रीस फेर्न माओवादी बनेकी होइन । तर, समाजमा रहेको विभेदलाई अन्त्य गर्न सकिन्छ भन्ने ठानेर लागें । हाम्रो घरमा माओवादीहरु बास बस्न आइरहन्थे । त्यसैक्रममा म ०५६ सालदेखि माओवादीमा हिँडें । १८/ १९ वर्षकी किशोरी थिएँ, असाध्यै लज्जालु स्वाभाव थियो, मनको कुरा अरुलाई भन्नसमेत धक लाग्थ्यो ।’

सुरुमा माओवादीमा लागेपछि उनलाई भरुवा बन्दुक बोक्न दिइयो । धनकुटामा त्यतिबेला भर्खरै जनसेनाको गठन प्रक्रिया सुरु भएको थियो । धनमाया सैनिक तालिममा सहभागी भइन् । ‘तर, ट्रेनिङ धेरै गाह्रो थियो, म सेलेक्सनमा परिनँ,’ उनी सम्झन्छिन्- ‘मलाई जनसेना बन्ने रहर थियो, तर छनोटमा नपरेपछि संगठन निर्माणतिर खटाइयो । दलित र महिला भएको र जनतामा भिज्न सक्ने मेरो स्वाभाव देखेर मलाई पार्टीले संगठनतिर जिम्मा दिएजस्तो लाग्छ ।’

पहिले लज्जालु स्वाभावकी भए पनि अचेल आफ्ना कुरा प्रष्टसँग राख्न सक्ने, झट्ट हेर्दा नेतृजस्तै ‘आउट लुक’ भएकी धनमाया भूमिगतकालदेखि नै मानिसहरुसँग बोल्दाबोल्दै ‘फरवार्ड’ भएको बताउँछिन् । तस्वीरमा उनी ‘फोटोजेनिक’ लाग्छिन् ।

माइली छोरी राज्यमन्त्री बनेपछि धनकुटाबाट काठमाडौं आएका धनमायाका पिता मानबहादुर विश्वकर्मा पहिलोपटक सिंहदरबार छिरे । उनले मन्त्री बस्ने कुर्सीसमेत देखे । गाउँमा अवहेलित दलित समुदायको एकजना किसानका लागि यो एउटा निकै ठूलो प्राप्ति हो । सूर्यबहादुर थापाको निर्वाचन क्षेत्रका एक गरीब सर्वसाधारण मान्छे लागि त यो एउटा महान क्रान्ति नै हो ।

हामीले धनमायाका पिता मानबहादुरलाई हामीले सोध्यौं- ‘सूर्यबहादुर थापाको जिल्लाबाट एउटी दलितकी छोरी यसरी मन्त्री बन्ली भनेर तपाईले कहिल्यै सोच्नुभएको थियो ?’

मानबहादुरले जवाफ दिए, ‘कहाँ सोच्नु ? यस्तो होला भनेर कहिल्यै सोचेकै थिइनँ । नसोचेको भयो ।’
तर, परिवारका अन्य सदस्यभन्दा माइली छोरी धनमाया सानैदेखि फरक स्वाभावकी भएको र स्कुलमा पनि धेरै पुरस्कार पाउने गरेको मानबहादुरले सुनाए ।

जंगलदेखि संसदसम्म !

पार्टीमा लागेपछि धनमायालाई एरिया सदस्यमा समेटियो । त्यसबेला धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमलाई समेत समेटेर माओवादीले एउटै जिल्ला बनाएको थियो । त्यसध्येको धनकुटामा एरिया सदस्य बनिन् उनी । पछि जिल्ला सदस्य भइन् । ०६२ सालतिर आइपुग्दा उनी केही समय कम्पनी सहकमाण्डर बनाइन् ।

Dhanmaya BK (1)

पार्टी संगठनमा हिँड्दा त्यसबेला हतियारसँग खेल्नुपर्थ्यो । धनमाया बढीजसो मेडिकल टिममा खटिइन् । चैनपुरको मोर्चामा पराजय व्यहोरेका बेला उनी मेडिकल ग्रुपमा खटिएकी थिइन् । केही समय उनले हातहतियारसम्बन्धी प्राविधिक कामसमेत गरिन् । पछिसुनसरी र मोरङका गाउँमा उनको समय बित्यो ।

पहिलो संविधानसभामा उनलाई धनकुटाबाट माओवादीले समानुपातिकको सूचीमा राखेको थियो, तर सभासद बनाएन । दोस्रो संविधानसभामा समानुपातिक कोटाबाट सांसद बनिन् । अहिले प्रचण्ड नेतृत्वको शिक्षा राज्यमन्त्री बनेकी छिन् ।

शुटिङजस्तै बिहे !

जब विवाहको प्रशंग आयो, धनमाया भक्कानिएर रोइन् । पत्रकार र उनीसमेत दुईजनामात्रै रहेको कोठामा एकछिन सन्नाटा छायो । आमा रोएको सानी छोरी र अरुले देख्ने डर थियो । ढोका आधा खुलेको थियो ।

एकैछिनपछि उनी विस्तारै सम्हालिइन् । सम्भवतः उनको यो मनस्थिति अनलाइनखबरसँग कुरा गरिरहँदा मात्रै होइन, जीवनको एउटा नियमित कर्मजस्तै बनिसकेको हुँदो हो । प्रचण्डले भनेजस्तै रुँदारुँदै हाँस्नुपर्ने, हाँस्दाहाँस्दै रुनुपर्ने !

सुरुमा धनमायालाई लागेको थियो, म कसैसँग विवाह गर्दिँन । तर, ०६० सालमा पार्टीका तत्कालीन उपब्यूरो सदस्य तथा जनविद्रोहका पत्रकार मोहन खनाल (विनोद) सँग उनी विवाह बन्धनमा बाँधिइन् । चलचित्रमा हिरो-हिरोइनवीच विवाहको अभिनय भएजस्तै मोहन वैद्यदेखि हिसिला यमीसम्मले उनीहरुलाई मञ्चबाट विवाहको शुभकामना दिए । एउटै मञ्चमा त्यसबेला पाँच जोडीको विवाह भएको थियो । धनमाया र मोहनले अन्तरजातीय विवाह गरेकाले नेताले उनीहरुलाई अझै धेरै बधाइ र शुभकामना दिए ।

युद्धको बेला थियो, विवाह गरे पनि जोडीहरु आपसमा सँगै बस्ने, प्रेम साटासाट गर्ने र न्यानो अँगालोमा बाँधिएर सुत्न सक्ने अवस्था थिएन । धनमाया र मोहनको भेट दुर्लभ बन्न थाल्यो । फोन सम्पर्क गर्न पनि सहज थिएन । एकले अर्कालाई गहिरो गरी बुझ्ने र आफ्ना मनका भावना आपसमा साटासाट गर्ने परिस्थितिसमेत मिलेन उनीहरुलाई ।

आक्कल-झुक्कल भेटघाटकै क्रममा धनमायाको पेटमा मोहनको नासो बास बस्न आइपुग्यो ।

निरन्तरको हिँडाइ, पौष्टिक आहारको अभाव र शारीरिक विश्रामको अभावका कारण ९ महिना नपुग्दै छोरी जन्मिइन् । छोरी जन्मिइन् । तर, कैयौं महिनासम्म मोहनले देख्न, भेट्न पाएनन् ।

पहिलोचोटि भेट्दा आफूले केहीबेर रिसाएर मोहनलाई छोरी बोक्न समेत नदिएको सम्झिन्छिन् धनमाया । तर, त्यो रिस लाड प्यारमा बदलिन पाएन, बरु एउटा नबिर्सिने क्षण बनेर डेरा जमाउन पुग्यो धनमायाको जीवनमा ।

त्यसबेलाको दुःख सम्झँदै धनमाया भन्छिन्- ‘साथमा कमजोर बच्चा थियो, कुनै पनि बेला सेना-प्रहरीले भेटेर आमाछोरीलाई मारिदिन सक्थे । म त्यसबेला बढीजसो सुनसरी, मोरङतिर बसें । जनजाति साथीहरुकोमा अन्य जातिको सुत्केरी महिला देख्दा प्रहरीहरुले शंका गर्न सक्थे, त्यसैले क्षेत्री बाहुनकोमा वा आफ्नै समुदायको मानिसको घरमा आफन्त भनेर ढाँटेर बस्नुपर्थ्यो । कहिलेकाँहि आफन्तहरुकोमा बसें । कहिले क्षेत्री बाहुनको घरमा बसें ।’

धनकुटाको गाउँमा प्रहरीले दुःख दिएपछि धनमायाका परिवारजन र अधिकांश दाजुभाइ धरान झरेका थिए । केही दाजुभाइ अहिले धरानमै पारिवारिक पेशाका रुपमा सुन पसल चलाउँछन् ।

‘मोहनजी प्रहरीबाट मारिएपछि म केही समय मोरङको टाँडीमा बसें,’ धनमायाले अनलाइनखबरसँग भनिन्- ‘त्यसबेला म घाँस काटेर बसें । अमि्रसोको कुचो टिप्ने बेला भएको थियो । मेरा हातले घाँससमेत समाउन सक्दैनथे । छोरी कमजोर भएकाले हिँड्नुपर्ने बेलासम्म उनी खुट्टा टेक्न सक्ने अवस्थामा थिइनन् । हिँडेदेखि बोक्नु त पर्दैनथ्यो भनेजस्तो लाग्थ्यो । पछि धरानमा बस्दा साथीहरुले हर्लिक्स किनेर खानु भन्दै हजार /पन्ध्र सय सहयोग दिनुहुन्थ्यो । मोरङका नवीनजी लगायतका साथीहरुले त्यसबेला मलाई धेरै सहयोग गर्नुभयो ।’

२५ वर्षमै विधवा !

फिल्ममा एउटै दृश्य धेरै समय हेर्न पाइँदैन । एउटा कथा चलिरहेको हुन्छ, एकैछिनमा अर्कै कथाले हस्तक्षेप गर्छ ।

साथमा काखे बच्चा लिएर प्रहरीको आँखा छल्दै हिँडिरहेकी धनमायाको जीवनमा ०६२ सालदेखि एकल महिलाको समेत अभिनय थपियो ।

धनमायाका पति मोहन खनाल मोरङको बेलबारीमा मारिएका हुन् । उनीसँगै चारजना माओवादी कार्यकर्तालाई सुरक्षाकर्मीले घेराहालेर कब्जामा लिएर मारेका थिए ।

‘म गाउँमा अलि भित्र थिएँ । बेलुका रेडियो सुन्दा बेलबारीमा ४ माओवादी मारिएको खबर आयो । हामी माओवादीका साथमा सबैसँग सानो एफएम रेडियो साथैमा हुन्थ्यो,’ धनमायाले आफ्नो जीवनको सबैभन्दा त्राशदीपूर्ण क्षणलाई यसरी व्याख्या गरिन्-‘साँझ परेको थियो, म सेल्टर बसेको घरबाहिर चौरीजस्तो ठाउँमा बसिरहेकी थिएँ । साथीहरु आइपुग्नुभयो । सबैको अनुहार अँध्यारो थियो । मैले मोहनजीलाई देखिँन र सोधें । उहाँहरुले गिरफ्तार परेजस्तो छ भन्नुभयो, तर एकैछिनमा रेडियोले बेलबारीमा मारिनेहरुको नामसमेत फुक्यो, जसमा मोहन खनालको नाम थियो ।’

यति भनिसकेर धनमाया रुन थालिन् ।

धनमायाको बुझाइमा मोहन खनाल निकै तीक्ष्ण दिमागका थिए । उनी पत्रकार पनि भएकाले लेख्न सिपालु थिएन । यही भएर पार्टीले उनलाई जनविद्रोह पत्रिकामा खटाएको थियो । मोहनको घर संखुवासभाको खाँदबारी हो । अहिले उनका परिवारजनहरु धरानमा बसाइँ सरेका छन् । जनयुद्धकालमै सुरक्षाकर्मीले दुःख दिएपछि उनीहरु धरान झरेका हुन् । धनमायाका माइती र घर, दुबैतर्फका आफन्तहरु धरानमै छन् ।

भूमिगत कालमा बाहुनसँग विवाह गरेकी एक दलितकी छोरी । पति सहिद भइसकेका छन् । साथमा छोरी छिन् । उनको जन्मदर्तादेखि नागरिकता बनाउनुपर्ने हुन्छ । विवाह गर्नुपर्ने हुन्छ । पछि अंश चाहिएला । यी सबै काममा धनमायालाई साथ दिने उनका श्रीमान नै छैनन् । यो अवस्थामा आइपर्ने सामाजिक अवस्था र स्वीकार्यता कस्तो होला ?

यो बारेमा जवाफ दिने अवस्थामा छैनन् धनमाया । लाग्छ, उनको जीवनको फिल्म शुटिङमा दर्शकहरुले ‘पाश्र्व-कथा’का रुपमा आफैं अनुमान लगाए पुग्छ । धनमाया यति मात्रै भन्छिन्- ‘हामीले जेका लागि लड्यौं, अहिले सामाजिकरुपमा फर्किएर उही पुरानै अवस्थामा आइपुगेका छौं ।’

‘मेरो माइतीको थर लामिछाने हो । तर हामीले बिक नलेखेसम्म नागरिकता बनेन । जात नै नलेखी नागरिकता पाइएन ।’ उनले थपिन्,अहिले पनि मैले आफ्नो नाम ‘धनमाया बिक खनाल’ लेखिरहेकी छु ।’

राज्यमन्त्री धनमाया !

अब कुरा गरौं राज्यमन्त्री धनमायाको । एकाएक चलचित्रको शुटिङजस्तै गरी मन्त्रीको कुर्सीमा बस्न आइपुगेकी धनमायालाई सुरुमा लागेको थियो, राज्यमन्त्रीमात्रै होइन, शिक्षामन्त्री नै चलाइदिन सक्छु । तर, अहिले उनी मन्त्रालयमा ‘विचौलिया’ हरुको सामना गरिरहेकी छिन् ।

शान्ति प्रक्रियामा आएपछि आफ्नो छुटेको पढाइलाई निरन्तरता दिँदै १२ कक्षा उत्तीर्ण गरेकी र स्नातक तहको पढाइको तयारीमा रहेकी राज्यमन्त्री धनमायाले शिक्षामा व्यापारीकरण भइरहेको बताइन् ।

मन्त्रालयमा प्रवेश गर्दाको अनुभव सुनाउँदै उनले भनिन्-‘शिक्षा मन्त्रालयभित्रका महाशाखाहरुबारे बुझ्न एक महिनासम्म समय लाग्यो । हामीले विभिन्न महाशाखाहरुको ब्रिफिङ सुन्यौं । कर्मचारीहरुले आफूलाई विज्ञ ठान्ने र मन्त्रीहरुले केही पनि जान्दैनन् भन्ने ठान्दा रहेछन् । यद्यपि हाम्रो मन्त्रालयमा कर्मचारीहरुले सहयोग नै गरिरहेका छन् ।’

‘शिक्षा मन्त्रालय अन्तरगतको कुरा गर्दा भूकम्पपीडित विद्यालयलाई गर्नुपर्ने सहयोग, राहतका साथै विद्यार्थीले पाठ्यपुस्तक नपाइरहेको अवस्था छ,’ धनमायाले भनिन्- ‘हामीले चाँडो पाठ्यपुस्तकहरु गाउँ गाउँका विद्यालयमा पुर्‍याउन ताकेता गरेका छौं । तोकिएको मूल्यभन्दा बढीमा पाठ्पुस्तक बेच्नेमाथि कडाइ गर्न भनेका छौं । छात्रवृत्तिका विषयमा के भइरहेको छ, त्यसमा चासो दिइरहेका छौं ।’

हुन त मन्त्रालयमा राज्यमन्त्रीको खासै जिम्मेवारी र काम हुँदैन । शिक्षामन्त्रीको जिम्मेवारी माओवादीकै धनीराम पौडेलले सम्हालेका छन् । यसले गर्दा धनमायालाई जिम्मेवारीको बोझ खासै छैन । तैपनि सरुवा मिलाइदिन आग्रह गर्नेदेखि एनजीओ/आइएनजीओका लागि प्रोजेक्ट पारिदिन माग गर्नेहरु उनको कार्यकक्षमा भीड लाग्ने गरेका छन् ।

राज्यमन्त्री धनमायाले अनलाइनखबरसँग भनिन्- ‘यहाँ त आफ्नो छोराछोरी फेल भए भन्दै पास गराइदिनका लागि भनसुन गर्नेहरु पनि आउँदारहेछन् । नेतामात्रै बिगि्रएहोला भनेको त जनता पनि बिगि्रएछन् । जनताले नै नेतालाई घुस लिनोस् भन्दै बिगार्दारहेछन् ।’

‘दायाँवायाँ गर्नेलाई निकालिदिन्छु’

राज्यमन्त्री बिकले आफ्नो सचिवालयका कसैले पनि घुस खाएमा निकालिदिने चेतावनी दिइन् । आफूले जीवनमा कहिल्यै आर्थिक हिनामिना र अपारदर्शी कार्य नगरेको बताउँदै उनले भनिन्- ‘घुस खाने/खुवाउने दुबै अपराधी हुन्, तिनलाई भेट्नासाथ कारवाही गरिन्छ ।’

Dhanmaya BK (2)मन्त्रालयमा केही दलालहरुले पैसा दिन्छौं भन्दै आफ्नो काम पट्याउन खोजेको उनले सुनाइन् । संघर्षको मैदानबाट नियमित आकस्मिकताजस्तै गरी सिंहदरबार पुगेकी मन्त्री बिकले अलि कडा स्वर बनाएर भनिन्- ‘समय पुगेको छ र प्रक्रिया पुगेको छ भने कर्मचारीहरुको सरुवा-बढुवा स्वतः हुन्छ, यहाँ कसैले आर्थिक लेनदेन गर्‍यो भने म त्यस्तालाई छाड्दिँन, तुरुन्तै निकालिदिन्छु ।’

गगन बोले समाचार बन्छ, हामी बोले……

माओवादीभित्र सामान्य तहकी नेतृ राज्यमन्त्री धनमाया यसअघि संसदको अन्तरराष्ट्रिय श्रम सम्बन्ध समितिकी सदस्य थिइन् । उनको समितिमा माओवादीका प्रभु साह सभापति थिए ।

बिकको गुनासो के छ भने गगन थापालगायतका नेताहरुले सानो कुरा बोले पनि समाचार बन्छ, तर आफूहरुले जति नै गहन कुरा बोल्दा पनि समाचार बन्दैन । उनले भनिन्- ‘मलाई थाहा छैन, खै किन यस्तो हुन्छ, तर गगनले बोले समाचार बन्छ, हामीले बोले बन्दैन ।’

अन्तरराष्ट्रिय श्रम सम्बन्ध समितिलाई विदेश जाने समिति पनि भन्ने गरिन्छ । धनमायाले भनिन्- ‘तर, म त्यस्ती सांसद हुँ, जो यो समितिमा बसेर एकचोटि पनि विदेश गएकी छैन ।’

अन्त्यमा,

धनकुटाका ठूला नेता पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाले आफ्नो पछिल्लो ‘बर्थ डे’ बनाउने क्रममा भाटभटेनीको आम्रपाली पार्टी प्यालेसमा भनेका थिए, जबसम्म राज्यमा महिला, जनजाति, मधेसी र दलित समुदायले अपनत्व महसुस गर्न सक्दैनन्, तबसम्म देशको विकास हुँदैन, मेरो अनुभवले यही भन्छ ।

आफ्नो ६० वर्षे राजनीतिक जीवनमा सूर्यबहादुर थापा जे अनुभव गरेर गए, अहिले उनकै गृहजिल्लाबाट एक दलित समुदायकी युवती मन्त्रीको कुर्सीमा बसेकी छिन् ।

तर, एउटा गम्भीर प्रश्नको जवाफ बाँकी नै छः के अब धनमाया बिकले धनकुटामा थापाकाजीहरुको पारिवारिक राजनीतिक विरासतलाई भत्काउलिन् ? तबमात्रै भन्न सकिन्छ कि लोकतन्त्र उच्च वर्गबाट उत्पीडित वर्गमा साँच्चै नै ‘सिफ्ट’ भयो ।

यतिबेला चलचित्रको ‘इन्टरभल’मा आइपुगेकी छिन्- शिक्षा राज्यमन्त्री धनमाया । आगे उनको जिन्दगी ‘रिल’ जस्तो होइन, ‘रियल’ धरातलमा उभियोस् !

साभार अनलाइनखबर